तर, उलारमा आएर मलाई आफू समाजसित, समाजका समस्याहरुसित र समस्या निर्माण गर्ने समाजभित्रका अवयवहरुका बारेमा अलिक बढी सचेत र जानकार हुन पुगेको हो कि भन्ने आभास हुन्छ । हामीले बेहोरिरहेको फोहर राजनीति,त्यसले आम मान्छेमा पारेको प्रभाव मधेशी चरित्र र मधेशको परिवेश मार्फत् ‘उलार’मा अभिब्यक्त भएका छन् । मभित्र मेरो समाज र समाजभित्रको विसंगत राजनीतिलाई हेर्ने दृष्टिचेत भने २०४६ सालको राजनीतिक परिवर्तन र त्यस आसपासका गतिविधिकै कारण आएको हो । उलारसम्म आउँदा त्यो दृष्टिचेत केही बढ्ता सफा भएको हुनुपर्छ । ठोसरुपले भन्दा उलार मेरो लेखनप्रवृत्तिको टर्निंग प्वाइन्ट पनि हो ।
उलार लेखनको बीस वर्ष हुँदा मेरा मनभित्र एउटा बलियो प्रश्न जन्मिएको छ । उलार कसरी मेरो उपन्यास लेखनको विषय भयो ? यो प्रश्नको जवाफ मैले अरुबाट पाउँदिन । मैले मेरै अन्तर्मनलाई सोध्ने र त्यसैले जवाफ दिने प्रश्न हो यो । हरेक सचेत लेखकले बेलाबेलामा आफैँसित यो प्रश्न गर्छजस्तो मलाई लाग्छ । लेखकले हावामा विषय चयन गर्दैन । उसका विषय चयनका केही निश्चित आधार अवश्यै हुन्छन् । लेखकको आफ्नो भूगोल अनि समाजसितको जुडाव, उसको अध्ययनको परिपाटी, उसको निजी आनीबानी र संस्कार, उसको आफ्नो परिवार र समाजका विविधपात्रहरुसितको संगत र सहकार्य, उसले आफू बसेको समाजले बेहोरिरहेको आर्थिक, साँस्कृतिक र राजनीतिक गतिविधि, त्यसमा उसको सचेतता र सहभागिताजस्ता कुराबाट लेखकका लागि उसको लेखनका प्राथमिकताहरुको निर्धारण हुन्छन् । लेखन त्यसैले सामाजिक प्रतिवद्धता पनि हो । मेरो समाजसित चेतन या अवचेतनमा मैले गरेका संवाद, मैले राखेका अपेक्षा र मैले गरेका वाचाहरु नै मेरो लेखनमा प्रतिविम्बित हुने रहेछन् । उलार सायद त्यसैले मेरो लेखनको विषय बन्न आइपुगेको हो ।
- नयनराज पाण्डे