स्कुलको पाठ्यक्रममा सामाजिक र इतिहास एउटै विषय अन्तर्गत पर्न आउँथ्यो। अहिले के छ ठ्याक्कै थाहा भएन। ऐतिहासिक साहित्यमा छिर्नुअघि पाठ्यपुस्तकमा छापिएको इतिहासमा मलाई कहिल्यै रुचि रहेन। रुचि जगाउनमा पढाउने गुरुको पनि ठूलो भूमिका रहेको हुन्छ। आफ्नो कार्यक्षेत्रमा निपुण डा. नवराज केसी एक असल गुरु हुनुहुन्छ भन्ने पुष्टि हो 'शून्यको मूल्य'। कथामा भुलाउदै-भुलाउदै उहाँ आम पाठकलाई संयुक्त राष्ट्रसङ्घका मापदण्ड, चिकित्सा, मस्तिष्क विकास, मनोविज्ञान, इतिहास, वैज्ञानिक खोजकार्यका नतिजा लगायत ज्ञान पनि सजिलै बाँडिदिनु हुन्छ।
संयुक्त राष्ट्रसङ्घले तोकेको दिगो विकासका एकदेखि सत्रसम्मका लक्ष्यहरूमा सबैभन्दा सुरुमा हुनुपर्ने सबैभन्दा महत्त्वपूर्ण लक्ष्य नै छुटेको भान लेखकलाई हुन्छ। 'आमाहरूको पूर्ण सकुशलता', जसबिना बालबालिकाको पूर्ण विकास हुन र दिगो विकासका सत्र लक्ष्यहरूसम्म पुग्न असम्भव छ, लाई उहाँ एकअघिको शून्य स्थान थमाइदिनु हुन्छ। र त्यो शून्यलाई अँगाल्नुहुन्छ कर्णालीका दुर्गम पहाडहरूमा।
शून्यको मूल्य कर्णालीको कथा हो। दुर्गम कर्णालीमा आफ्नाहरूको सास बचाइराख्न संघर्षरत अभिभावक, मुख्यतः आमाहरू, को कथा। उहाँहरूको साहस र स्नेहको कथा। आफ्नो कार्यक्षेत्रमा प्रत्यक्ष/अप्रत्यक्ष रूपमा भेटिएका बुधेकी फूपूआमा, भीम काजी, जुम्ल्याहाका आमाबुबा, हिम्मतबहादुर, भेडिनी कान्छी, नानीआमा, कर्किनी बज्यै, पुतली आमा लगायत पात्रहरूबाट लेखकले ठूल्ठूला विश्वविद्यालयमा पाइनसक्नु ज्ञान बटुल्नुभएको छ। कर्णाली आफैँमा एउटा खुल्ला विश्वविद्यालय लाग्छ उहाँलाई। ती ज्ञान र ती पात्रहरू पाठकको मस्तिष्कमा पनि जिन्दगीभर झल्याकझुलुक गरिरहनेछन्। आगोलाई घेरा लगाएर आफ्नाहरूमाझ कथाहरू आदानप्रदान हुँदा, यी पात्रहरूको जोसिलो कथा पनि जिब्रोमा झुन्डिन आइपुग्लान् कुनै दिन। छोटा र सरल वाक्यले भारी अर्थ बोकेका छन्। मान्छेको विचारबाट उसलाई मूल्यांकन गर्ने हो भने, डा. नवराज केसीबाट कागजी प्रमाणपत्रमा दम्भ गर्ने डाक्टरहरूले थुप्रै कुरा सिक्न जरुरी छ।