यदि तपाई फिक्सन डिजाइनर नगरकोटीको पंखा हो र शिलापत्रमा आएका उनका लेख, आलेख अनि संस्मरण तथा पडकास्ट आध्योपान्त सबै सबै पढेर सुनेर हेरेर भ्याउनु भाको छ भने यो किताबले सन्तुष्टि दिने छैन। बरु; एकचोटि शिलापत्रमा आएका ती लेखहरु दोहोर्याउनु होला ईच्छा र समय छ भने। यदि कल्प-ग्रन्थबाट तपाईं पुरापुर सन्तुष्ट तृप्त हुनु भा छैन भने यो किताबले नि खासै नतान्ला। पैसा र समय मेरो खेर गयो भन्ने भावनाबाट जोगाएको है त! प्रयोगधर्मी कृतिमा उत्ति चाख लाग्दैन तपाइँलाई भने ignore गर्न सकिन्छ किताब। बेग्लै खालको संस्मरण मन नपर्ने र रुटिन, रेगुलर पारा शैलीमा सृजना गरिएको किताब मन परे; यो किताबले त्यति रुचि नदेला तपाईलाई।
किताबको कुरा :-
नगरकोटीका किताब म यसकारण पढ्न रुचाउँछु कि उनका स्वैर-काल्पनिक, out-of-the-blue र भेजा फराइ experimental शैलीले बेग्लै आनन्द दिन्छ।जापानी, रुसी, चेक, कोरियम, फ्रेन्च, नाइजेरिअन, युरोपेली आदि विश्व साहित्यका किताब, चलचित्र अनि टेलिभिजन कार्यक्रम हेरेकाले मजेदार अनुभुति हुन्छ नगरकोटी पढ्दा मलाई चै। परम्परागत नेपाली आख्यान साहित्यभन्दा मनमौजी र पृथक छन् नगरकोटीक किताबहरु। रेगुलर नेपाली साहित्य, सिरिअस एवम् गैर-आख्यान रुचाउने पाठकहरुलाई तान्दैन उनका किताबले। कतिपयलाई चै पुरानै फर्मुला र शैली पछ्याएको झैँ लाग्ला। जोगीको कल्पना शक्ति, शब्द-शिल्प र वाक्य अनुच्छेद गठन चै ताज्जुब लाग्ने गर्दछ यस किताबमा पनि। अराजक, मनमौजी पाराको लेखक भएकाले चै उनको लेखनी सबै अब्बल नलाग्ला, अलिकता repetitive बोध हुन्छ नै तर जोगियाना दामी लाग्नुको कारण चै बेग्लै अनुपम, युनिक राईटिङ्ग न्यारेटिभ शैली र चाखलाग्दा संस्मरणका कारण।
आख्यान क्षेत्रमा अराजक,स्थापित मान्यता र बाउन्डेरी \ बाँध भत्काउने र झुर-पटास साहित्य (केहीका नजरमा) लेखेर फिक्सन डिजाइनरका रुपमा बेग्लै परिचय बनाएका छन् कुमारले। विभिन्न समयमा (शिलापत्रमा आएका प्लस एक दुई चै शायद अन्त कतै आएका ) लेखिएका संस्मरणहरुको सँगालो हो जोगियाना। किताब नि मोटोघाटो छ र ४९३ पाना संख्या भएको छ। मैले चै उनका यी लेखहरु अनलाइनमा नपढेको (कविताहरु बाहेक) भएकोले पढ्न मज्जा आयो नै , साथमा सम्पूर्ण रुपमा सन्तुष्ट पनि भएँ। जोगियाना पढ्दै जाँदा मैले रोचक लागेका सन्दर्भ, लाइन अनि अनुच्छेदहरु नोट गर्दै , फारो गर्दै पढेँ। आखिर हतपतको काम लतपत जो हुन्छ। कल्प-ग्रन्थ पढेबखतको पट्यास र केही अनुच्छेद स्कीप स्कीम गर्न मनै लागेन।
यस किताबमा नगरकोटीले आफ्नो बाल्यकाल, जागिर, प्रेम प्रसङ, असफल पहिलो बिहा, कृति लेखन, करीअर, नाट्य-लेखन, सफलता असफलता, जीवनमा ज्ञान र गुरुमन्त्र सिकाउने पात्रहरू, साथीभाइसँगका मित्रता, घरभन्दा ज्यादा घाटमा भेटिइने प्रसङ्ग, गुरुहरु, आफ्नो रुचि अभिरुचि, अनि वर्तमान् स्थिति पर बारे रोचक शैलीमा गन्थन गरेका छन्। उनका संस्मरणमा मैले आफ्नो बितेका बाल्यकाल, किताबसँग सुरु भएको मित्रताको थालनी र आफूसँग संबंधित आदत, आनीबानीहरुको केही न केही छाँया पाएँ। अरु साहित्यभन्दा हटके झटके दिमाग मै लटके हुन्छन् नगरकोटीका सृजना। प्रयोगधर्मी जनरा भएर मलाई चै यो किताबको पठनी चित्ताकर्षक लाग्यो। यस किताबको लेखन शैलीमा नगरकोटि फ्लेवर पाइन्छ जुन कसैलाई मन पर्दछ, कसैलाई वाइयात ट्याम पास लाग्दछ, कसैले कडक मजेदार कुरा भेट्दछ त कसैले केही न केही नपुगेको बिग्रेको खिचडी भेट्दछ। Regular, Traiditional मन पराउने, सिमित विश्व साहित्यका कृति अध्ययन गरेका र Experimental works झिँजो मान्ने पाठक वर्गलाई उत्ति अपिल गर्दैन जोगियानाले।
यस संस्मरणमा नगरकोटीले पाब्लो नेरुदाको Twenty Love Poems र अन्य नामचीन कविहरुका अलावा नेपाली कवि भूपिनजीको सुप्लाको हवाईजहाज बारे बताउँदै कविता किन विशेष छ भनेका छन्। नगरकोटि कुनै समय अनुवादक थिए, कुनै समय स्कुलमा पढाउने गर्दथे, किताब लेख्न कै लागि खाइपाइको जागिर त्यागेर फुल टाइम लेखनीमा लागेका र स्कुल छँदा गायक बन्ने लक्ष्य राखेका र स्टुडियोमा गएर भोईस टेस्ट नै दिएका थिए --- पढ्दा रुचिकर लाग्यो। आफ्नो यस संस्मरणमा उनले यादहरुको बहिखाता पल्टाएर आफूसँगै हामी पाठकहरुलाई पनि बितेका दिनमा Back To The Past लगेका छन्। उनले आफ्नो अनुवादकालीन दिनको अन्त्य कसरी भयो बताएका छन् र यादमा सात दिन विविध रचना उल्था गर्दै र दैनिक गतिविधिको मिठो बखानबाजी गर्दै सात दिने नगरकोटि फेस्टिबल Nagarkoti Festival आयोजना गरेका छन्। मार्खेजले सय दिनको एकान्त लेखे झैँ भीड र एक्लोपनाभन्दा टाढाको एकान्त खोज्दै उनले सात दिने एकान्तमा रचेका translate, transcreate र transwriting लाई फेस्टिबल स्वरुप दिएका छन्।
मोहनदास र नेल कटरका लेखक उदय प्रकाश (नगरकोटीका निम्ति उदयप्रकाश एउटै मान्छे जनाउन) सँगको भेट र निर्मल वर्मा, कारेल चापेक र फ्रान्ज काफ्का बारेका चर्चा, निर्मल भारी कसरी उच्च शिक्षाको लागि बिदेशिने योजना त्यागेर नेपालमा प्रकाशक बने र विश्व स्तरीय लिटरेचर फेस्टिबलको आयोजना गरे भनेर चर्चा गरेका छन्। कमल हासनका फिल्म र versatile अभिनय क्षमता, होर्हे लुईस बोर्हेस (Jorge Luis Borges), मार्खेजको कथा The New Yorker ले छाप्न अस्वीकार गरेको प्रसङ्ग, दिउँसो लालटिन बोकेर God खोज्न जाने र God is Dead भन्ने नित्सेको प्रसङ्ग, टेक्नोलोजी आएपछि मान्छेलाई झुठो बोल्न नि सजिलो भएको उदाहरण आदिका अलावा उनले सात दिनमा उदय प्रकाशको कविता "द्वारपाल", मार्खेजबारे Bill Lewis को कविता "Bring Me The Moustache of Gabriel Garcia Marquez, बोर्हेसको स्पेनिश कविताको हिन्दीको नेपाली अनुवाद आदि राखेका छन्। बीच बीचमा आफ्ना साथीभाइ, श्रीमतीसितको relationship dynamics, गिरिश गिरी र भुपेन्द्र खड्काशीत किताब-यात्रामा जाँदा देखे भोगेको यथार्थमाथि चर्चा, कमै चर्चामा आउने र यता नभेटिने केही किताबहरुजस्तै The Stranger in the Mirror, Room of One`s Own : 50 Places That Made Literary History, तीन रोज इश्क क गुम होती कहानिँया, The Paris Bookseller, ....... आदिबारे रोचक चर्चा गरेका छन्।
आफूलाई मन पर्ने फिल्म, गीत, नाटक, लोकगीत, गजल (गुलाम अली, घाट, कफी- घाट र लोकल बालकुमारीको चिया अड्डा, पाटन, भक्तपुर र काठमाडौंका अड्डाको चर्चा आदि सब आएको छ। किताबमा कतै गन्थन, विचार मन्थन र आफ्नो स्वैर -काल्पनिकता प्लस अघिल्ला कृतिहरु लेख्दा कुरा छ। आफूलाई मन परेका किताब, गीत र सिनेमा पाठकहरुलाई पढ्न नि सुझाएका छन्। चौरजहरी , रुकुममा मितेरी गाँसिएका मीत शुक्देव शर्माको प्रसङ्ग, आवतजावत गर्दा पठाओ राईडरसाथ हुने चिनारी, आफ्ना अजब-गजबका फ्यानहरुको कुरा, सपनाको कुरा, देश देशावर यात्रामा जाँदा भएका हिमचिम र पाठक - प्रकाशक -साथीभाइका अन्तरक्रिया, आदि कुरा कस्तो मिठोसँग लेखेका छन्। आफ्नो पहिलो किताब "मोक्षान्त : काठमान्डु फिभर" छापिनु पछाडि रत्न पुस्तक र मोमिलाको साथको कुरा र साथी गनेश पौडेलसँगको दोस्ती र व्यक्तिगत डायरी योजनाको बखान छ। यावत् कुराहरुले बहुतै interest जगायो मलाई त।
लेखन भन्नू कसैको बिडो थाम्नु भन्दा पनि आफ्नै एउटा पहिचान बनाउने मेसो हो भन्ने बुझेँ यो किताब पढेर। लेख्न हौसला दिने साथीभाइ, यथेष्ट चाहिने जति समय दिने प्रकाशक, पर्याप्त उर्जा दिने घर-परिवार अनि शान्त - सौम्य - निस्चल वातावरण साहित्य (प्लस सिर्जनात्मक लेखन) का लागि आवश्यक हुन्छन्। गाली र तालीको उत्तिकै भूमिका हुन्छ लेखन-शिल्प र शैलीलाई तिखार्न अनि अरुहरुको कृतिहरुको नि उत्तिकै सुक्ष्म अध्ययन - विमर्श - मूल्याकंन गर्नु फलदायी हुन्छ। पुर्ण-कालीन लेखन कर्म फेरि एउटा risk मोलेरै गर्नुपर्ने हुन्छ - hit या flop को तक्मा भिर्न; छँदाखाँदाको जागिर त्यागेर। बलिउड, सिनेमा, फिल्म फेस्टिबल, उदाउँदै गरेका र असामयिक रुपमा अस्ताएका मिलन पौडेल जस्ता फिल्म-मेकर, आफ्नो माला-प्रेम , कालो र सेतो जोगिया पहिरन, शिरपोस अर्थात् ह्याट टोपीहरुको कलेक्सन र background story, साबुन - चर्चा, जन्मदिन मनाउने रोचक शैली र बन्दुत्वबारे मिठो बखान छ।
शब्दको त जादुगर नै हुन् नि नगरकोटी। झन्; आफ्नै शब्दहरु सिर्ज्ना गर्ने र प्रयोग गर्ने तौरतरिका नि अनुपम छ उनको। सामान्य - असामान्य, नाम चलेका - गुमनाम रहेका, आफ्नो व्यक्तिगत र साहित्यिक जीवनमा प्रत्यक्ष परोक्ष प्रभाव पारेका र केही न केही पाठ सिकाएका मनुवाहरुबारे मजेदार, रुचिकर स्मृति राखेका छन्। आफ्नो सिगरेट सेवन गर्ने बानी, किताबमा फरक प्रयोग गर्ने तरिका, मृत्यु-शैय्यामा बाबुले आमालाई अक्षर चिनाएर आफ्नो नाम लेख्न पढ्न सक्ने बनाइदे भन्ने प्रसङ्ग, आफू जस्तै odd, mysterious आनीबानी भएका साथिभाइको चर्चा (जस्तो पैसालाई फ्रीजना हाल्दिने) अनि मनमौजी बानीबारे बताएका छन्। कुनैपनि काम पछि गर्ने भनेर सार्नुभन्दा साथेसँग अहिले नै तत्क्षण गरिहाल्ने बानी रहेछ नगरकोटीको जस्तो: हरिद्वार अहिले जान मन लागे तु टिकर काटिहाल्ने। कतै कतै हाँसो उठ्छ, कतै sentimental भइन्छ अनि कतै वाह वाह ! काइदाका रहेछन् त यी मनुवा भन्ने feels आउने के।
व्यक्तिहरुको स्मृति सन्दर्भमा चै पर्दाका नायक राजेश हमाल र व्यापारी राजेश हमाल, लेखक कुमार नगरकोटी र ट्याक्सी चालक कुमार नगरकोटि वाला चर्चा रुचिकर लाग्यो। त्यस्तै; प्रख्यात व्यक्तिहरुले एकार्कालाई लेख्या पत्र जस्तै रिचार्ड निक्सनलाई एल्भिस प्रेस्लेले लेख्या पत्र, आईन्सटाईनका लागि म्यारी क्युरीले लेख्या सिफारिस पत्र, जोसेफिनको लागि नेपोलियन बोनापार्टले लेख्या पत्र आदि र ती पत्रभित्रका विषयवस्तु रोचक घोचक लागे। Eduardo Galeano बारेको सिँगो संस्मरण, ईरफान खान, अनुपम खेर, .........आदिका प्रसङ्ग अनि कल्प-ग्रन्थको खर्पनमा बोकी हिड्छु गीत सिर्जना, तथा सिनेमाको टिकट किन्दिने, महँगा गिफ्ट किन्दिने, हेलिकप्टर चार्टर गरेरै सगरमाथा देखाउन लैजाने, पिज्जाको बिल तिरिदिने यावत् फ्यानबारेको प्रसङ्ग नि मजेदार छन्।
अत: उनका संस्मरण पढ्दै जाँदा रेडियो सुन्ने, रेडियो नेपालको गीत संगीत कार्यक्रममा गीत फर्माइस गर्ने र आफ्नो नाम रेडियोले बोलेको सुन्ने, किताब पढ्ने- किन्ने - दोहोर्याउने - कोठाको कुनै कुनामा थन्काउने - मन खाएका किताब मन खाएका यारहरुलाई कोसेली दिने - किताब हराउने - पढ्न दिने तर फिर्ता नआउने, र स्कुल कलेजका गार्ड पाले दाइसँग हिमचिम बढाउने कुरा याद आए। मुराकामी, हान काङ, बेन ओक्री, चार्ल्स् बुकोस्की, दोस्तोएभिस्की, काजुओ इसिगुरो, आदि लेखकका कृतिबारे चर्चा, world सिनेमा (अङ्ग्रेजी बाहेक अरु भाषाजस्तै अफगानी - अर्जेन्टाइन - जर्मन - तेलुगु - कोरियन सिनेमा) को चर्चा, torrent बाट ती फिल्म तान्ने, फिल्म फेस्टिबलमा सिने-दैत्य (world cinema पारखीलाई उनले दिएको संज्ञा) र आफू ले देखेका सपनाहरूको कुरा पनि चाखलाग्दा नै छन्।
उपन्यास सिर्जना, नाट्य लेखन, गीत लेखन, अभिनय, म्युजिक भिडियो निर्माण, राइटिङ्ग - थिङ्किङ प्रोसेस र स्कुलबेलाका अनुभुति पनि मोहनी लाउने खाले छन्। किताब पढ्दै जाँदा झ्याउ लागे वा ध्यान नखिचेमा सोसल मिडिया हेर्न र को के भाइरल भा छ कि हेर्न सुझाव दिन्छन् , ब्रेक लिन कुनै गीत गजल सँगीत सुन्न भन्छन् अनि जहाँ नुहाउन गए पनि साबुन चै तन मनले खाएको नै प्रयोग गर्न सुझाउँछन्।
उनले १७ अंकसँगको आफ्नो लगाव, परदेश हुँदा दशैँताका बालुवाको टीका लगाएको सन्दर्भ, १६०० पर्ने house of leaves किताब १७०० मा किनेको, किताब सार्वजनिक गर्ने कार्यक्रममा आफ्नो मित्रले १७ मिनेट बोलेको कुरा बारे बताएका छन्। १७ मंसिरना उनको जन्मदिन, १७ वैशाखमा पिताको मृत्युु र मार्खेजको पनि १७ गते परेको दिन नै भएको मृत्युु प्लस आफ्बो पिताको दाह-संस्कार गर्दा मार्खेजको पनि गर्देको बताएका छन्। हान काङ्गको The Vegetarian पढेपस्चात् vegetarian बन्न नसके पनि उनको the white book पढेसी कालो भन्दा सेतो पहिरन लाएको बताएका छन्। मामाघर एक पल्ट पनि पाइला नटेकी बाल्यकाल गुज्रेको बताएका छन्। उनको पिताको जागिर र सरुवाका कारण पटकपटक स्कुल फेरेको र साथीभाइ बन्दै छुट्दै जाने कुरा नि अटाएको छ।
मलाई त आफ्नो समय, पैसा र पठन अवधि खेर गयो भनेर लाग्दै लागेन जोगियाना पढ्दा। लेखक, सिनेमा, गीत संगीत सिर्जना, किताब, नगरकोटी आदिबारेमा Trivia contents नि दामी भेटे किताबमा। केही Typo errors छन् तर किताब पुरै पढिसक्दासम्म ती विस्मृतिमा हराइजान्छन्।किताब पढेर सक्दासम्ममा नगरकोटीलाई राम्रैसँग चिनारी भएको मित्रजस्तो मान्नुहुनेछ।
Thank you for entertaining read Kumar Nagarkoti sir, pulisher Book Hill and Bhupendra Khadka dai