Dhruba Chandra Gautam (Nepali: ध्रुवचन्द्र गौतम) is a Nepalese writer who has authored over 60 stories and novels most of which addresses contemporary social issues.
He received the prestigious Madan Puraskar in 2040 B.S. for Alikhit and Sajha Puraskar in 2059 B.S. for Tathakathit
ध्रुवचन्द्र गौतमको 'घुर्मी' सँग एउटा पुरानो नाता छ। त्यसबेला भर्खर दस कक्षामा थिएँ। पुस्तक प्रेम पनि भर्खर टुसाउदै थियो। बुद्धिसागरको 'कर्नाली ब्लुज' ले यसमा राम्रो भूमिका खेलेको छ। लाइब्ररीको नेपाली सेक्सनमा घुर्मी माथि आँखा पर्यो। शिर्षक अनौठो लाग्यो। नाम टिपाएर पढ्न ल्याएँ। केही नि बुझिनँ। तैपनि कनीकुथी अन्तिम पृष्ठसम्मै पढेँ। र थपक्क लाइब्ररीमा लगेर राखिदिएँ।
घुर्मीको प्रमुख पात्र 'चेतचन्द्र' ध्रुवचन्द्रकै प्रतिच्छाया हो। आफ्नो प्रमुख पात्र मार्फत उहाँ भूत र वर्तमानबीच छलाङ मारिरहनु हुन्छ। वीरगन्जमा बितेको बाल्यकाल, बम्बई र पुनामा बितेको अध्ययन जीवन, त्रिचन्द्र र त्रिविमा बितेको प्राध्यापन जीवन आदि उनको भूत काल हो भने यी सब स्मृतिलाई अक्षरमा उतारिरहेको साठी वर्षे लेखक उनको वर्तमान। चलिरहेको प्रसङ्गलाई अन्तैतिर मोड्ने क्रम उपन्यास भरि दोहोरिरहन्छ। साथीभाइबीच गफ लडाइरहे जस्तो। र पनि यसमा संवादहरू भने ज्यादै कम छन्। उपन्यास लेखनका यिनै सब प्रयोगहरू मेरो मस्तिष्कले त्यसबेला टिप्न सकेन।
घुर्मीकै कुनै प्रसङ्ग बुझ्न दिमाग खियाइरहेको थिएँ। एक्कासि रूम पार्टनर हतारिदै पस्यो। सोध्नै नपाई स्वाँ-स्वाँ गर्दै भन्यो- 'कमन रूममा सरले ब्लु फिल्म हेरेको था पायो यार।' भोलिपल्ट लाइन-अपमा अघिल्लो रात कमन रूममा हुने जति सबै छुट्ट्याइए। सजाय भोग्न। कमन रूमको टिभी जफत गरियो। एसएलसी नजिकै भएका कारण केटाहरू सस्पेन्ड हुनबाट भने जोगिए।
घुर्मी आत्मजीवनीपरक उपन्यास हो। यसको केन्द्रमा प्रमुख पात्र चेतचन्द्र छ। चेतचन्द्रले फिजाइरहेको आभामा उसले बाँचेको परिवेश छ। मनोविज्ञान छ। समयको अन्तरालमा समाजमा देखिन आइपुगेको भेद छ। एउटा निम्नवर्गीय प्राध्यापक र लेखकको दरिद्रतासँगको लडाइ छ। मित्रता जोडिने र टुट्ने अनन्त शृङ्खला छ। पाठकहरूद्वारा उधुम रूचाइएको 'कट्टेल सरको चोटपटक' र 'अलिखित' जस्ता उपन्यासहरूको झिनो पृष्ठभूमि छ। र पत्तै नदिई जीवनमा प्रवेश गरेको बाल्यकालमा खेलिने खेलको 'घुर्मी' छ। कथा लेखनको यो बेजोड शैलीले उपन्यास पढिसकेपछि पनि कुतकुत्याइ रहन्छ।