जङ्गबहादुरका बारेमा बृहत् र आधिकारिक जानकारी दिने पुस्तक हो यो । यसमा काठमाडौंस्थित परराष्ट्र मन्त्रालय र नयाँ दिल्लीस्थित भारतीय राष्ट्रिय अभिलेखालयमा रहेका जङ्गबहादुरका पालाका अप्रकाशित मौलिक स्रोत सामग्रीहरूको अध्ययनपछि लेखिएका विभिन्न शीर्षकका १४ वटा लेख सगृहीत छन् ।
यो कृति इतिहासका अध्येताहरूका लागि बहुमूल्य दस्तावेज हो । हामी ढुक्कसँग भन्छौं- जङ्गबहादुरका बारेमा लेखिएको यति तथ्यपूर्ण र आधिकारिक पुस्तक अर्को छैन ।
यस पुस्तकमा विभिन्न पत्रपत्रिकामा प्रकाशित १४ लेखहरूलाई जङ्गबहादुर राणाको उदय, बेलायत र भोटसँगको सम्बन्ध, प्रशासन र मृत्यु गरी चार खण्डमा विभाजित गरी प्रकाशन गरिएको छ । प्रायः लेखहरूमा ऐतिहासिक सामग्रीका साथै ती र विभिन्न घटनालाई विश्लेषण पनि गरिएको छ । जङ्गबहादुरको बेलायत यात्राको क्रममा उपहार पठाइएका सामग्रीहरूका सन्दर्भमा चैं अलि चित्त बुझेन । लेखकले नेपाली संस्कृति झल्किने वस्तुहरू नलगिएका भएर बेलायतकी महारानीले ती रुचाइनन् भनेका छन् तर नेपाली संस्कृति र मौलिकता भएका सामग्रीको सूची दिँदै त्यसको प्रशंसा पनि गरेका छन् । तर फेरि काठमाडौलाई बढी प्राथमिकता दिएर हिमाली भेगका सामग्री (भोटसँग मिल्ने) र तराई भेगका सामग्री (इण्डियनसँग सम्बन्धित) पठाइएनन् भन्ने गुनसो पनि छ । गुरुङ विद्रोहको सन्दर्भ भने निकै रोचक थियो । लखन थापाले गोरखामा गरेको विद्रोहसँग धेरै समानता पनि रहेछ । समग्रमा पुस्तक पठनीय छ ।