उतारचढावको समय तपाईं आफूसँग छटपट-छटपट स्वयुद्धमा बिताउनुहुन्छ वा आफूलाई सम्हाल्न सक्ने आफ्नै आलिङ्गनकाे स्वस्पर्शमा? यो पुस्तक हरेक मानिसका लागि त्यही स्वयुद्धबाट स्वस्पर्शसम्मको एउटा यात्रा हो, जसका सहयात्री छन्, प्रेरणादायी केही भुइँमान्छे। यी भुइँमान्छेका कथा र तिनमा समाहित बुद्ध-विज्ञान पढ्दै गर्दा खुसी खोज्नेले बीउखुसी भेट्नेछन् अनि दुःखमा अल्झिएकाले भेट्नेछन् दुःखपारिसम्म पुग्ने आशा, प्रेरणा र परिवर्तनको जीवनमार्ग।
सनातन धर्मअनुसार आत्मा मर्दैन , आत्मा चिर रहन्छ , मर्छ त केवल देह तर किन आत्महत्या भनिन्छ भन्ने यस्तै भावको वाक्यांश हालै मैले मिस्टिकमा पढेको थिए । त्यसैले पनि जसरी स्वस्पर्शमा प्राक्कथनको पहिलो दृश्य पढ्दा सोचमग्न भएको थिए । त्यो दृश्य आफैमा हृदय विदारक थियो नै तर बिर्सि नहाल्ने बानीले गर्दा त्यस्तो सोच्न बाध्य भए होला । यससँगै भन्न सकिन्छ कि सायद म कति गहिरोसँगले यो किताबसँग कनेक्ट भए होला । लेखकको पहिलो कृति "शून्यको मूल्य " पनि मलाई कनेक्ट गरेको मुग्लिनको जाममा नै सही त्यो किताब पढेर सकेको थिएँ ।
स्वस्पर्शको प्राक्कथनमा लेखक डा नवराज केसी विचारशील देखिन्छन् र सोच मग्न हुन्छन् ," के एउटा मान्छेको कथा अर्को मान्छेको आरोग्यमार्ग हुन सक्छ? ओखती हुन सक्छ? र , हुन सक्छ के जीवन जोगाउने जीवनोपहार - लाइफ सेभर? " र यही प्रश्नको उत्तर दिने क्रममा जन्मेको छ यो किताब । मूलत किताब तीन अध्यायमा विभाजित छ : बुद्ध , विज्ञान र बुद्धु , मान्छेको शरीरभित्र समाज बोकेर जन्मन्छ र स्वशिष्य, स्वशिक्षक र स्वनिर्माण - आफूभित्रको भुरुरु जिन्दगानी ! यो तीन अध्याय अध्यायमा विभाजित भएपनि यसको एउटै मूल भने बुद्ध दर्शन र जीवन दर्शनको संगमस्थल हो । जुन प्रश्नको उत्तर दिने प्रयास लेखकले गरेका छन् त्यो आफैमा प्रेरक छ र यसले यो पुस्तकको उपशीर्षक "आशा प्रेरणा र खुसीका कथा" न्याय गरेको छ।
स्वस्पर्शमा कर्णाली भेगका भुई मान्छेका प्रतिनिधि कथा समेटिएका छन् । कहीँ कतै त्यहाँ हामीले आफूलाई पनि पाउने गर्छौं । भन्दा अतियुक्ति नहोला तर मैले पनि आफूलाई त्यहाँ पाएँ गर्बे दाइको दोषी चस्मा भन्ने शीर्षकमा लेखिएको जीवन कथामा भनिएझैँ हामीमा केही न केही दोषी चस्मा हुन्छ । जसको कारण हामी कुनै पनि घटनाको कारक आफूलाई बनाउँछौ । अब "reewaz being reewaz", "self deprecating joke " र existential crisis को दोषी चस्मा अलि कम पो गरुला कि, खैर त्यो त समयले बताउला । मैले यसो भन्दै गर्दा पुस्तकभरि जीवनका संवेदना, अनुभूति र यथार्थलाई आत्मपरक ढंगले प्रस्तुत गरिएको छ भन्ने कुरालाई प्रष्ट पार्न मात्र खोजेको हूँ । यो किताब एक किसिमको आत्मसंवाद पनि हो जस्तो लाग्छ । पहिलो कृतिमा उनले शून्यको पनि मूल्य हुन्छ भनेर सिकाए भने यसमा शून्यबाट उठेर जीवनको मूल्य सिकाउन लेखक शत प्रतिशत सफल भएका छन् । Self help किताबका त म फ्यान होइन तर यसलाई Self care book भन्न उचित होला जस्तो लाग्छ । लेखकले मनोवैज्ञानिक द्वन्दहरूलाई औषधोपचारले मात्र नभएर बुद्ध र विज्ञान को समिश्रणले बनेका पद्धति चिर्न सकिन्छ भनेर अमूल्य जीवन दर्शनका बारेमा बताएका छन् । जीवनका भोगाइहरू एउटा खुल्ला विश्वविद्यालय हुन् र यसबाट धेरै कुरा सिक्न सिकाउन सकिन्छ भन्ने कुरालाई लेखक डा नवराज केसीले यस किताबमार्फत आफ्ना अनुभव र कथनशिल्पको संगम सहित बेजोड तरिकाले प्रस्तुत गर्न सफल भएका छन् । समग्रमा भन्नुपर्दा किताब संग्रहणीय र पठनीय दुवै छ । यो सशक्त सृजनात्मक गैरख्यानका लागि लेखक डाक्टर नवराज केसी धेरै बधाई र आगामी दिनका लागि शुभकामना । यसैगरी आफ्नो डाक्टरी कर्ममा निस्वार्थ लागिरहनुहोला ।
दुर्गम कर्नालीका मान्ठहरूबीच डाक्टरी कर्म निभाइरहनुभएका नवराज केसीलाई विभिन्न मान्ठका विभिन्न कथाहरूसँग साक्षात् हुने मौका मिलेको छ। जीवन बचाउने कर्मसँगै, भावीले उहाँको निधारमा शब्दहरूलाई लयबद्ध उन्नसक्ने गुण पनि लेखिदिएको छ। त्यही गुणको एउटा प्रतिफल 'स्वस्पर्श' हो। स्वस्पर्शमा हामी भुइँमान्छेका कथाहरू भेट्छौ। आफ्नो अन्तरलाई केलाएर आशा, प्रेरणा र खुसी बटुलेका भुइँमान्छेहरूका कथा। यी भावहरू पछाडिको विज्ञानलाई एक असल गुरु बनेर लेखकले पाठकको मानसमा उतारिदिनुभएको छ। लेखककै शब्दमा भन्नुपर्दा- "पुस्तक यात्राभित्र दुई चौतारी भेटिनेछन्- कर्मस्थलमा भेटिएका भुइँमान्छेको जीवन-चौतारी र अध्ययनस्थलमा भेटिएको बुद्धविज्ञान-चौतारी।" यी दुवै चौतारीको समागमले पाठकभित्र सकारात्मक उर्जा जगाउने काम गरेको छ। एक सफल लेखक हुनुको उदाहरण यही हो।
पुस्तकको पहिलो कथा पढ्दै गर्दा मलाई अनुभव भएको थियो याे पुस्तक पढ्न अगाडिको म र पछिको म धेरै फरक आउनेछ। अझ पुस्तक पढ्दै गर्दा लेखकसँग कुराकानी गरेर त्यसको भाव, त्यसकाे अर्थ नजिकबाटै सुन्न पाउँदा त सुनमा सुगन्ध पाएँ झै भयो। म सधैं भन्ने गर्छु पुस्तकले हामीलाई धेरै कुरा बुझाउँछन्, चिनाउँछन र केही न केही अनुभव गराउँछन्। तर यस पुस्तकले मलाई म बन्न सिकायो, र म बन्न नसकेको मलाई म बन्ने प्रेरणा दियो। म मिठो कुरा बाढ्ने मान्छे, मेरो नजिकले मैले चाखेको मिठो स्वाद पाऊन् भन्ने चाहना हुन्छ- म गएको सुन्दर ठाउँ होस् वा मैले खाएको स्वादिलो खाना, मैले सुनेको गीत होस् वा मेरा रमाइला गरेको केही नया अनुभूति। यो पुस्तक पनि आज बाट तिनैमनपर्ने कुरामा परेको छ, जस्लाई म बाँड्न चाहन्छु। पाठक होऊन् वा नहोऊन्, यी कथाहरू सुन्न र बुझ्न सवैले अवसर पाऊन् भन्ने लगेको छ। उनीहरूले पनि आफुलाई अझ राम्रो बन्ने प्रेरणा पाऊन्। I will never stop recommending this book, it’s the kind of story that stays with you forever. Finding it feels less like chance and more like destiny, and I’m endlessly grateful it came my way.