Jump to ratings and reviews
Rate this book

छाइल [Chhail]

Rate this book

306 pages, Paperback

Loading...
Loading...

About the author

Ratings & Reviews

What do you think?
Rate this book

Friends & Following

Create a free account to discover what your friends think of this book!

Community Reviews

5 stars
0 (0%)
4 stars
1 (100%)
3 stars
0 (0%)
2 stars
0 (0%)
1 star
0 (0%)
Displaying 1 - 1 of 1 review
Profile Image for Sundar  Parajuli.
102 reviews8 followers
October 26, 2026
लोकराज भट्टद्वारा रचित उपन्यास ‘छाइल’ जसले सुदूरपश्चिमको भूगोल मात्र होइन, त्यहाँको माटोमा उम्रिएका सपना, अभावमा हुर्किएका रहरहरू र मानवीय सम्बन्धका मसिना धागाहरूलाई अत्यन्तै सजीव ढङ्गले प्रस्तुत गरेको छ।

कथाको सुरुवातमै आफैँ चुहिने घरमा बसेर अरूका लागि भव्य महल बनाइदिने एक मेहेनती मिस्त्री बुबाको सङ्घर्षले पाठकको मन छुन्छ। बाल्यकालका ती भोगाइहरू कक्षाकोठामा प्रेमपत्र लेख्दा गुरुको हातबाट पिटिनुपरेको त्यो दशकको मीठो र निर्दोष स्मृति पाठकलाई आफ्नै बाल्यकालतिर फर्काउन बाध्य हुन्छ।

तर, कथा सधैँ एउटै लयमा बग्दैन। बदलिँदो समय र सामाजिक परिस्थितिका कालो छायाहरू पात्रहरूको जीवनमा पर्छन्। माओवादी द्वन्द्वको कहाली लाग्दो कालखण्डमा दयारामका छोरा बेपत्ता हुँदाको पीडाले त्यो कालरात्रिका घाउहरूलाई ताजा बनाइदिन्छ। किशोर अवस्थामा राखिएको प्रेम प्रस्ताव, जीवनको जटिल विगतका कारण असफल हुँदाको त्यो मौन विछोडले जीवनको कठोर क्रूरता देखाउँछ। गरिबी र अभावसँग जुद्धै आफ्नो अस्तित्व बचाउन भौंतारिरहेका युवाहरूको पीडालाई यस उपन्यासले मर्मस्पर्शी रूपमा चित्रण गरेको छ।

‘छाइल’ को सबैभन्दा बलियो पक्ष भनेको यसको बाबु–छोराको सम्बन्ध हो। बुबाको माया, भरोसा र सङ्घर्षले भरिएको त्यो आत्मीयताभित्र लुकेको भावनात्मक गहिराइले कथालाई एक प्रकारको न्यानोपन दिएको छ। प्रेम यहाँ केवल प्राप्तिको उत्सव मात्र बनेर आएको छैन; कहिलेकाहीँ यो अधुरोपन, मौनता र विछोडको अर्को नाम बनेर पात्रहरूको जीवनमा उपस्थित हुन्छ।

सुदूरपश्चिमको आञ्चलिक स्वाद, डोट्याली भाषा, संस्कृति, डेउडा र त्यहाँको समाजलाई कुल्चिरहेको विभेदको यथार्थले कथालाई आफ्नै माटोको सुगन्ध दिएको छ। गाउँबाट सहरतर्फको पलायन र त्यहाँ भोग्नुपर्ने हन्डर, ठक्कर तथा अपमानले चमकधमकपछाडिको रुखो वास्तविकता उदाङ्गो पार्छ। अन्ततः पात्रलाई आफ्नै माटोतिर फर्काउने शक्ति के त्यो अभावको पीडा हो, पहिचानको खोजी हो, वा आफ्नापनको लालसा? यो गहिरो प्रश्न पाठकको मानसपटलमा लामो समयसम्म गुञ्जिरहन्छ।

यद्यपि, महिला पात्रहरूका भोगाइलाई अझ फराकिलो क्यानभासमा समेट्न सकेको भए यसको संवेदनशीलता अझ बलियो हुन्थ्यो होला। तथापि, समग्रतामा ‘छाइल’ अवसर र अभावको खाडल, सामाजिक द्वन्द्व, प्रेमको कम्पन र बाबु–छोराको आत्मीयता झल्काउने दस्तावेज हो।

Displaying 1 - 1 of 1 review