महेशविक्रम शाहको “छापामारको छोरो” मेरो लागि उनको पहिलो read थियो जसमा युद्धबाट सताइएका विभिन्न पक्षका कथा बताएका थिए | उनको लेखनबाट प्रभावित भएर "सटाहा" सम्म आइपुगेको छु र यो सकिसक्दा म उनको अरु किताबहरु पनि पढ्छु होला भन्ने विश्वास जागेको छ |
सटाहा महेशविक्रम शाहको अर्को कथासंग्रह हो जसमा मूलतः पश्चिम नेपालको समाज , जनजीवन , संस्कृति एवं मनोविज्ञान प्रस्तुत गर्न खोजिएको छ | पहिलो कथा सटाहामा लेखकले रामलीलाको दृश्यको चित्रण गर्दै पाठकवर्गलाई कथानकमा connect गर्छन् | यो दृश्य किन पनि महत्त्वपूर्ण छ भने यसले पाठकलाई थारु संस्कृतिको बारेमा अवगत गराउँछ र Frame narrative को प्रयोग गर्दै यस कथाको मूल विषयवस्तुमा समेत प्रवेश गराउँछ जुन सटाहा विवाह संस्कृति बारे हो | सटाहा विवाह , बडघर आदिको के कस्तो भूमिका हुन्छ ? सामाजिक सांस्कृतिक मनोविज्ञानको चित्रण गर्दै यस कथामा बताइएको छ | कथाका मूल पात्र रामप्यारी र फागुरामको कथा जुन मोडमा आएर अन्त्य हुन्छ त्यसले मलाई हारजित शीर्षकको कथाको केही हदसम्म याद आएको थियो |
तृष्णा शीर्षकको कथा पनि एक मनोवैज्ञानिक कथा हो जसमा अपूर्ण इच्छा वा तृष्णाको चित्रण गरिएको छ | सुक्नी र लालु नामक दुई पात्र वरिपरि बुनिएको कथामा कसरी सुक्नी नामक पात्रको तृष्णा र लालु नामक पात्रको id र ego बीचको अन्तरद्वन्दले आउने character dynamics मा आउने परिवर्तन देखाइएको छ | टाँगन घोडा कथामा बुढो भएको घोडाको दृष्टिकोणबाट कथा प्रस्तुत गरिएको छ | घोडाजस्तो अबोध प्राणीमार्फत समवेदना प्रस्तुत गरेर पाठकलाई convince र connect गराउने काम उनका लागि cakewalk जस्तै नै हो भन्ने लाग्यो किनकी उनी यस कुरामा पूर्णत रुपले सफल भएका छन् |
संस्कार र चम्पी शीर्षकको कथाहरुमा दुई फरक फरक थारु संस्कृतिको उपस्थिति देखिन्छ | तर संस्कार कथामा धनीराम नामको पात्रले विद्रोह गरेको छ भने चम्पी शीर्षकको कथामा भने आफ्नो बालसखा चम्पीका लागि न विगतमा , परिधिले एकै ठाउँमा ल्याइपुर्याउँदा पनि, न वर्तमानमा सहयोग गर्न नसकेको विवसता म पात्रको दृष्टिकोणबाट देखाइएको छ | यी दुई कथामा मूल पात्रहरु असमन्जसमा फसेका र उनीहरुले लिएका फरक निर्णयले निस्केको फरक प्रतिफलको बारेमा देखाइएकोले उस्तैउस्तै फरक कथाहरुका रुपमा आएका छन् |
प्रिटोरियाको चिसो रात , ड्याफडिलका फूलहरु र नाइट क्लब शीर्षकका कथाहरुमा प्रवासको दु:ख देखाएर सामाजिक यथार्थवाद र मनोवैज्ञानिक मिश्रण गर्दै कथानकमा सशक्त उपस्थिति देखाएका छन् | उनका कथाहरुमा उनले आफूले देखेका , सुनेका , भोगेका परिवेशमा भिजेका पाइन्छ | सुदुरपश्चिममा कथाभूमि भएकाले कथाहरुमा प्रयोग हुने आंचालिकता र भाषिका out of the place र forced fitted महसुस हुदैनन् | तर कुनै कुनै ठाउँमा भने पात्रहरुले बोलेका संवादहरुको अर्थ ठम्याउन पुरै प्रसङ्ग बुझ्नुपर्ने हुन्छ | २०५३ सालमा प्रथमपटक प्रकाशित भएकोले पनि होला कुनै कथाहरु त्यो समयमा अलि नयाँ स्वादको लागेपनि र समयसँगै त्यस्तै थिमका कथाहरु पढेकाले कुनै कुनै कथाहरु predictable पनि महसुस भयो | सुललित भाषा, वर्णनात्मक र प्रतीकात्मक कथ्यशैलीको सन्तुलित प्रयोग गर्दै चुम्बकीय आकर्षण भएका कथाहरु यस संग्रहमा सङ्ग्रहित भएर आएका छन् | सटाहा पढिसकेपछि नयनराज पाण्डे सरले पूर्वाकथनमा सोध्नुभएको प्रश्न मैले पनि दोहोर्याउन चाहे " महेशजी , के जादू छ तपाईंको कलममा ? "