Dhruba Chandra Gautam (Nepali: ध्रुवचन्द्र गौतम) is a Nepalese writer who has authored over 60 stories and novels most of which addresses contemporary social issues.
He received the prestigious Madan Puraskar in 2040 B.S. for Alikhit and Sajha Puraskar in 2059 B.S. for Tathakathit
ध्रुवचन्द्र गौतम फेरी एउटा उपन्यासमा देखिएका छन् जुन कथा एउटा काल्पनिक गाउँको हो । गाउँ जुन देशको नक्शामा समावेश छैन जसबारे बाँकी दुँनियालाई थाहा छैन । जसै लेखकको अरु उपन्यास पनि यस्तै पृष्ठभूमीका छन् । तपाईको परिवेश भएको इमिलपुरा गाउँको कथा हो उपन्यास जेलिएको । सदाझैँ गौतमको यस उपन्यासमा पनि गरिबी‚ रोग‚ भोक‚ शोक लाई नै कथाको केन्द्रबिन्दु बनाएका छन् । जंगलबीचको गाउँ‚ बाँकी दुँनियाबाट टाढा‚ आफ्नै संसारमा रमाइरहेको जहाँ रमाउने कुरा कम‚ दुःख र रोदन बढी छ । सधैँको खानलाउनको पीर‚ कहिले जङ्गलका कुरा‚ कहिले खोला/नदीको कुरा‚ कहिले खेतीपातीको प्रसङ्ग यस्तै यस्तै दोहोरिरहन्छन् । र पट्यारलाग्दो हुन्छ पढ्दै जाँदा । हुन त कहिले जेलका कुरा‚ कहिले बाबा/जोगीका कुरा‚ कहिले सोमप्रसाद भन्ने पात्र गाउँकै अभिभावक बनेको प्रसङ्ग त कहिले गाउँ नजिक बजार बिस्तार भएको कुराले कथालाई अघि बढाउँछ‚ प्रसङ्ग बदल्न सघाउँछ । भोजभुरी लवजमा बोलिएका स्थानिय शब्दहरू तथा त्यस्ता वाक्यहरूको व्यापक प्रयोग गरिएको छ । जसले पठन कार्यलाई जटिल बनाएको छ । लेखक यौनका कुरामा उदार देखिन्छन् । यौनका प्रसङ्ग आइरहन्छ बारम्बार । गरिबी र भोक झैँ जीवनको अभिन्न अङ्ग भएकाले होला सायद । गौतमसँगै सहलेखन गरेका छन् राम उपाध्यायले । राम उपाध्याय यस उपन्यासको प्रमुख पात्र पनि हुन् । उपन्यासमा भनिएअनुसार उनको पनि उपन्यास लेखनमा महत्त्वपूर्ण योगदान रहेको छ । तर उपन्यासको भूमिकामा डा. गोविन्दराज भट्टराई लेख्छन्‚ राम उपाध्याय काल्पनिक पात्र हुन् । यदि त्यस्तो हुँदो हो त उपन्यासको लेखक कै रुपमा उपन्यासको एउटा पात्रलाई किन राखियो ? नराखेको भए पनि त यसले केही फरक पर्दैन थियो । समग्रमा‚ उपन्यास एउटा नदीझैँ सरल सिधा वहेको छ । नदीमा कहीँ कहीँ उछाल आउनु सामान्य हो । कथाको केन्द्र र लेखन शैलीमा खासै फरक छैन‚ सिवाय उपन्यासभित्रै पनि लेखक र पात्रले पालैपालो कथा लेख्दैछन् भनिएको प्रसंग । जसरी उपन्यासको शिर्षकले भनिएझैँ कथा जेलिएको हुनु पर्ने हो‚ भनिहालेँ‚ जेलिएको छैन । सिधा छ सरल छ ।
'जेलिएको', इमिलपुरा गाउँको कथा हो। यो काल्पनिक गाउँ हो। उपन्यासमा काल्पनिक भनियता पनि, ध्रुवचन्द्र गौतमको बाल्यकाल बितेको वीरगन्जको उही टोलको झल्को दिन्छ इमिलपुरा गाउँले। गरिबी र भोक गाउँलेहरूको यथार्थ बनेको छ। मुख्यतः पेटको भोक र सँगै वासनायुक्त भोक पनि। गाउँमा विभिन्न घटनाहरू घटित भइरहन्छन्। ती घटनाहरू केही अन्धविश्वासले सुसज्जित छन् त केही चमत्कारले पनि। गाउँ स्थापनाको कथा यिनैसँग जोडिएर आउँछ। बाहिरी जगतबाट चारकोसे झाडी र बिर्छा नदीले नाता तोडेर राखिरहेको गाउँमा पनि बिस्तारै आधुनिकता प्रवेश गर्दै जान्छ। एउटा गाउँ बस्नु र बिस्तारै उजाडिदै जानुको वर्तमान सन्दर्भको प्रतिनिधि इमिलपुरा गाउँ बनिदिएको छ। ध्रुवचन्द्र गौतम आफ्ना कृतिहरूमा प्रयोग गर्न रुचाउनु हुन्छ। प्रस्तुत उपन्यास सहलेखनको फल हो। कथाको मुखपात्र राम उपाध्याय उपन्यासको अर्को लेखक हो। यस हिसाबले, लेखक र पात्र दुवैले पात्रकै कथा लेखिरहेका वा भनिरहेका छन्। कथा प्रथम पुरुष र तृतीय पुरुषबीच ओहोरदोहोर गरिरहन्छ। यसलाई प्रयोग भनौँ वा के? आखिर लेखिने त पात्रकै कथा हो! र, पुरुषहरूबीच ओहोरदोहोर ध्रुवचन्द्र गौतमले अन्य कृतिहरूमा पनि गरिसक्नुभएको छ। भाषामा स्थानीय लवज मिसिएको छ। त्यसैकारण केही शब्दहरू अलि क्लिष्ट छन्। कथाभित्र थुप्रै उपकथाहरू जोडिएका छन्। अघिल्लो पन्नाको घटना झट्ट दिमागमा आउँदा, यसै उपन्यासको हो वा पहिलेनै पढेको कुनै अन्यको भन्ने खतरा उब्जिन सक्छ। कारण- ध्रुवचन्द्र गौतमका थुप्रै रचनाहरूको गर्भ यही परिवेश बनिसकेको छ।