पाठकीय दृष्टिकोण- कथा, प्रस्तुति र पात्रहरूको हिसाबमा लीलाध्वज थापाको 'मन' भन्दा बलियो छ 'पूर्वस्मृति'। मनका कतिपय घटनाहरू फिल्मी पनि लाग्छन् भने पूर्वस्मृति त्यस पक्षबाट मुक्त छ। उपन्यासको कथा एउटा घटनालाई लिएर अगाडि बढ्छ। त्यस घटनालाई आड दिन विभिन्न उपकथाहरू जोडिन्छन्। ती उपकथाहरू सबै पूर्वस्मृतिका रूपमा एकपछि अर्को झुल्किदै जान्छन् र अन्त्यमा सुरुको घटनाको रहस्य खुलाउछन्। लेखकको अन्य कृतिहरू जस्तै यस उपन्यासको अन्त्य पनि केही अपुरो नै लाग्छ। 'बाँकी कथा तिमी आफै बुन' भनेर पाठकलाई छाडिदिनु भएझैँ। लीलाध्वज थापाको कृतिहरूमा समाजवादी चेतना उग्र देखिन्छ। कुनै यस्तो पात्र उहाँको उपन्यासमा अवश्य हुन्छ जो समाजको विषमता हटाउन विद्रोह गरिरहेको हुन्छ। पूर्वस्मृतिमा पनि केही त्यस्ता पात्रहरूको बलियो उपस्थिति छ। यी र यस्ता पात्रहरूको उपकथा जोड्दै जाँदा लेखक तत्कालीन समाजलाई कथामा उतार्न सफल हुनुहुन्छ। आफ्नो सिर्जनशील मस्तिष्कको उपज प्रस्तुत उपन्यासमा लीलाध्वज थापाले केही प्रयोग पनि गर्न खोज्नुभएको देखिन्छ। कथा र घटना केही वास्तविकतातिर ढल्किएता पनि उपन्यासमा प्रयुक्त स्थानहरू कपोलकल्पित छन्। कथालाई आड दिन आउने उपकथाहरूले एकपछि अर्को रहस्य थप्दै र सुल्झाउदै जान्छन्। पात्रहरूबीच संवादमा ठेट नेपाली थेगोहरू घुसाएर लेखकले कथालाई जीवन्त पार्नुभएको छ। उपन्यास पढिरहँदा बिल्कुलै झिँजो लाग्दैन।