याम्बु अर्थात् काठमाण्डू । अर्थात् शासकीय दम्भको बिम्ब | यतिबेला त झन् 'नव दरबार'हरूको नक्कली रूप । दलाल पूँजीवादको कुरूप अनुहार । मानिस हुनुको संवेदना नै क्षत-विक्षत पार्ने व्यवस्थाको प्रतिरूप ।
जात, भाषा, संस्कृति, वर्ग, क्षेत्र वा खास नश्लका आधारमा गरिदै आएको विभेदका कारण पहिचानविहीन हुन पुगेका मानिसहरूले टाढा अनुभूत गर्ने पराइपन छ, याम्बुमा । र छ, पहुँच र प्राप्तिको निकै कठीन र कठोर दुरी । अनेकन बहानामा इतिहासदेखि वर्तमानसम्म एक अक्षर पनि सम्पादन गर्न नमानेको, राज्यसत्ताले नै 'मासिन्या' भनेर हुर्काइदिएको विभेद छ । यही विभेदमा मानिस भने सधैं सत्ताको शक्ति, रोब-रवाफको पैतालामुनि पिल्सिनु परिरहे को छँदै छ ।
ती मानिस जो याम्बुका लागि केवल पिपा थिए । सत्ताको कथनमा असभ्य, गँवार थिए । काँठका अनपढका बनाइएका थिए, छन् । तिनका मेहनत र श्रम नदेख्ने, तिनलाई दास देख्ने, बनाउने तर तिनमा नागरिक नभेट्ने एकालापको कथन विरुद्ध कठोर उपस्थिति हो- बिना थिङको 'याम्बुनेर' ।
यो कथाकृति सत्ताबाट पिल्सिएका किनारीकृतहरूको साझा आख्यान हो । केवल साक्षी किनाराबाट गरिएको वृत्तान्त होइन, भोग्ने मानिसहरूको समय-चेतसहितको नयाँ कथन हो ।
खासमा यो किताब दुर्गा कार्कीको तारिफका कारण पढ्न पुगेको हुं । मन परेको लेखकले तारिफ गरेको लेखकको लेखनीमा अपेक्षा अलि बढि भएर होला कथाहरुले बेलाबेला मन छुन सकेनन् ।
ओझेलमा परेको समाज बाट आएका लेखको समस्या भनेको उनीहरुको कथामा परिवेश बढि र कथा कम हुन्छ । यो रोल्पा सुइनामा पनि थियो । यो ऐनामा पनि थियो । कथामा परिवेश र घटनाको संकलन मात्रै भयो भने पनि के नपुगे के नपुगे जस्तो हुंदो रहेछ । याम्बुनेरमा त्यहि अनुभव भयो ।
तामाङ समाज र काठमाडौं नजिक भएर पनि फरक भोगाइ बोकिरहेको समाज, याम्बुनेर, को कथा समेटिइनु चाहिं यो किताबको राम्रो पक्ष हो ।