वि.सं. १९९२ मा दार्जिलिङबाट प्रकाशित यो कृति इतिहास विषयको पहिलो नेपाली पुस्तक हो ।
नाम 'पृथ्वीनारायण शाह' भए पनि यसमा शाहवंशीय राजाहरूको पुख्यौलीसहित तत्कालीन चौबिसे राज्यहरू, काठमाडौं उपत्यकाका राजाहरू तथा तराइका सेन राजाहरूका बारे महत्वपूर्ण तथ्यहरू समेटिएका छन् ।
तत्कालीन आर्थिक, सामाजिक, राजनीतिक स्थिति एवम् कुटनीतिक सम्बन्धबारे बुझ्न तथा पृथ्वीनारायण शाहलाई नजिकबाट चिन्न यो पुस्तक नपढी सुखै छैन
श्री ५ बडामहाराज पृथ्वीनारायण शाहको ३०४ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा सूर्यविक्रम ज्ञवाली रचित पृथ्वीनारायण शाह पढेर सकेँ । वि.सं. १९९२ (सन् १९३५)मा दार्जिलिङबाट पहिलोपटक प्रकाशित यस पुस्तकको दोस्रो संस्करण वि.सं. २०३३ मा प्रकाशन भएको रहेछ । सोही संस्करणलाई मञ्जरी प्रकाशनले पुनः प्रकाशन गरेको रहेछ र ईबुकका रूपमा थुप्रैमा उपलब्ध छ । प्रकाशकीयमा 'नेपाली इतिहास विषयकै पहिलो कृति' भनिएको छ तर थुप्रै वंशावलीहरू, ह्यामिल्टन, सिंह र गुणानान्द (राइटका नाममा प्रख्यात तर राइटले मुख्य अंश सम्पादन मात्रै गरेका थिए) जस्ता सामग्री उपलब्ध भएको हुँदा 'नेपाली इतिहास विषयकै पहिलो कृति' भन्न अलि नमिल्ला कि ? 'इतिहास विषय' भनेर इतिहासको वैज्ञानिक अध्ययन भनिएको पो हो कि ?
जे होस्, पुस्तकमा ऐतिहासिक सामग्रीको अध्ययन र विश्लेषण पाइन्छ । पृथ्वी नारायण शाह र तत्कालीन शासकमा नाममा लेखिएका पत्रहरूको विवरण, दिव्योपदेश र संस्मरण तथा काव्यहरू मुख्य सामग्रीका रूपमा आएका छन् । वंशावलीहरूलाई पनि स्रोत बनाइएको छ तर तिनमा रहेका किंवदन्तीका कुरा खासै छैनन् र प्रस्तुत किंवदन्तीलाई समालोचनात्मक दृष्टि राखी प्रस्तुत गरिएको छ । कतिपय सन्दर्भहरू, जस्तै योगी भगवन्तनाथ र नाथ पन्थका साधुहरूका विषयमा सामग्रीको अभाव भएको कुरा आएका छन् । अघिल्लो महिना पढेको महेशराज पन्तको पृथ्वीनारायण शाहले उब्जाएका कतिपय प्रश्नका समाधान यहाँ भेटेँ ।
२८ अध्यायमा बाँडिएको पुस्तकको सुरुवातमा शाहवंशको उत्पति, गोरखामा द्रव्य शाहको राज्यारोहण, राम शाहको थिति र गोरखा चौबिसी राज्यमध्ये सानो भए पनि कसरी भिन्न अस्तित्व भएको राज्य भयो भन्ने वर्णन रहेको छ । पृथ्वीनारायण शाहको जीवनी प्रस्तुत गर्दै लेखकले आर्थिक, सामरिक, आन्तरिक तथा बाह्य नीतिहरूको विश्लेषण गर्नुभएको छ ।
पृथ्वीनारायण शाहका नीतिका विश्लेषण पढ्दा सकेसम्म कम क्षति गरेर राज्यहरू जितेको ती राज्यहरूमा जस्तो चालचलन छ तिनमा खासै धेरै परिवर्तन गरिएको पाइँदैन । गोरखासँग अरू पहाडी राज्यका तुलनामा आधुनिक सेना, बन्दुक र गोला बारुद थिए तर पृथ्वीनारायण शाहलाई सहज स्वीकार गर्नु डर मात्रै हो भन्न सकिन्न । उदाहरणका लागि दोलखा जित्दा त्यहाँका बासिन्दालाई गोरखाले आफ्नो पक्षमा सजिलै पारेको प्रसङ्ग रोचक छ ।
गोरखा विस्तार हुँदै जाँदा आएका विविध अवरोधबाट सिक्दै पृथ्वीनारायण शाहले एकतामा बाँधिएको पहाडी हिन्दू राज्यको परिकल्पना गर्नुभएको थियो । सिक्किम (सुखिम/डेन्जोङ) लाई लेखिएको पत्रमा पृथ्वीनारायण शाहको प्रशस्तीमा पर्वतैक बादशाह लेखिएको हुँदा गोरखा मात्रै हैन सम्पूर्ण पहाडको शासन गर्ने लक्ष्य राखेको स्पष्ट छ ।
पृथ्वीनारायण शाहका बारेमा ऐतिहासिक अध्ययन गरी लेखिएको सुरुवाती यो पुस्तक ज्ञानवर्द्धक रहेको छ ।