केही वर्ष अघि वरिष्ठ चलचित्र निर्देशक यादव खरेलको एक अन्तर्वार्ता हेरेको थिए। त्यस अन्तर्वार्तामा उहाँले टेकनाथ रिजालको आत्मकथा 'निर्वासन' मा आधारित चलचित्र बनाउन मन भएको तर लगानीकर्ताहरूले इच्छा नदेखाएको कुरा बताउनु भएको थियो। उक्त अन्तर्वार्ता हेरेपछि मैले यो पुस्तक पढ्ने सोच बनाएको थिए।
टेकनाथ रिजाल भुटानका नेता हुन्। २५ वर्षको उमेरमा जनप्रतिनिधि भएर राज्य सभामा पसे। राज्य सभा हुँदै राजकीय सल्लाहकारको सदस्य समेत भए। राजाको एक विश्वासिलो पात्र भएर राजनीति गरिरहेका उनी भ्रष्टाचार छानबिन आयोगको सदस्य भएर काम गरेदेखि दरबारका निकट मान्छेहरूको आँखाको तारो बन्न पुगे। दक्षिण भुटानका आवाज उठाइरहेका उनि राज्य सभाबाट निष्कासन हुन्छन्।राजद्रोह गरेको आरोपमा जेल हालिन्छ। १० वर्ष यातानापुर्ण जेल जीवन बिताएका उनी अन्तत राजाद्वारा निर्दोष रहेको भनी जेल मुक्त गरिन्छ।
जेल भित्र आउने मुसाको कथाले रोमाञ्चक बनाउछ भने जेलमा भएका कुकुरको कथाले भावुक बनाउछ। मुसाको कथा मैले त्यो समयमा पढेको थिए जुन समय नेपाली राजनीतिमा मुसाले उटपट्याङ मच्चाएको हल्ला फैलिएको थियो।
यो आत्मकथा पढ्दा भुटानको इतिहास, त्यो समयको राजनीति, राज्यले गरेको ल्होत्साम्पा समुदाय माथी अत्याचार, अन्तर्राष्ट्रिय संस्थाले गरेको सहयोग , एक निर्दोष व्यक्तिले भोग्नुपरेको अमानवीय व्यवहार जस्ता कुराहरू पढ्न पाइन्छ।