वि.सं. २०६१ सालको सर्वश्रेष्ठ पाण्डुलिपि पुरस्कार प्राप्त आरोह-अवरोहभित्र निकै घतलाग्दा मर्मस्पर्शी, व्यापक समयलाई समेटेर लेखिएका संस्मरणहरु सङ्ग्रहित छन्।
Dhanush Chandra Gautam (ध.च. गोतामे) is a Nepali literary figure. He was born on 1989 B.S. in Manharakatti village of Mahottari district to Govinda Chandra Gautam and Dipwatidevi. His genres are novels, stories and memoirs. He wrote by the pen name Dha. Cha. Gotame. He won the Madan Puraskar for his work Ghamka Pailaharu in 2035 B.S.
ध.च. गोतामेको कलमसँग मेरो परिचय उपन्यास 'घामका पाइलाहरू' ले गराएको हो। सीमावर्ती सहरको धुलो खाँदै हुर्केको 'पवन' को त्यो कथा मलाई मनपर्ने उपन्यासहरूको अग्रपंक्तिमा राख्दछु। त्यसलगत्तै ध.च. को अर्को उपन्यास 'यहाँदेखि त्यहाँसम्म' भेटेको थिएँ। 'मुर्की' नदीले पालेको सामन्ती गाउँको त्यो कथा पनि घामका पाइलाहरूकै हात समातेर अग्रपंक्तिमा उक्लियो। अब भने ध.च. गोतामेका सारा कृतिहरू उपर नजर दौडाउने एउटा तृष्णा जाग्यो मनमा। तर तृष्णा त्यत्तिकै साम्य हुनेवाला थिएन। मैले भेटेको उहाँका उपन्यासहरू साझा प्रकाशनबाट प्रकाशित थिए। यिनका साथै अन्य एकाध कृतिहरू पनि साझा प्रकाशन तथा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित थिए। केही परिश्रम गरेको खण्डमा ती भेटिन्थे पनि होलान्। तर अरू? संयोग कस्तो पर्न गइदियो भने, फिनिक्स बुक्सले उहाँका सातवटा कृतिहरू एकसाथ प्रकाशित गरिदियो। मैले पाँचवटा आफ्नो बनाएँ। ती अधिकांश संस्मरणसङ्ग्रह थिए। मैले ध.च. गोतामे लाई उपन्यासकारका रूपमा चिनेको थिएँ। आख्यानमै रम्ने म, संस्मरण मेरालागि नौलो विधा थियो। 'कालान्तर' बाट सुरु मेरो अध्ययन, कहीँ-कतै नअलमलिई एउटा म्याराथनमा दौडियो। त्यसबेला म मेरो काँचो विद्याको उपज सोच्ने गर्थेँ - 'धनुषचन्द्र गौतम संस्मरण विधाका महारथी हुन्।' खैर! फिनिक्स बुक्सबाट ध.च. को एउटा कृति प्रकाशन गर्न छुटेछ। प्यालाको त्यो अन्तिम घुट्को पिउन म केही वर्षयता छट्पटीई रहेको थिएँ। गएको महिना अप्राप्य पुस्तक खोजी कार्य मेरालागि केही लाभप्रद रह्यो। मेरो छटपट्याहट शान्त पार्दै गोतामेको प्रस्तुत पुस्तक 'आरोह-अवरोह' एउटा अनलाइन पुरानो पुस्तक पसलबाट प्राप्त भयो। ... प्रस्तुत सङ्ग्रहमा अधिकांश रूपमा गोतामेको जागिरे जीवनका संस्मरणहरू सङ्ग्रहीत छन्। यी संस्मरणहरू एकअर्काको पुच्छर समाउँदै एउटै लिकमा कुदिरहेछन्। तात्पर्य- अघिल्लो संस्मरणको घटनाले नै पछिल्लोको जग बसाल्ने काम गरेको छ र पृष्ठभूमिमा गोतामे प्रज्ञा-प्रतिष्ठानको सदस्य-सचिवको मेचमा बसेपछि उहाँले कार्यान्वयन गर्न खोज्नुभएको सुधारवादी परिवर्तन कोरिएको छ। ती परिवर्तनहरू लागु गर्न खोज्दा आइलागेका समस्याहरूलाई चुम्बकीय शैलीमा प्रस्तुत गर्नुभएको छ गोतामेले। ध.च. गोतामेको कलमको विशेषता यो पनि हो कि आफ्नो कुरा राख्न गजबको कुतकुत्याउने भाषा-शैली चयन गर्नुहुन्छ उहाँ। उदाहरणका लागि यसै सङ्ग्रहबाट एउटा वाक्य झिक्दै छु जुन केही अभद्र हुनगएमा माफी चाहन्छु- 'सचिवालयभित्र गाँइगुँइ हुनथालेको थियोे- नयाँ सचिवले बढी हन्तकाली भएर हँसिया निल्यो, अब हग्दा स्वाद पाउनेछ।' जागिरे जीवनका संस्मरणहरूको अतिरिक्त प्रस्तुत सङ्ग्रहमा स्थानविशेष, यात्राविशेष र व्यक्तिविशेष संस्मरणहरू सङ्ग्रहीत छन्। स्थानविशेष संस्मरणमा उहाँ आफ्नो बाल्यावस्था बितेको रक्सौल र वीरगञ्ज लगायत कुनै बेला राग र तानले रनघन भइरहने तर आज धुस्रोफुस्रो पर्यावरण ओढेर विकलाङ्गजस्तै उभिएको आफ्नो ससुराली गाउँ 'पदमपुर' को कथा कोट्याउनु हुन्छ। सामन्ती संस्कारमा आकण्ठ डुबेको पदमपुर गाउँको कथा नै उहाँको उपन्यास 'यहाँदेखि त्यहाँसम्म' को प्रेरणा हुनसक्ने लख काट्न पाठकलाई गाह्रो पर्दैन। निमन्त्रणा स्वीकारेर होस्, राजाको काम लिएर होस् वा समारोहमा भाग लिन होस्, आफू पुगेको स्थानबारे चाखलाग्दो विवरण उहाँ यात्राविशेष संस्मरणहरूमा पस्कनुहुन्छ। गोतामेको कलमको अर्को विशेषता के पनि हो भने, उहाँ संस्मरणभित्र पनि उपयुक्त उपकथा जोडेर पाठकलाई रनभुल्लमा पर्नबाट जोगाउनुहुन्छ। यात्राविशेष संस्मरणका साथै सङ्ग्रहका अन्य संस्मरणहरूमा ध.च. को यस विशेषताको स्वाद चाख्न पाइन्छ। त्यस्तै, व्यक्तिविशेष संस्मरणमा उहाँ इतिहासले सधैँ सम्झिरहने अग्रज व्यक्तित्वहरूका साथै आफ्नो पुरानो साथीसँगको सम्झनाको पोको खोतल्नुहुन्छ। इतिहासशिरोमणि बाबुराम आचार्य, शिखर-पुरुष मनमोहन अधिकारी र घनिष्ट मित्र श्यामप्रसाद शर्मा सम्झनाको अन्तरकुन्तरबाट झुल्कनुहुन्छ र संस्मरणकारका साथै पाठकको मस्तिष्कमा पनि सानो हस्तक्षेप गरेर जानुहुन्छ। ... अहिले विद्यामा थोरै वृद्धि हुँदा म सोच्ने गर्छु - 'धनुषचन्द्र गौतम संस्मरण विधाका महारथी हुन्।'
मलाई संस्मरण खासै मन पर्दैन। तर मदन पुरस्कार विजेता उपन्यास "घामको पाइला" पढे लगत्तै म ध च गोतामेको यति ठूलो फ्यान भएछु की, उनको सबै कामहरू आँखा चिम्लेर किन्न थालेँ। यही सनकमा उनको संस्मरणहरू पनि पढ्न थालेँ । वाह संस्मरण लेख्ने शैली, भाषिक मिठासले यति मन्त्र मुग्ध बनायो की, उनलाई म गर्वको साथ "संस्मरण विधाका राजा" भन्न चाहन्छु।
उनी बाहेक मलाई, उनकै भाई ध्रुव चन्द्र गौतमको संस्करणहरु मन पर्छ। त्यो बाहेक कतिपय चलनचल्तीका लेखकहरूको संस्मरण त खरिद गरेँ। तर १०-२० पाना पढेर अधुरै र्याकमा थनकाएँ। त्यसैले संस्मरण विधामा कलम चलाउनु हर कोइको वशको कुरा होइन
आरोह- अवरोह संस्मारण विधामा लेखिएका निबन्धहरूको संग्रह हो । यसमा खोट लगाउनुपर्ने ठाँउ कतै देख्दिनँ।