धेरै प्रचारप्रसार र 'लाइमलाइट' बाट टाढै बस्न रुचाउने लेखिका सानु शर्माको लेखनले मलाई कहिले पनि निराश तुल्याएको छैन। उनको लेखनमा पाइने ओज र सघनता यति प्रभावशाली हुन्छ कि कृति पढिसकेपछि पनि त्यसको प्रभावले लामो समयसम्म पछ्याइरहन्छ। उनको पछिल्लो उपन्यास "फरक" ले पनि त्यस्तै गरिमामय ओज बोकेको छ। यो उपन्यास यति पठनीय र रोचक छ कि झन्डै ६ घण्टाको छोटो अवधिमै मैले यसलाई पढेर सिध्याएँ। उनका अन्य कृतिहरूमा झैँ यस उपन्यासमा पनि 'डिटेलिङ' पक्ष निकै सशक्त छ। उपन्यासका हरेक पात्रहरूको उपस्थिति दमदार र जीवन्त लाग्छ।
अब जाउँ उपन्यासका विषयवस्तु तिर -- उपन्यासको कथा एक धनाढ्य पुरुषको वरिपरि घुम्छ, जो आफ्नो खल्लो वैवाहिक जीवन र पत्नीको रुखो व्यवहारका कारण भौँतारिएका छन्। यही मानसिक अवस्था र मदहोशीमा उनी एक नगरवधूसँग नजिकिन पुग्छन्। यो सामीप्यतासँगै उनको जीवनमा नाटकीय परिवर्तनहरू आउन थाल्छन्। एकातिर उनी ती नगरवधूप्रति आशक्त हुँदै जान्छन् भने अर्कोतिर उनकै परिवार, पत्नी, आफन्त वा साथीभाइमध्ये कोही उनलाई मार्ने षड्यन्त्र बुन्न थाल्छन्। हत्याको योजना कसले बनाइरहेको छ भन्ने कुराको भेउ पाउन पाठकलाई अन्त्यसम्मै कठिन हुन्छ, जसले उपन्यासको कौतुहलतालाई कायमै राख्छ।
प्रेम, रोमान्स र रहस्य (मिस्ट्री) विधाको यो उपन्यास पढिरहँदा कथा र पात्रहरू आफ्नै आँखा अगाडि चलिरहेको चलचित्र झैँ भान हुन्छ।
समग्रमा, "फरक" एक अत्यन्तै उत्कृष्ट र पठनीय उपन्यास हो। यदि तपाईं रहस्य र प्रेमको अनौठो मिश्रण खोज्दै हुनुहुन्छ भने यो कृति छुटाउनु हुँदैन।