Nayan Raj Pandey's Blog

March 27, 2017

मेरो लेखन मभित्रको डरको उपज हो ।

मेरो लेखन मभित्रको डरको उपज हो ।
नयनराज पाण्डे

‘उलार’ भन्दा अगाडि मेरा तीनवटा साना काँटीका उपन्यासहरु प्रकाशित भैसकेका थिए । मेरा अघिल्ला दुई उपन्यास २०४१ सालमा र तेस्रो उपन्यास २०५० सालमा प्रकाशित भएका हुन् । ती तीनै उपन्यास पनि मलाई प्रिय छन् । ती उपन्यास अमूर्त र प्रयोगात्मक लेखनको धङधङीमा लेखेको थिएँ मैले । पहिलो उपन्यास ‘नांगो मान्छेको डायरी’मा मैले एउटा बेरोजगार अभिभावकको समस्या र आर्थिक कारणले धराशायी बन्दै गएका सम्बन्धहरुको बारेमा लेखेको थिएँ । दोस्रो उपन्यास ‘विक्रमादित्य एउटा कथा सुन’मा सिंगै विश्व शरणार्थी शिविरमा परिणत भएको तानाबाना बुनेको थिएँ । तेस्रो उपन्यास ‘अतिरिक्त’मा तेस्रो लिंगी पात्रले परिवार र समाजबाट भोगेका समस्याहरु खोतल्ने प्रयास गरेको थिएँ । यी तीनवटै उपन्यासमा व्यक्ति र परिवारका कुरा त छन् तर हाम्रो समाजको चित्र त्यति सबल नभएको आभास हुन्छ मलाई अहिले । ती अभ्यासरत् लेखनका क्रममा आएकाले पनि समाजलाई हेर्ने, बुझ्ने मेरो दृष्टिकोण उति बलियो नभएको पनि हुनसक्छ । तर, उलारमा आएर मलाई आफू समाजसित, समाजका समस्याहरुसित र समस्या निर्माण गर्ने समाजभित्रका अवयवहरुका बारेमा अलिक बढी सचेत र जानकार हुन पुगेको हो कि भन्ने आभास हुन्छ । हामीले बेहोरिरहेको फोहर राजनीति,त्यसले आम मान्छेमा पारेको प्रभाव मधेशी चरित्र र मधेशको परिवेश मार्फत् ‘उलार’मा अभिब्यक्त भएका छन् । मभित्र मेरो समाज र समाजभित्रको विसंगत राजनीतिलाई हेर्ने दृष्टिचेत भने २०४६ सालको राजनीतिक परिवर्तन र त्यस आसपासका गतिविधिकै कारण आएको हो । उलारसम्म आउँदा त्यो दृष्टिचेत केही बढ्ता सफा भएको हुनुपर्छ । ठोसरुपले भन्दा उलार मेरो लेखनप्रवृत्तिको टर्निंग प्वाइन्ट पनि हो ।
उलार लेखनको बीस वर्ष हुँदा मेरा मनभित्र एउटा बलियो प्रश्न जन्मिएको छ । उलार कसरी मेरो उपन्यास लेखनको विषय भयो ? यो प्रश्नको जवाफ मैले अरुबाट पाउँदिन । मैले मेरै अन्तर्मनलाई सोध्ने र त्यसैले जवाफ दिने प्रश्न हो यो । हरेक सचेत लेखकले बेलाबेलामा आफैँसित यो प्रश्न गर्छजस्तो मलाई लाग्छ । लेखकले हावामा विषय चयन गर्दैन । उसका विषय चयनका केही निश्चित आधार अवश्यै हुन्छन् । लेखकको आफ्नो भूगोल अनि समाजसितको जुडाव, उसको अध्ययनको परिपाटी, उसको निजी आनीबानी र संस्कार, उसको आफ्नो परिवार र समाजका विविधपात्रहरुसितको संगत र सहकार्य, उसले आफू बसेको समाजले बेहोरिरहेको आर्थिक, साँस्कृतिक र राजनीतिक गतिविधि, त्यसमा उसको सचेतता र सहभागिताजस्ता कुराबाट लेखकका लागि उसको लेखनका प्राथमिकताहरुको निर्धारण हुन्छन् । लेखन त्यसैले सामाजिक प्रतिवद्धता पनि हो । मेरो समाजसित चेतन या अवचेतनमा मैले गरेका संवाद, मैले राखेका अपेक्षा र मैले गरेका वाचाहरु नै मेरो लेखनमा प्रतिविम्बित हुने रहेछन् । उलार सायद त्यसैले मेरो लेखनको विषय बन्न आइपुगेको हो ।
र एउटा अर्को कुरा । नेपालगन्ज बसुन्जेल मैले त्यहाँको जनजीवन र समस्याहरुका विषयमा उति धेरै केही लेखेको जस्तो लाग्दैन । त्यतिन्जेल म ब्यक्तिका मनोगत समस्या र कुण्ठाहरु बढ्ता लेख्थे । तर काठमान्डौ आएपछि मैले आफूभित्र नेपालगन्ज पनि लिएर आएछु । जसरी अध्ययनका लागि घरबाट टाढा आएको एउटा विधार्थीलाई शुरुशुरुमा घरका सम्झनाले बिछट्टै सताएर ‘होमसिक’ भैरहन्छ । मलाई पनि त्यसै भयो । ‘होमसिक’ त चाँडै निको भयो । तर नेपालगन्जप्रतिको आशक्ति मेरो मनभित्र अझ प्रबल बनेर आयो । म राजधानीमा बसेर प्रत्येकपल नेपालगन्जका गल्लीहरुमा रुमल्लिन थालेँ । नेपालगन्जमै बसेर मैले नदेखेका नेपालगन्जका दृश्यहरु राजधानी छिरेपछि झन् प्रखर र स्पष्ट भएर आए । सायद नोस्टाल्जियाकै उपज हो उलार । त्यो नोस्टाल्जिया आज पर्यन्त मभित्र कायम छ । 
००
अरविन्द अडिगाको बारेमा खुशवन्त सिंहले भनेका थिए‘अडिगाले समाजको गरिबी बाहेकको मुहार पनि पहिल्याउनु पर्छ ।’ यथार्थवादको नाममा सधैँ गरिबी,पीडा र समाजका निरीहता नै लेखिरहनेहरुका लागि व्यंग पनि होला यो । यथार्थवादको यति नै सीमितता हो भने साहित्यको विस्तार र विस्तृतिको लागि यो घातक पनि हुनसक्छ । मलाई प्रखर कल्पनाशीलता पनि मन पर्छ । त्यसैले यथार्थवादले डुबायो भन्ने कुमार नगरकोटीका रचना पनि मलाई प्रिय लाग्छन् । यथार्थलाई जब वादको घेराभित्र सिंगारपटार गरेर कैद गर्छौँ, त्यतिबेला खुशवन्त र नगरकोटीको चिन्ता जायज लाग्छ । तर वादबाट फुत्किएर यथार्थले जब आफ्नो सक्कली हैसियत देखाउँछ, त्यसपछि त्यसबाट कुनै लेखक विमुख या विरक्त भएजस्तो मलाई लाग्दैलाग्दैन । यथार्थको जमिनमा नटेकी त कल्पनाको उडान भर्न पनि सकिन्न । चंगा त जमिनमै बसेर उडाउने हो । चंगा उडानको असली मजा तब हुन्छ, जब हामी जमिनबाट उडाएर त्यसलाई फेरि जमिनमै अवतरित गराउँछन् । चेट भएर अनियन्त्रित भएर कहाँ खस्छ भन्ने ठेगान नभएको चंगाको उडान एकछिन त रोचक लाग्ला । तर जब चंगा आँखाबाट ओझेल हुन्छ र त्यसको नियतिका बारेमा अनभिज्ञ भइन्छ, चंगा उडानको सम्पूर्ण सौन्दर्य खलास भएर जान्छ । सिर्जना त्यस्तै उडान हो । एकैपटक घागो छाडिदिएर बत्तिएको चंगा हेर्न मजा आउँछ । तर त्यो खस्नै लाग्दा त्यसलाई फेरि तनक्क तन्काएर आफ्नो नियन्त्रणमा राख्दाको सन्तुष्टि अतुलनीय हुन्छ । सिर्जनाले त्यही सन्तुष्टि खोज्छ । तर यथार्थवादको नाउमा जब हामी समाजका घटनाक्रमहरुलाई बिना कौशल, बिना शिल्प सपाट ढंगले अखबारीको वासी फिचर या समाचारझैँ जस्ताको तस्तै प्रस्तुत गर्न थाल्छौँ तब यथार्थ एउटा सूत्रवद्ध लेखनीमा रुपान्तरित हुन्छ । त्यसैले यथार्थवादको नाममा हामीले प्राणहीन र अखबारी लेखनबाट मुक्त त हुनैपर्छ । हाम्रो लेखन आफ्नै पूर्ववर्ती लेखनको बिस्तार या एक्सटेन्सनबाट मुक्त हुनुपर्छ । एउटै खालको जडता र रिपिटेशनबाट मुक्त हुनुपर्छ । यथार्थ लेखौँ, तर त्यसको प्रस्तुति, शिल्प र शैलीमा नवीनता र निजता होस् । त्यसपछि मात्र सिर्जनाले पाठकको मनमा पार्ने असर बलियो र स्थायी हुन्छ । पाठकले जब साहित्य पनि अखबारको समाचारझैँ पढ्छ, साहित्य त्यतिबेला पक्षाघातले ग्रस्त हुन्छ ।
म पनि चाहन्छु, मेरो लेखनको केन्द्रमा समाकालीन समाज स्थापित होस् । समाजबाटै म मेरो लेखनको सामग्री एकत्रित गर्दछु । तर ती समाग्रीहरुको संयोजन र प्रस्तुतिमा मेरो निजीपन कतै न कतैबाट प्रकट होस् भन्ने चाहना हिजो पनि मभित्र थियो, आज पनि छ र भोलिका दिनहरुमा पनि रहने छ । यथार्थलाई नभोगी कल्पना पनि गर्नै सकिन्न । जीवनजगतका दृश्यहरुलाई नदेखी सपना पनि देख्न सकिन्न । दृश्यवान जगतलाई नबुझी मनोजगतमा अलिकति पनि विचरण गर्न सकिन्न । त्यसैले यथार्थको सहयोगबिना कल्पनाको उडान गर्ने दावी कुनै लेखकले गर्छ भने त्यो साहित्यमा स्थापित हुने चोर बाटोमात्र हो । एकछिनको रुमानी प्रलापमात्र हो । विश्वमा प्रतिदिन सयौँ, हजारौँको संख्यामा किताबहरु प्रकाशित हुन्छन् । मैले लेख्दै गरेको यही क्षणमा पनि हजारौँ लेखकले आफ्ना भावनाहरुलाई लिपिवद्ध गरिरहेका होलान् । जति लेखे पनि , जति किताब सार्वजनिक भए पनि, फेरि पनि लेख्नका लागि समाजका धेरै कुरा शेष रहेकै हुन्छन् । म त्यही बाँकी बचेको कुरा पहिल्याउन प्रयत्नशील छु ।
आज उपन्यासलेखनको तीस वर्ष र उलार लेखनको बीस वर्ष पूरा गरिसक्दा मैले बुझेको एउटै कुरा हो, हरेक लेखकमा समयवोध हुनुपर्छ । आफ्नो समयमा उसको हस्तक्षेप र उपस्थिति देखिनुपर्छ । जुन लेखकले आफ्नो समयमा हस्तक्षेप गर्दैन, समयले बिस्तारै उसलाई किनारातिर हुत्याइदिन्छ ।
म समयको नदीमा तैरन अझै सिपालुु भैसकेको छैन । तर मलाई यो नदीको भंगालोसित हैन, किनारासित डर लाग्छ । मेरो हरेक लेखन मभित्रको यही डरको उपज हो । 
 •  0 comments  •  flag
Share on Twitter
Published on March 27, 2017 01:10

मेरा केही अन्तर्वार्ताहरु

सानो लेखक, ठूलो कुरा
सानो लेखक हुँ । तर पनि मेरा केही अन्तर्वार्ताहरु प्रकाशित भएका छन् । कमजोर नै सही, ती अन्तर्वार्तामा मेरा विचार र रुचिहरु प्रकट भएका छन् । मेरा चाहना, सपना र रहरहरु पनि प्रकट भएका छन् । सबै अन्तर्वार्तालाई बेग्लाबेग्लै छाप्नु भन्दा ती मध्येबाट केही प्रश्न र ती प्रश्नका मेरा जवाफ छानेर यहाँ राखेको छु । मित्र जीके पोखरेल (नागरिक शुक्रवार), फणीन्द्र संगम (नागरिक दैनिक), दीपशिखा (खबरडबली) र रोहित खतिवडा (विरेचन) सित भिन्न समयमा भएका कुराकानीका अंश हुन् यी । प्रिय पाठकहरुलाई म, मेरो लेखन र मेरो सोचलाई बुझ्न थोरै भए पनि यी प्रश्नोत्तरहरु काम लाग्लान् ।
००
दीपशिखा—साहित्यकारको रुपमा तपाईँको परिचय के हो ?
म केही सपनाहरु बोकेर साहित्यको राजमार्गमा लुखुरलुखुर हिँडिरहेको आम मान्छे हुँ । सपनाको भारी जति गरुंगो अरु केही हुन्न । तर म कतै कुनै मोडमा पनि यो भारी बिसाउन चाहन्न । कुनै सुस्केरा नहाली, आँखामा भारी भारी सपनाहरु बोकेर हिँडिरहेको कुनै पथिकलाई देख्नु भयो भने ठान्नुस्, त्यो मै हुँ । त्यो पथिकले आफ्नो जे परिचय दिन्छ त्यही मेरो परिचय हो ।
दीपशिखा—समकालीन लेखनमा तपाईँको प्रतिस्पर्धा कोसित छ ?
म अरुसित आफूलाई कहिले पनि दाँज्दिन । मेरो प्रतिस्पर्धा सधैँ मसितै रहन्छ । म आफ्नो रुचि र चाहनाले साहित्यको महासागरमा छु । म यहाँ आफ्नै तालमा पौडिरहेको छु । मलाई स्विमिंगको प्रतिस्पर्धामा भाग लिनु छैन ।
दीपशिखा—के आफ्ना पाठकहरुसित कुनै अपेक्षा राख्ने गर्नु हुन्छ ?
अपेक्षा त सधैँ पाठकसितै राख्नुपर्छ । किनभने म जे लेख्छु, प्रकाशित भैसकेपछि त्यो पाठककै हो । तर हरेक पाठकको आफ्नै बुझाई हुन्छ । एउटा पाठकलाई राम्रो लागेको कुरा सबैलाई राम्रो लाग्छ भन्ने हुँदैन । तर मेरो प्रयत्न भने सम्वेदनाको तहमा पाठकसित एउटा संवाद कायम गरुँ भन्ने सधैँ रहन्छ । त्यही सम्वादले पाठक र लेखकलाई निकट ल्याउँछ ।
दीपशिखा—पाठकका पनि त तपाईँसित केही अपेक्षाहरु होलान् नि ? के ती पूरा गर्नु भएको छ ?
पाठकहरुका पनि मबाट पक्कै अपेक्षाहरु छन् । मेरा पाठक मबाट जिम्मेवार लेखनीको आसा गर्नु हुन्छ । आम मान्छेका सुख, दुःख, उसका चाहना र त्यो चाहना प्राप्तिको क्रममा उसले भोगिरहेका कष्टहरु मेरो लेखनमा देख्न चाहनु हुन्छ । मलाई किन किन त्यो चाहनाको सम्मान गर्न मन लाग्छ ।
दीपशिखा—साहित्य कति हदसम्म जीवनको नजिक हुनुपर्छ ?
साहित्यमा चरित्रहरु हुन्छन् । ती समाजका प्रतिनिधि चरित्र हुन् । चरित्रका आफ्ना भोगाइहरु हुन्छन् । भोगाइबाटै उसको जीवनदर्शन निर्माण हुन्छ । त्यसैले असल साहित्यमा जीवनका कुराहरु हुन्छन् । साहित्यबाट जीवनका कुराहरु गायब भएको दिन त्यो साहित्य रहँदैन । केही अरु थोकनै हुन्छ । मलाई भने साहित्य नै लेख्नु छ ।
दीपशिखा—लेखनको विषय कसरी छान्नु हुन्छ ?
विषय त थुप्रै हुन्छन् । जे विषयमा पनि लेख्न सकिन्छ । तर समाज र मान्छेसितको सम्बन्ध र सरोकारले मलाई कस्तो विषय चयन गर्ने भन्ने आधार तयार गर्छन् । त्यसैले म दिमागमा आयो भन्दैमा सबै कुरा लेख्न सक्दिनँ । त्यसैले विषय भेट्नु भन्दा पनि बिषय र समाजको सम्बन्धको सेतु खोज्नु मेरालागि गाह्रो काम हो ।
दीपशिखा—तपाईँको लेखनको प्राथमिकता के हो ? समाजलाई कति प्राथमिकता दिनु हुन्छ ?
समाजप्रति अलिकति पनि जिम्मेवारीवोध गरेर लेख्नेले आफ्नो लेखनको आफैँले प्राथमिकता तोक्छ । कसैलाई पनि हामीले यही विषयमा लेख्नुपर्छ भनेर डिक्टेट गर्न सक्दैनौ । तर म चाहन्छ, लेखिने विषयले कतै न कतै हाम्रो धरातललाई स्पर्श भने गरिरहोस् । धरातल गुमाएको लेखनी अर्थहीन हो मेरालागि ।
दीपशिखा—साहित्य केका लागि पढ्नुहुन्छ ?

कस्ता विषयहरुमाथि कसरी लेखिँदैछन्, हाम्रा र अरुका साहित्यले अहिले कस्ता खालका विषय उठाइरहेका छन् भन्ने जानकारीका लागि पनि पढ्छु म । अरुहरुले लेखेको पढेर मैले कस्तो लेख्नु पर्छ भन्ने ज्ञान पाउँछु म । खासमा म आफूले कसरी लेख्ने भनेर सिक्नका लागि पढ्छु । त्यसबाहेक अरुले सिर्जना गरेको संसारमा प्रवेश गर्नु एउटा आनन्ददायक कुरा पनि हो । त्यो आनन्दका लागि पनि पढ्छु ।

दीपशिखा—अहिलेसम्म पढेकामध्ये सबैभन्दा बढी प्रभाव पार्ने पुस्तक ?

धेरै छन् । कथानकको बिस्तार, चरित्रहरुको विविधता, असंख्य घटनाहरुको सुरुचिपूर्ण संयोजनको कलालाई बुझ्नका लागि मजस्तो उपन्यासको विधार्थीले “युद्ध र शान्ति” पढ्नै पर्छ ।  तर, एउटै किताबको नाम लिनु पर्दा भने गोर्कीको ‘आमा’को नाम लिन रुचाउँछु म । आमाको परिवेश मलाई हाम्रो परिवेशसित नजिक लाग्छ । त्यसको कथानकसित मेरो भावना जोडिएजस्तो लाग्छ । त्यसका पात्रमा आफ्नै छेउछाउका परिचित अनुहार देख्छु । पाठकको रुपमा वीपीको मोदीआइन् मन पर्छ र लेखकको रुपमा उनको हिटलर र यहुदी मन पराउँछु । हिटलर र यहुदीमा एउटा आख्यानकारमा हुनुपर्ने क्राफ्टम्यानसिप देखिन्छ । विधार्थी बेलामा पढेकोले होला बसाइँ र मुनामदनले अवचेतनमा खुब प्रभाव पारेका छन् । त्रासदीहरु र त्यसबीचमा पात्रहरुले निर्धारण गर्ने संघर्षशील भूमिकाका कारण कामुको प्लेग र डोमिनिक लापियरको सिटी अफ ज्वाय खुब मन पर्छ । सानो उपन्यासमा मान्छेको जिजीविषा र संघर्षको महागाथा अटाएकोले हेमिंग्वेको द ओल्ड म्यान एण्ड सी खुब मन पर्छ । यी सबैले कतै न कतै मेरो लेखनमा पनि प्रभाव पारेका छन् ।
००


द कान्तिपुर पोष्ट—पुस्तकबिनाको जीवनको कल्पना गर्नुहुन्छ ?

पुस्तक बिनाको जीवन पनि हुन्छ । संसारका अरबौ दुःखी गरिबहरु अक्षर नचिनेरै मरिरहेका छन् । तिनीहरु आफू त पुस्तकको विषय बनेका छन् । तर तिनको जीवनको प्राथमिकतामा पेट पर्छ, पुस्तक पर्दैन । तर म भने “के पुस्तक बिनाको जीवन हुन्छ ?” भन्ने यस्तो प्रश्न मेरा अगाडि तेर्सिँदा कहालिन्छु । एकदम आतंकित हुन्छु । तर पक्का हो, पुस्तक बिना पनि म मरिहाल्ने थिइनँ । मेरा प्राथमिकता अरु नै केही हुने थिए सायद । किताबप्रति रुचि र चासो नभएको भए म लेखक पनि हुने थिइन् । कानुन पढेको थिएँ, त्यसैले वकील भएर बहस पैरवी गरिरहेको हुन्थेँ होला । किताब नपढ्ने भएपछि सिर्जनात्मक भोक पनि हुने थिएन । त्यसैले पैसाको भोको भएर जग्गा दलाली गरिरहेको पनि हुनसक्ने थिएँ । जे होस्, किताब बिनाको जीवन पनि हुन्छ र म आफू अनुकूलको कुनै जीवन बाँचिरहेको हुने थिएँ । किनभने बाँच्नु सामान्य कुरा हुँदै होइन । बाँच्नु आफैमा जीवनका सारा प्रतिकुलताहरुसितको लडाइँ पनि हो । म सायद त्यही लडाइँमा पूरा ऊर्जाका साथ संलग्न भैरहने थिएँ ।

०००

जिके—राजनीतिक चिन्तनका आधारमा तपाईं वामपन्थी होइन । तर, तपाईले आजभन्दा बीस वर्षअघि लेखेको ‘उलार’मा प्रगतिशीलताको ‘मानक’ र चुडान्त चित्रण छ । यो कसरी सभ्भव भयो त दाइ ? आजको परिस्थितिका ‘राजेन्द्र बाबु’ र ‘शान्तिराजा’ सरकारवादीहरु हुन् कि मधेसवादी ?
         सिमान्तीकृत र आम जनताका दुःखपीडाका कथा वामपन्थीहरुले मात्रै लेख्नुुपर्छ भनेर कतै कुनै सिद्धान्त प्रतिपादित भएजस्तो लाग्दैन मलाई । तर हामीकहाँ चाहिँ यो भ्रम लेखक र बुद्धिजीवीहरुमै बढ्ता हावी भएको छ । म जब सचेत रुपमा लेखनमा संलग्न भए मलाई सतहमा थेग्रिएका मानिसका सरोकारका बारेमा लेख्नुपर्छ भन्ने लाग्यो । मेरो सोच र चेतनामा तिनै पात्र र तिनकै जीवनले हस्तक्षेप गर्न थाले । जहाँसम्म शान्तिराजा र राजेन्द्रबाबुजस्ता पात्रहरुको कुरा छ । समाजमा ती उहिले पनि थिए, आज पनि छन् । फरक के छ भने, अहिले उनीहरु प्रगति या समाज रुपान्तरणका बाहेक बनेका नेपालका राजनीतिक दलभित्र पनि घुसपैठिया भएर पसेका छन् र त्यहीँ बसेर जनताको नाममा जनताकै उछित्तो काढिरहेछन् । उनीहरु मौका मिले प्रगतिशील पनि बनिदिन्छन्, कैले घोर प्रजातन्त्रवादी र अवसर पाए मधेशवादी पनि बनिदिन्छन् । समाजमा सायद यस्ता केही खराब र धेरै असलबीचको द्वन्द चलिरहन्छ । त्यही द्वन्द नै मेरो लेखनमा कथानक बनेर आएका हुन् ।

जिके—तपाईको ‘उलार’ उदयप्रकाशको ‘मोहनदास’बाट प्रभावित छ भन्नेहरु पनि छन् नि ।
         हो र ? भन्नेहरु छन् ? धन्यवाद उहाँहरुलाई । जे होस्, मैले चाहिँ उलार लेखेको आज बीस वर्षपछि पहिलोपल्ट यो कुरा सुने । सायद अरुले शिष्टतावस मलाई यो आरोप नलगाएको हुनुुपर्छ ।  र आज, उलार लेखनको बीस वर्षपछि पहिलोपल्ट म खुसुक्क तपाईँलाई मात्र भन्छु, वास्तवमा समाजका पिँधमा रहेका चरित्रहरुबारे जजसले लेखेका छन्, उलार ती सबैबाट प्रभावित छ । प्रभावित हुने यो क्रम आज पनि चलिरहेछ । खुसी छु, कि यसलाई दया गरेर चोरी भनिदिनु भएन तपाईँले । जबकि प्रेमलाल, द्रौपदी, कलुवा, ननकउ यी सबै पात्र मैले मेरो समाजबाट चोरेकै हुँ । तर, यसमा म कसैसित क्षमा माग्दिनँ । समाजका बन्द र वर्जित ढोकाहरु फोडेर मलाई अझै धेरै कुरा चोरी गर्नु छ अझै । त्यसैले म ढुक्कले भन्न सक्छु, मैले इमान्दार हुने ठेक्का लिएको छैन । इमान्दारहरु सत्ताको भजन लेख्छन् । म जस्ता चोरहरु प्रेमललवा, द्रौपदी र इलैयाका कथा लेख्छन् । त्यस्ता चोरहरु मेरा आदर्श हुन् । साहित्यको इजलासमा तपाईँले मलाई सधैँ ती चोरहरुको पैरवी गरिरहेको भेट्नु हुनेछ ।
         यो प्रश्नको अन्त्यमा म तपाईँ मार्फत उलारलाई मोहनदासबाट प्रभावित छ भन्ने साथीभाइहरुलाई सानो जानकारी पनि दिन चाहन्छु । उसरी नै । खुसुक्क । उलार उदयप्रकाशको मोहनदासभन्दा करिब दश वर्ष जेठो छ । मोहनदास सन् २००६ मा छापिएको हो । उलार सन् १९९६ मा । तर कृपया, उदयप्रकाशलाई मोहनदास उलारबाट प्रभावित भएको हो ? भन्ने प्रश्न नगर्नु होला । उनी हाँस्ने छन् ।
     
   जिके—तपाईंले ‘लु’ मा इलैयालाई ‘साउथ इन्डियन सिनेमा’को हिरोजस्तै रातारात ‘हिरो’ बनाउनुभएको छ । त्यसरी मान्छेले सामाजिक जीवनमा आफ्ना गलत विचार र व्यवहार ‘ज्युँ का त्युँ’ भुलेर ‘नायक’ बन्न सक्छ र ?

         अँ, खासमा मैले लू एकहजार पृष्ठको लेख्नु पथ्र्यो । त्यसो गरेको भए म इलैया हिरोमा रुपान्तरित हुनुुका अरु बडेमानका कारणहरु पनि उल्लेख गर्न सक्थेँ । तर मैले लू लाई धेरै मोटो बनाउन चाहिनँ । त्यसैले होला इलैयामा तपाईँले मधेशको आम युवा नदेखेर साउथ इन्डियन हिरो देख्नु भयो । खासमा, मैले लगाएको चश्मा र तपाईँको चश्मामा केही फरक परेको हुनसक्छ । त्यसैले त मैले इलैयामा गाउँघरमा हुने नौटंंकी र सर्कसहरुबाट अत्यधिक प्रेरित युवा देखेँ, तपाईँले बाहुवलीको हिरो देख्नु भयो ।  यो न तपाईँको दोष हो, न मेरो । सब चश्माको करामात हो ।

      जिके—तपाईंकै ‘उमेर समूह’का र ‘तहका’ लेखकहरु केही वर्ष राजनीति गरेर किन समानुपतिक सभासद् कि त ‘प्राज्ञ’ बाले लाइनमा लाम्बद्ध छन् । यस उपक्रममा तपाई उति भिडेजस्तो त लाग्दैन । कि भित्रभित्रै प्रयास गरिरहनु भएको छ ?

         मैले सभासद या प्राज्ञ बन्ने तहको लामो राजनीति गरिनँ । त्यो धैर्यता मभित्र छैन । एकदमै अस्थिर स्वभाव छ मेरो । मलाई सिर्जनामै मजा लाग्छ । सत्ता या सरकारको चाकरी नगरेर आजसम्म कुनचाहिँ व्यक्तिले प्राज्ञ हुने सौभाग्य पाएको छ र ? मलाई एक जनाको नाममात्र पनि बताइदिनु भयो भने धन्य हुनेछु । नेपालका मै हुँ भन्ने साहित्यकारलाई मैले नेताहरुको दरबारमा लम्पसार परेको देखेको छु । त्यो हदसम्मको चाकडी गर्ने ल्याकत मेरो छैन । रहर पनि छैन ।
      जिके—‘घामकिरी’पछि तपार्इँको लेखन खस्किएको हो कि तपाईको किताबको बजार ? कि पाठकले म्याजिकल रियालज्म नबुझेर त्यस्तो भाको हो ?

        पाठकलाई किन दोष ? मेरै लेखनको कमि कमजोरी होला नि । तर घामकिरी मेरो प्रिय उपन्यास हो ।  बजार र बिक्रीलाई सफलताको मानक मान्नु हुन्छ भने घामकिरी उलारभन्दा निकै बढी बिकेको उपन्यास हो । तर बिक्रीलाई सफलताको या असल लेखनको मानक बनाउने पक्षमा म रहिनँ । घामकिरीमा मैले एउटा औसतजस्तो लाग्ने लहडी प्रेमकथाको माध्यमबाट समाजमा पूँजीबजारले उत्पादन गरेका विषालुु सपनाहरु र त्यस्ता सपनाहरुको एडिक्ट भएकाहरुका कथा भन्न खोजेको हुँ । मैले त्यसमा पनि उपेक्षित समाज र पात्रकै कुरा गरेको छु । हो, कसैलाई घामकिरीमा मैले कथा भन्न रोजेको शिल्प मन नपरेको हुनसक्छ । कतिलाई त्यही शैली र शिल्प नै बेजोड पनि लागेको पनि छ । केही समीक्षकले त उलारलाई पनि झूरै भनेका थिए कुनै बेला । प्रकाशनको दशबाह्र वर्षपछि यसलाई असल उपन्यास ठान्ने पाठकहरु निस्कनु भयो । म समीक्षकको हैन, पाठकहरुको माया पाएको लेखक हुँ । मेरो ऊर्जा नै मेरा पाठकहरु हुनुहुन्छ । समीक्षक त मेरोलागि ट्राफिक पुलिसजस्ता हुन्, उनीहरु सिटी बजाइरहन्छन्, म हिँडिरहन्छु ।
      जिके—नेपाली लेखक सेलिब्रेटी भइसके पछि मैले जेलेखे पनि पढि हाल्छन् नि भन्ने मनोग्रथिका सिकार हुने गरेको  पाइएको छ । तपाईको घामकिरीमा भएको त्यही त होइन ?
         म अचेल माइक्रोबसमा खुब हिँड्छुु । एकआध घटनाबाहेक मलाई कसैले चिनेको छैन । म ढुक्कले सडक छेउको मम पसलमा बसेर मम खान्छु । बारा र चटामरी खान्छु । मैले मम, बारा र चटामरी खाइरहँदा प्रायः मलाई लेखक भनेर कसैले चिनेको थाहा छैन । म फुटपाथमा कतिपल्ट बदम छोडाउँदै या मकै खाँदै हिँड्छु । तर कसैले मलाई प्रायः बिथोलेको छैन । अनि म कसरी सेलिब्रेटी भएँ ? मलाई मेरो निजी स्वतन्त्रता हनन गराएर सेलिब्रेटी हुुनु पनि छैन र सेलिब्रेटी भएँ भन्ने भ्रम पनि छैन । अर्को कुरा, पाठकलाई अन्डरइस्टिमेट गर्न मिल्दैन । उहाँहरुले जे पनि पढ्नुु हुन्न । अझ साहित्यका पाठकहरुले त आफूलाई रुचिकर लाग्ने र उहाँहरुभित्रको सिर्जनात्मक पठनलाई तुष्टि गर्ने कुरा नै पढ्न रुचाउनु हुन्छ । जहाँसम्म घामकिरीको कुरा छ, मलाई आफ्नो यो लेखन पनि प्रिय लाग्छ । असंख्य पाठक हुुनुहुन्छ, जसलाई मेरो सबैभन्दा राम्रो उपन्यास नै घामकिरी लाग्छ । मैले खराब लेखेँ भनेर म ती आदरणीय पाठकहरुको मन कसरी दुखाउन सक्छु ? म बजारका लागि लेख्दिनँ । स्वान्तसुखायका लागि पनि लेख्दिनँ । लेख्नुका केही कारणहरु छन् मसित । म ती कारण बुझ्ने पाठकहरुको लागि लेख्छु । म आफ्नो समयसित गुनासो गरेर बसिरहन चाहन्नँ, म समयसित झगडा गर्न रुचाउँछु । किनभने लेखन मेरोलागि लडाइँ हो । धरातल गुमाएको रुमानी कल्पनाशीलता मेरो रुचिको विषय होइनँ । त्यसैले म मेरो झगडा र मेरो लडाइँमा मलाई साथ दिने पाठकहरुका लागि लेख्छु ।
         जिके—तपाईले प्रायः मधेस’ र ‘मधेसी जीवन लेख्नुभयो । मधेसी मूलका लेखक नभएको हो कि मधेसी मूलका लेखकका कृति नपढिएको ?
         मलाई मधेशका बारेमा लेख्न सहज लागेकोले मेरा रचनामा मधेश धेरै आएको हो । अरु परिवेशका बारेमा पनि सहज अनुभव गरेँ भने लेख्ने छु । मेरो उपन्यास ‘सल्लीपिर’मा शेर्पा समाज आएको छ । तपाईँले मैले नेवारी र तिब्बती परिवेशमा लेखेका कथाहरु पढ्नुु भएको छ ? कतै भेटिएछ भने पढेर सल्लाह दिनु होला । मधेशमा बसेर मैले भन्दा हजार गुना राम्रो डा. राजेन्द्र विमलले लेखिरहनु भएको छ ।
         जिके—तपाईँ पहाडी समुदायको मान्छे भएर पनि मधेस विशेष साहित्य लेख्नुहुन्छ । यसमा सांस्कृतिक अन्त घुसन ले काम गरेर हो कि लेखिदिऊँ न त भन्ने मनोविज्ञानले काम गरेर ?
         मैले पहाडभन्दा पहिला मधेश देखेको हुँ । त्यसैले पहाडभन्दा बढ्ता मधेशका बारेमा जानेबुझेको छुु । कुनै भारी भरकम र भयानक सोच अनि अन्तरघुलनका आशय राखेर लेखेको हैन मैले । मलाई मैले देखे बुझेका चरित्रहरुका बारेमा लेख्न सजिलो लाग्यो, तिनका बारेमा लेख्नै पर्छ भन्ने पनि लाग्यो त्यसैले लेखेको हुँ । सिद्धान्तका ठेली अघिल्तिर राखेर र कुन कथा कुन सिद्धान्त, वाद या धारामा फिट हुन्छन् भनेर आख्यान लेख्ने रहर छैन मलाई । मलाई आख्यान पो लेख्नु छ, कानुनको किताब त हैन नि ।
         जिके—साहित्यको बजारमा ‘लेखेरै’ दाल भात खाने लेखकहरु हातका औँलामा गनेरै सकिन्छ । तपाई लेखेरै जिविका चलाउन सक्ने लेखक भित्र पर्नुहुन्छ कि पर्नुहुन्न ?
        म साहित्य लेखनलाई कमाईसित जोड्दिन । नेपालमा अहिलेसम्म लेखेरै शानदार जीवन बाँच्ने स्थिति आएको छैन । केही सीमित आवश्यकतापूर्तिमा मेरो साहित्य लेखनले सघाएको होला । मलाई मेरो साहित्य बिक्री होस् भन्ने लाग्छ । तर बिकाऊ होस् भन्ने चाहिँ लाग्दैन । कृपया यो फरक बुझिदिनु होला ।
       
      
    ००
      फणीन्द्र—एकातिर आख्यानका पाठक बढेको बताउनेहरू छन् । कविहरू भने बढी लेखिने र पढिने विधा कविता हो भन्छन् । आख्यानलाई कविताले पछि पार्दै गरेको उनीहरूको दाबी छ नि?    
      यो आख्यानको बजार हो या कविताको भन्ने प्रश्नमा नअल्मलिएर अहिलेको बजार समग्र साहित्यकै बजार हो भन्ने ठान्छु म । किताबको बिक्रीको संख्यालाई मानक मान्ने हो भने आख्यानकै बजार बढेको जस्तो पक्कै देखिएला । तर गैरआख्यान र कविताले पनि बजारको ध्यान आकृष्ट गरेकै छन् । आख्यानमा जीवनको विराटतालाई झल्काउने कथानक हुन्छ । नयाँ खालको परिवेश र चरित्रहरू हुन्छन् । त्यसले पाठकको अहम्लाई तुष्टि पनि गर्छ । त्यसैले आख्यानले हरेक वर्ग, उमेर र तप्काका पाठकहरूलाई आकृष्ट गर्छ ।
      राजनीतिले विभेदको खेल खेलिरहे पनि सञ्चार, शिक्षा र यातायातको सुविधाले गर्दा अहिलेको समाज एकअर्कासित जोडिँदै गएको छ । अहिलेको पाठक आफूले सुनेको तर नबुझेको समाजका कुराहरू बुझ्न चाहन्छ । त्यो समाजको भाषा, रीतिथिति, परिवेश र भूगोलबारे जानकारी लिन चाहन्छ । यसको लागि आख्यान उपयोगी हुन्छ । आख्यानमा कविताको स्वाद पनि हुन्छ, निबन्धको वैचारिक सामथ्र्य पनि हुन्छ । आख्यानले पाठकलाई कल्पनाशील पनि बनाउँछ । कथानकको प्रवाहमा बगेर पाठकले आख्यानका चरित्रहरूलाई आफैंले स्वरूप दिन्छ र त्यसै चरित्रको दुःख–सुखमा सामेल पनि हुन्छ । आख्यान त्यसैले विश्वव्यापी रूपमा बढी पढिने विधा हो । किताबी रूपमा बढी बिक्री हुने विधा पनि हो । तर कवितामात्रै या गैरआख्यान मात्रै पढ्ने पाठकहरू पनि प्रशस्त हुन्छन् । आख्यानबाहेक अरूमा रुचि नदिने पाठकहरू पनि हुन्छन् । यो पाठकको निजी रुचिको कुरा पनि हो । किताबको बिक्रीलाई विधागत सफलताको मापदण्ड मान्न थालियो भने धेरै खालका समस्याहरू निम्तिन्छन् ।
      साहित्य सिर्जना सय मिटरको दौड होइन । त्यसैले कसले कसलाई पछाडि पारेको छ भन्ने तर्क गर्ने र दाबी गर्नेहरूको सोचलाई दयनीय मान्नुपर्छ । यो एकखालको कुण्ठा या मनोरोग हुनसक्छ । अगाडि र पछाडिको कुरा गरेर आत्मरतिमा रमाउने रोग पाल्नुुभन्दा हामीले सबै विधाका आफ्नै प्रकारका विधागत विशिष्टताहरू हुन्छन् भनेर स्वीकार्ने हिम्मत राख्न सक्नुपर्छ । म यस्ता तर्क गर्नेहरूलाई विवादमा अल्झनु भन्दा आफ्नो सिर्जनामा वैशिष्टता हासिल गर्नतिर लाग्नुस् भन्ने सल्लाह दिन्छु ।
००

  रोहित—‘सल्लीपिर’ कस्तो उपन्यास हो ?
   ‘सल्लीपिर’मा यसपटक मैले फरक परिवेश र फरक पात्रमा काम गर्ने प्रयास गरेको छु । केही वर्षअघिको खुम्बु क्षेत्रको भ्रमणमा आधारित रहेर लेखेको हुँ यो उपन्यास । उपन्यासलाई आवश्यक पर्ने अध्ययन र अनुसन्धान पनि गरेको छुु । हामीकहाँ आफूले देखेकै र भोगेकै विषयमा लेख्नुपर्छ भन्ने आम धारणा छ । तर, अध्ययन र अनुसन्धान गरेर पनि लेख्ने परिपाटी बाहिरतिर प्रशस्तै छ । हामीकहाँ यस्तो प्रयास कमै हुने गरेको छ । सल्लीपिरमा मैले जुन विषय र मुद्धा उठाएको छु । त्यसका लागि खुम्बुको परिवेश र शेर्पा जनजीवन उपयुक्त भएकोले मैले त्यस विषयमा प्रवेश गरेको हुँ । सल्लीपिर, एकजना युवती पेमा मार्फत अभिव्यक्त भएको लगभग तीन पुस्ताको कथा हो । शेर्पाको जनजीवन, भाषा, श्रम र संस्कृतिको सम्मान गर्दै मैले ‘सल्लीपिर’ लेखेको हुँ ।
   रोहित—तराईमा जन्मी, हुर्किएको मानिसले हिमाली परिवेशमाथि लेख्दा पात्र र कथामाथि न्याय होला त ? हिमालकै सेटिङ किन रोज्नु भएको ?
   लेखकले आफ्नो लेखनमा विविधता ल्याउने पनि प्रयास गर्नु पर्छ । मैले आफ्नो लेखनको शुरुवातदेखि नै फरक विषयमा काम गर्दै आएको छु । मेरा प्रारम्भिक तीन उपन्यासमा पनि फरक पात्र र परिवेश नै छन् । नयाँ परिवेशमा लेख्ने ममात्र हैन, अरु थुप्रै छन् । नेपालमै पनि यस्ता प्रयासहरु भएका छन् । वीपीको ‘मोदिआइन’ पनि महाभारतकालीन सन्दर्भसित जोडिन्छ । ‘माधवी’ झन् वैदिककालीन विषय हो । पारिजातको ‘शिरीषको फूल’ का केही सन्दर्भ पनि पारिजातले देख्दै नदेखेको परिवेशमा आधारित छ । ‘चपाइएका अनुहार’मा दौलतविक्रम विष्टले युद्धको त्रासदी लेख्नु भएको छ । अझ बहुचर्चित ‘बसाँइ’ लेख्दासम्म त उपन्यासकारले  उपन्यासमा वर्णित परिवेश नै देख्नु भएको थिएन रे । अमर न्यौपानेजीले केही दिनको नेपालगन्ज बसाइको अनुभवमा ‘पानीको घाम’ लेख्नु भयो । युद्धमै नगएकाहरुले युद्धका उपन्यास लेखेका छन् । आरोहण नै नगरेर सरुभक्तले हिमाल आरोहणकै विषयमा ‘चुली’ लेख्नु भयो । मोदनाथ प्रश्रितले ‘देवासुर संग्राम’ लेख्नु भयो । केही समय तिब्बत बसाइको आधारमा डोरबहादुर विष्टले ‘सोताला’ लेख्नु भयो । पढेको र सुनेकै भरमा जीवनीपरक आख्यानहरु लेखिएका छन् । आफू जन्मिएको भन्दा दशकौँ अघिको विषयमा अमिताभ घोषले ‘सी अफ पपिज’ जस्ता उपन्यास लेखे । अध्ययन र अनुसन्धान गरेरै ऐतिहासिक उपन्यासहरु लेखिन्छन् । विज्ञान नपढेकाहरुले साइन्स फिक्सनहरु लेखेका छन् । जुनसुकै विषय लेख्न पनि कल्पनाशीलता त चाहिन्छ नै । बिना कल्पना त यथार्थ पनि लेख्न सकिन्न । त्यसैले कैलोकाहीँ आफू बाँचेको र आफूलाई सहज लाग्ने परिवेशबाट हटेर अध्ययन, भ्रमण र अनुसन्धानको आधारमा अर्को परिवेशको कुरा पनि लेख्न सकिन्छ र लेख्नु पनि पर्छ । मुल कुरो लेखकले उठान गर्ने विषय हो । ‘सल्लीपिर’मा उठाइएको विषय लगभग सबैतिर मिल्ने विषय हो । यसभित्र वर्णित दुःख धेरैको साझा दुःख हो । बस्, यसको परिवेश र पात्र फरक छन् । नेपाली साहित्यमा शेर्पा जनजीवन खासै आएको थिएन । मलाई त्यो परिवेशप्रति जिज्ञाशा भयो । त्यहाँको जनजीवन र समस्यालाई बुझ्ने प्रयास गरेँ र सल्लीपिर लेखेँ ।
  रोहित— हिमालको सेटिङबाहेक यस अघिका दुई अत्यन्तै चर्चित उपन्यासहरु लू र उलार भन्दा यसमा के नयाँ कुरा अपेक्षा गर्ने तपाईका नियमित पाठकले ?
   सेटिंग त सहायक कुरा हो । उपन्यासलाई पृथक त यसको कथावस्तुले बनाउने हो । त्यो कथावस्तुले उठाएका मुद्धाहरु र त्यसलाई बोकेर हिँड्ने चरित्रहरुले उपन्यासको ओज र पृथकता निर्धारण गर्छन् । ‘सल्लीपिर’ पढ्ने पाठकलाई यसको परिवेशमात्र नयाँ नलाग्ला, यसको विषयवस्तु, यसको प्रस्तुति र यसका पात्रहरु पनि नयाँ लाग्लान् । यसपटक भाषामा कवितात्मक हुने प्रयास गरेको छु । ‘सल्लीपिर’ मै पनि केही कविताहरु छन् । यो आंचलिक उपन्यास हो, जसमा मैले शेर्पा सँस्कृतिको गरिमा र विविधतालाई उजागर गर्ने प्रयास गरेको छु । हिमाल आरोहण पनि पाठकले रुचाउने विषय हो । ती कुराहरु पनि ‘सल्लीपिर’मा छन् ।
   रोहित—यस अघिका तपाईंका प्रसिद्ध उपन्यासहरु उलार र लूूमा केही सशक्त पात्रहरु छन् । ‘उलार’को प्रेमललवा, दरौपदी, ‘लूू’ को इलैया र नुसरतजस्ता थुप्रै पात्रहरु पाठकको मनमा राज गर्न सफल छन् । उपन्यास कत्तिको राम्रो भयो भन्ने कुरा पात्र कति सशक्त छन् भन्ने कुराले निर्धारण गर्ने हो ?
   हैन, पात्रले हैन उपन्यासको सशक्त हुने त लेखकले उठान गरेको विषय र त्यसभित्र प्रवेश गरेको मुद्धाले हो । विषय कमजोर र विश्वसनीय भएन भने जतिसुकै बलियो पात्र भए पनि उपन्यास बलियो हुन सक्दैन । पात्रहरु विषयको हात समातेर हिँड्छन् । यो सम्बन्ध जति बलियो हुन सक्यो, उपन्यास त्यति नै शक्तिशाली हुन्छ ।
   उपन्यासमा हिरो वा एन्टी हिरो केन्द्रीयपात्रका रुपमा कुनै पात्र आउनै पर्छ ? सिङ्गो उपन्यासभरि त्यही पात्र छाइरहनु आवश्यक छ ? तपाईका सबै उपन्यासमा त्यस्ता केन्द्रीयपात्र छन् । छ भने किन र छैन भने यसको विकल्प के हुन्छ ?
   मेरो दोस्रो उपन्यास ‘विक्रमादित्य एउटा कथा सुन’मा मैले उपन्यास लेखनका सबै मान्यताहरु भत्काएको छु । त्यसमा कुनै नायक छैन, केन्द्रिय पात्र छैन । एउटा अध्यायमा आएको पात्र अर्को अध्यायमा आउँदैन । पात्रको नाम कुनै भाषासित मिल्दैन । संवादहरु छैनन् त्यसमा । त्यो घोर प्रयोगवादी लेखन थियो । म एउटै खालको लेखनमा अल्झिएर बसिरहन चाहन्नँ । मलाई विविधता मन पर्छ । उपन्यास लेखिरहँदा मलाई आफैँलाई पनि आनन्द महसुस हुनुु पर्छ भन्ने मान्यता राख्छु म । त्यसपछिका मेरा उपन्यासमा केन्द्रिय पात्र अवश्य छन् । तर मैले केन्द्रिय पात्रलाई मात्र भूमिका थोपरेको छैन । सहायक पात्रको उपस्थितिले नै केन्द्रिय पात्रको पहिचान र सामथ्र्य निर्माण गर्ने हो । तर कसैले केन्द्रिय पात्र बिना पनि उत्कृष्ट उपन्यास लेख्छु भन्छ भने उसलाई त्यो स्वतन्त्रता छ । यसमा कुनै वन्देज छैन । जे लेखे पनि हुन्छ, जसरी लेखे पनि हुन्छ । तर लेखेको कुरा पाठकलाई विश्वसनीय लाग्ने हुनुपर्छ ।
   रोहित—तपाईं पात्र कसरी छनोट गर्नुहुन्छ ?
   म पहिला विषय सोच्छु । त्यसपछि विषयलाई डोर्याउने पात्र सोच्छु । पात्र मैले चिनेजानेकै हुन्छन् भन्ने छैन । एउटै पात्रमा विविध खालका चरित्रहरुको सम्मिश्रण पनि गर्छु । सल्लीपिरको विषय दिमागमा बसेपछि म कति दिन बौद्धतिर गएर डुल्थेँ । त्यहाँ देखिने तिब्बेतियन, शेर्पा, तामांग अनुहार र तिनका गतिविधिहरुलाई नियाल्थेँ । त्यसरी केही अनुहारहरु मेरो दिमागमा निर्माण गरेँ । विषय त पहिलादेखि छँदै थियो, पात्रको स्वरुप चाहिँ त्यसरी ग्रहण गर्दै गएँ । मेरो स्मृतिमा धमिलो भएर रहेका उतिबेलाको शेर्पा पात्रहरुको अनुहार पनि सम्झिएँ । तिनीहरुको जीवनशैली, सुखदुःख र संघर्षसित ती अनुहारको संगति मिल्दै गयो र सल्लीपिर लेखन सजिलो हुँदै गयो । लगभग सबै उपन्यासकारले पात्र छान्दा यही प्रक्रिया अपनाउँछन् भन्ने मलाई लाग्छ ।
  रोहित—उपन्यासमा पात्रको व्यक्तित्व कसरी निर्माण हुन्छ ? कथाको विकासक्रमसँग उसको व्यक्तित्व कसरी गाँसिएर जान्छ ?
  विषयबस्तु, परिवेश, पात्रको जीवन र जीवनशैलीबाटै पात्रको व्यक्तित्व निर्माण हुन्छ । म चाहिँ पात्रको व्यक्तित्वमा विभिन्न शेड्स होस् भन्ने चाहन्छु । हामी प्रायः पात्रको एकै खालको व्यक्तित्वलाई समातेर लेख्न सजिलो मान्छौँ । खराब पात्र सधैँ खराब र असल पात्र सधैँ असल देखाउने बानी परेको छ हामीलाई । तर खराब पात्रका असल पाटा र असल पात्रका खराब पाटाहरुतिर हामी आँखा चिम्लिदिन्छौँ । फलतः हाम्रा चरित्रहरु एकाकी लाग्छन् ।  म त्यो जोखिमबाट जोगिन चाहन्छु ।

  रोहित—तपाईं समाजको सीमान्तकृत समुदायका निम्नवर्गीय पात्रहरुलाई उपन्यासमा लिएर आउनुहुन्छ ? यो चुनौतिपूर्ण छैन र ?
   यही चुनौतीमै त मजा छ । फेरि मेरो लेखन अँध्यारोमा अन्धाधुन्ध दौडिने घोडा हैन । मेरा लेखनका केही उद्धेश्यहरु छन् । मैले आफैँसित गरेका केही प्रतिवद्धताहरु छन् । म त्यही पूरा गर्न लेखिरहेको छु । यस्तोमा त्यस्ता पात्रहरुप्रति मेरो ज्यादा सरोकार भैदिन्छ । हामीकहाँ सीमान्तिकृत पात्रका अझै धेरै कथाव्यथाहरु आउनुपर्छ भन्ने मलाई लाग्छ ।
  रोहित—पात्रहरुमाथि न्याय भयो वा अन्याय भयो भन्ने टिप्पणी पनि पाठक समीक्षकबाट आइरहन्छ ? यो त सम्पूर्णरुपमा लेखकको स्वतन्त्रताको कुरा होइन र ? यस्तो टिप्पणी गर्न मिल्छ ?
   लेखन निरपेक्ष विषय हैन । जिम्मेवारी पनि हो । मनोगत लेखनका जमाना गए । स्वान्त सुखायको लागि लेख्छु भन्नु वाहियात कुरा भैसक्यो । समाजका सरोकारहरुसित जोडिनका लागि लेख्छु म । त्यसैले समाजका पात्रहरुको कुरा विश्वासिलो ढंगबाट मेरा उपन्यासमा आउन् भन्ने मेरो चाहना हुन्छ । त्यसैले स्वतन्त्रताको नाममा धरातल गुमाएको लेखन मेरो प्राथमिकतामा पर्दैन । म मेरो लेखनमा कल्पना रुचाउँछु, तर कतै न कतै त्यसले जमिन छोएको हुनुपर्छ भन्ने मान्यता राख्छु । मैले घामकिरी त्यही मान्यतामा लेखेको हुँ । जब विषयप्रति म जिम्मेवार छु भने मेरा पात्रहरुप्रति पनि मैले सचेत हुनै पर्छ । उनीहरुको संवेदनाको गलत प्रयोग गर्न म चाहन्नँ ।
  रोहित— त्यसो हो भने पात्र उपन्यासमा स्थापित हुन सक्यो वा सकेन भन्ने हुन्छ ? मुख्यपात्र नै उपन्यासमा स्थापित नहुनुको कारण के हो ?
   उपन्यासमा मुख्यपात्र बनाउने तर त्यसलाई लेखकले खासै भूमिका नदिने हो भने त्यो पात्र कमजोर भैदिन्छ । पात्रहरु लेखककै सिर्जनात्मक सन्तान हुन् । लेखकले त्यसलाई उभिन सक्ने बनाइदिनु पर्छ । त्यसपछि हिँड्ने जिम्मा पात्रको हो । लेखकले आफ्नो पात्रको आफ्नै स्वतन्त्र व्यक्तित्व बनोस् भन्ने चाहनु पर्छ । जसरी हामी हाम्रा सन्तानलाई जीवनभरि समातेर राख्ने सक्दैनौ, त्यसरी नै लेखकले पात्रलाई स्वतन्त्र छाड्नु पर्छ । तर उसका गतिविधिलाई अभिभावकले झैँ नियालिरहनु पर्छ । जब पात्रलाई लेखकले आफ्नो बन्धनमा राखिरहन्छ र आफ्नो अहम् तुष्टिका लागि पात्रलाई साधन बनाउँछ, मुख्यपात्र बलियो गरी स्थापित हुन सक्दैन ।
   रोहित—तपाईं आफैंलाई आफ्ना पात्रहरुमाथि न्याय गरेँ जस्तो लाग्छ ?
   त्यो मैले नै भन्ने कुरा हैन । मैले न्याय दिने प्रयत्न गर्ने हो । भयो भएन छुट्याउने जिम्मा समीक्षकहरुको हो । तर जब पाठकहरुले प्रेमललवा, द्रौपदी, इलैया, टुटे पण्डित, नुसरत आदिको प्रशसां गर्छन् , मलाई आनन्द आउँछ । ऊर्जा मिल्छ ।
   रोहित—हामीले न्याय अन्यायको कुरा ग¥यौं, पात्रको व्यक्तित्व र विकासको कुरा ग¥यौं, छनोटको कुरा पनि ग¥यौं । तपाईं समकालीन नेपाली आख्यानहरु पनि मजैले पढिरहनु भएको छ । पात्रहरुलाई प्रस्तुत गर्ने हाम्रो समग्र प्रवृत्ति कस्तो छ यतिबेला ?
   माथि पनि भनेको छु । हामी कहाँ प्रायः पात्रको एउटै रंग देखाउने चलन छ । कि सेतो , कि कालो । तर, समाजमा चरित्रहरु बदलिइरहेका छन् । कुनै एउटा व्यक्ति समग्रमा ब्ल्याक या समग्रमा ह्वाइट नहुन सक्छ । अब त्यो रंग मिसिएर खैरो भैसक्यो । त्यसैले अब हामीले पात्रको विविधतालाई पनि विचार गर्नु पर्छ । आख्यानलाई समृद्ध गराउने हो भने पात्र निर्माणमा विविधताले प्रवेश पाउनु आवश्यक छ ।
 
  रोहित—यो दशकको सुरुदेखि नै उपन्यासको बजार बिस्तार भएको छ । पाठक बढेका छन् । विज्ञापन र प्रवद्र्धनको शैली फेरिएको छ । तर यति हुँदाहुँदै पनि साँच्चिकै स्तरी
 •  0 comments  •  flag
Share on Twitter
Published on March 27, 2017 01:06

सल्लीपिरमा अर्थ–राजनीतिक चेत-विमल कोइराला



“सल्लीपिर” मा अर्थ–राजनीतिक चेत(नयाँ पत्रिका दैनिकमा जेठ ४ गते शनिवार,२०७३मा प्रकाशित)विमल कोइरालाउलार’ र लु’ पढेपछि नयनराज पाण्डेको आञ्चलिकतामा डुबुल्की मारेर लेख्न सक्ने खुबी थाहा भइसकेको थियो । ‘सल्लीपिर’ पढेपछि भने नयनको विकास अर्थशास्त्रको पक्ष उद्घाटित भएको पाएँ । प्रशासन व्यवस्था र विकास अर्थशास्त्रको विद्यार्थीका नाताले सल्लीपिरका पात्रको छनोट र बनोट अनि शेर्पा समुदायको सामाजिक आर्थिक अवस्थाबारे लेख्ने कुतूहल जाग्यो । प्रस्तुत टिप्पणी नयनराज पाण्डेको तीखो विश्लेषण र अर्थ राजनीतिक चेतका नयाँ आयामको उद्घाटनले अर्थशास्त्रीय शब्द सञ्जालमा नअल्मल्याई सरल भाषामा जनजीवन खुलस्त लेखिन सक्छ भन्ने पक्षलाई समर्पित र प्रशंसा गर्न लेखेको हुँ । मैले जानेबुझेसम्म नयनराज पाण्डे नेपाली गद्य साहित्यका हस्ती हुन् । उनको साहित्यइतर संलग्नताको मलाई जानकारी छैन । सल्लीपिर उपन्यासमा भने उनी समाज परिवर्तनका संवाहकको रूपमा उपस्थित भएका छन् । उनको यो नयाँ क्षेत्र विकास अर्थशास्त्रको उपस्थिति चानचुने छैन ।
गरिबी गरिबका कारण निर्माण भएको होइन, सम्पत्तिमाथिको भेदभाव, राज्यसत्ताको हेपाहा प्रवृत्ति र आधारभूत क्षेत्रहरू (शिक्षा र स्वास्थ्य)मा भेदभावपूर्ण पहुँच आदिका कारण गरिबी बढेको हो । हाम्रो मुलुकको सामाजिक, सांस्कृतिक र शासकीय परिवेशले गरिबी पुस्तान्तरण हुँदै गएको छ ।
बिल गेट्सले भनेजस्तो ‘जन्मँदा गरिब भयौ भने तिम्रो गल्ती होइन, मर्दा पनि गरिबै रह्यौ भने तिम्रै गल्ती हो’ स्थिति नेपालमा छैन । हजुरबाउ गरिब त्यसकारण बाउ गरिब अनि छोरा–नाति पनि गरिब भन्ने यहाँको सजीव यथार्थता छिरिङ, दाबा हुँदै फुर्वासम्म सरेको कहालीलाग्दो तस्बिर नयनले देखाइदिएका छन् । छिरिङ मात्र यस्तो पात्र हो जो साक्षर (शिक्षित ?) थियो । समाजको अर्धचेतनाका कारण ऊ एक्लोजस्तो देखिन्थ्यो । उसले न त शिक्षाको प्रसारणले समाजलाई लाभान्वित गर्न सक्यो न आफैँलाई बदल्न सक्यो । बरु उल्टै छिरिङ तत्कालीन राज्य व्यवस्थाको प्रताडनाको सिकार भयो । छिरिङको उपस्थिति उपन्यासभरि नै अन्योलपूर्ण देखियो । खुम्बू क्षेत्रका अन्य गाउँबस्ती पनि भिन्न देखिएनन् । उमेर पुगेका नानीहरूले स्कुल देख्न नपाउने र स्वास्थ्यको बन्दोबस्त नभएका गाउँबस्तीमा अकालमै मर्नुपर्ने परिस्थितिको सजीव चित्रण गरेर लेखकले उपन्यासभरि विकास अर्थशास्त्रका विविध पक्षको व्याख्या गरेका छन् ।
खुम्बू क्षेत्रको आर्थिक अवसर भनेकै हिमाल चढ्ने विदेशीहरूको भरिया हुनु हो । त्यही आशमा यौवनको लहलहाउँदो उमेर पर्खेर बस्छन् युवाहरू । दाबाले त्यस्तै गर्‍यो । उसको घरबारी जोर्ने र पेमालाई सुख दिने सपनाको आधार नै ‘भरिया’ हुन पाउनु ठान्यो । युवावस्थामा राजनीतिक दलको भरिया भयो तर जित्नासाथ कथित जनप्रतिनिधिले उसलाई चिनेन । यो दाबाको मात्र होइन, आम नेपालीको नियति हो । मतदातालाई चिन्ने र राज्यले जनतासँग खुलेर संवाद गर्ने परिस्थिति भइदिएको भए लोकतन्त्रको लाभांश जनताले पनि पाउने थिए । तर, लोकतन्त्र सीमित व्यक्तिहरूको बिलासिताको वस्तु हुन गयो । जनता नबोलून् भनेर किस्ताबन्दीमा लोकतन्त्रको पोको जनतासम्म पुर्‍याउन खोजियो । तर, दाबा छिरिङहरूले त्यसको अंश पनि पाएनन् ।
सल्लीपिर थुप्रै कथा उपकथाहरूको अर्थपूर्ण संयोजनजस्तो पनि देखिन्छ । हाम्रो शासन व्यवस्थाको कुरुप र भद्दा तस्बिर खर्कमा चौँरी लिएर जाँदा गाविस–सचिव र वनका कर्मचारीले घुस मागेको प्रसंगबाट प्रस्ट्याइएको छ । राष्ट्रियता र राष्ट्रिय एकताको गणितीय सूत्र हुँदैन । एक–अर्कालाई गर्ने व्यवहारबाट पनि निर्देशित हुन्छ । सरकारी जग्गामा सयल गर्न जनप्रतिनिधिले निर्माण गर्न लागेको रिसोर्टमा सरकारी अधिकारी नै खटिनुले राज्य व्यवस्थाको निरीहता उदांग भएको छ । चाहे दक्षिणबाट होस् वा उत्तरबाट सीमामा बस्ने नेपाली ठगिएको छ, हेपिएको छ । सानो देशको नागरिक भएकाले उसको प्रतिरोधले सुनुवाइ पाउन सकेको छैन । सीमा बजारका ठगीका घटनाको रोचक वर्णन गरेका छन् नयनले सल्लीपिरमा ।
किन कुनै राष्ट्र असफल हुन्छ ? ड्यारोन एसमोग्लु र जेम्स रविन्सनले आफ्नो पुस्तक ‘ह्वाई नेसन्स फेल’ मा अमेरिकाको एरिजोना राज्यको मेक्सिकोसँग साँध सिमाना भएको क्षेत्रको उदाहरण दिएका छन् । नोगलेस सहरका केटाकेटी स्वस्थ छन्, स्कुल जान्छन् । उमेर पुगेका सबैजसोले माध्यमिक तह उत्तीर्ण गरेका छन् । ६५ वर्ष नाघेकाहरूले पनि स्वाथ्योपचार पाइरहेका छन् । उनीहरूको आयस्ताले मनग्ये पुगेकै छ । बिजुली, टेलिफोन र बाटोघाटोको सुविधा पनि छ । आवागमन निर्बाध छ । चोरीचकारी, लुटपाट र धम्की कतैबाट पनि आउँदैन । त्यसैको दक्षिणपट्टि नोगालेस, सोनोरा छ । मेक्सिकोको सापेक्षित रूपले धनी क्षेत्र पनि हो, तर त्यहाँका धेरै युवाले माध्यमिक तहको शिक्षा पाएका छैनन् । उमेर पुगेका सबै नानी स्कुलमा छैनन् । बालमृत्युदर पनि बढी नै छ र सबैले सार्वजनिक सुविधा पाएका छैनन् । त्यहाँका नागरिकले भ्रष्ट राजनीतिज्ञको प्रताडना पनि सहनुपरेको छ । एकापट्टि लोकतन्त्रको उज्यालो छ, अर्कापट्टि केही टाठाबाठाका निम्ति मात्रै ।
खुम्बू क्षेत्रमा एउटै स्कुल नहुनु, प्राथमिक स्वास्थ्य केन्द्र नहुनु र बाटाघाटा र सम्पर्क नहुनुले जीवन त्रासदीपूर्ण बनाएको छ । किन दाबाले पढ्न नपाउने ? किन पेमा निरक्षर भई ? किन पुस्तौँपुस्ता खर्कमा चौँरी लिएर जीवन गुजारा गर्नुपर्ने बाध्यता छ ? पाण्डेले सल्लीपिरमा यी तमाम विकास अर्थशास्त्रका प्रश्न एजेन्डाका रूपमा राखेका छन् । जति जीवन्त वर्णन नेगालेस, सोनोराको छ, त्यत्तिकै रोचक प्रस्तुति नयनको पनि छ ।
घुमाउरो पारामा जटिल र नबुझिने शब्द प्रयोग गर्दा मात्र विद्वान् होइन्छ, भन्ने मान्यतालाई नयनले राम्रै थप्पड दिएका छन् । सरल शब्दमा सुरुचिपूर्ण र कलात्मक व्याख्याले पाठकको मन जित्न सकिन्छ भन्ने उनले प्रमाणित गरिदिएका छन् । सल्लीपिर पढ्दै गर्दा मलाई धेरैपल्ट सोच्न बाध्य गरायो । जुन रचनाले सोच्न बाध्य गराउँछ त्यो सार्थक रचना हो । सल्लीपिर त्यसैले एउटा सार्थक कृति हो ।
गरिबी घटाउन गरिबको पहिचान गरी तिनको अयस्ता वृद्धिमा राज्यले लगानी गर्नुभन्दा समष्टिगत अर्थ संरचनामा सुधार गरी गरिबमुखी कार्यक्रममा लगानी गर्नु छिटो र प्रभावकारी हुन्छ । समावेशी, फराकिलो र उच्च आर्थिक वृद्धिमा जोड दिनु नै श्रेयष्कर हुन्छ । नयनले आफ्नो उपन्यासमा अर्थशास्त्रको यो सर्वमान्य र प्रमाणित सूत्रको प्रयोग गरेका छन् । दाबाको गाउँमा आधारभूत क्षेत्रहरूमा राज्यले लगानी बढाउन सकेको भए वा परम्परागत रूपले चौँरीमा आश्रित अर्थतन्त्रको विविधीकरणमा विनियोजन गरेको भए त्यहाँका जनता लाभान्वित हुने थिए र अर्थतन्त्रले पनि फड्को मारिसकेको हुन्थ्यो । त्यसो हुन सकेन । हाम्रो अर्थव्यवस्था कुशासनको दुष्चक्रमा नराम्ररी फस्यो । सल्लीपिरभित्र देखिएको अर्थ–राजनीतिक चेतको थोरै मात्रा पनि हाम्रो राजनीतिमा देखिएन ।
‘खान दिइनस् भने तँलाई मार्छु’ भन्ने द्वन्द्वका अभियन्ता र ‘किन खान दिइस्, तँ पनि माओवादी हो’ भन्ने सेनाको चेपुवामा परेको गरिब परिवारको मनोदशालाई नयनले राम्ररी चित्रण गरेका छन् । द्वन्द्वका वेला देखिएका अन्तरविरोधको पनि तटस्थ व्याख्या गरिएको छ । फुर्वाले माग गरेको शिक्षा दिन नसके पनि उसको चेतनावृद्धिका कच्चापदार्थ जुटाउन दृढसंकल्पित पेमाको जीवनका साहसिक क्षणको कथा जोडिएको छ, उपन्यासको अन्त्यमा । यसरी उपन्यासलाई अर्थ–राजनीतिक अन्तर्वस्तुका आधारमा कथा, उपकथाको क्रमलाई लहरै मिलाई जोड्न खोजिएको छ । यो कृति साहित्यिक कोणबाट हेर्दा जति खँदिलो देखिन्छ, अर्थ राजनीतिक कोणबाट पनि त्यत्तिकै गहकिलो छ ।
माओवादी द्वन्द्वका वेला देखिएका आलाकाँचा व्यवहारको पनि सजीव प्रस्तुति छ । पेमाले ल्याएका किताबलाई सेनाले माओवादी पाठ्य सामग्री देख्नु र माओवादीले परम्परागत पुँजीवादी विचारको सहायक देख्नुले दुवैथरीको दृष्टिकोण उजागर भएको छ । साहित्यको कृति भएकाले सल्लीपिरभित्र धेरै अर्थ–राजनीतिक मसला खोज्नु मेरो पनि भूल हुनेछ । तथापि, पढेर अर्थशास्त्री भएकाहरूभन्दा नयनजस्तो परेर, भोगेर अर्थशास्त्री भएकाले सटिक व्याख्या गर्न सक्दो रहेछ भन्ने पुष्टि भएको छ ।
तर, सल्लीपिरलाई अर्थ राजनीतिक चेतका हिसाबले मात्र हेर्नु लेखकप्रति अन्याय हुन्छ । यसले निर्माण गर्ने नयाँ मूल्य–मान्यताको पनि सघन परख हुनुपर्छ । कुनै ‘विषय’ छानेर इतिहास, भूगोल र अर्थशास्त्रको एकीकृत भट्टीमा विचार पगालेर नयाँ सृष्टि गर्नु गाह्रो काम हो । नयनले गाह्रो काम सजिलो गरी देखाइदिएका छन् ।
 •  0 comments  •  flag
Share on Twitter
Published on March 27, 2017 01:02

सल्लीपिर-दुई समीक्षा



'सल्लीपिर' बिछाइएको हिमाली भुइँमजदूर दैनिक अनलाइन पत्रिकामा प्रकाशित
नीरज 
'लू' र 'उलार' पढिसकेका पाठकको लागि नयनराज पाण्डेको नयाँ उपन्यास 'सल्लीपिर' पढिसकेपछि कुन्नि के नपुगे नपुगे जस्तो लाग्न सक्तछ।  तर यो पटक पाण्डे तराईको मैदानबाट उक्लेर हिमाली भेगमा आधारित भएर प्रस्तुत भएका छन्। यसले एकातिर उपन्यासकार पाण्डेको लेखकीय भौगोलिक सीमितता नभएको सङ्केत गर्न खोजिएको छ। विषयवस्तु र पात्रहरू भए आफूभन्दा निकै पर र भिन्न सांस्कृतिक परिवेशमा पनि कलम चलाउन आफू काबिल भएको उनको दाबी देखापर्दछ। यस अर्थमा पाण्डे फराकिलो क्षेत्र ओगटेर कलम चलाउन सक्ने उपन्यासकार प्रमाणित भएका छन्। अझ उनको 'घामकिरी' उपन्यास पढिसकेपछि त यो निष्कर्ष निकाल्न कुनै कसरत बाँकी रहन्न। अर्कोतिर काठमाडांैमा मधेस 'उपेक्षित भएको' भन्दै आन्दोलन चलिरहेको र क्षेत्रीय राजनीतिले टाउको उठाइरहेको बेलामा हिमाली भेगका जनताको कष्टसाध्य जीवन र दुरवस्था चित्रण हुने यो उपन्यास प्रकाशनको राजनीतिक अर्थसमेत निकाल्न सकिन्छ। पाण्डेले 'उलार' र 'लू'मा जसरी तराईका पिँधमा रहेका जनताको जीवनको नसा–नसा केलाएका छन्, झण्डै उही गहिराइमा 'सल्लीपिर'मा हिमाली जनजीवनको केस्रा–केस्रा उधिन्ने काम गरेका छन्। यस अर्थमा उपेक्षा कुनै भूगोल भइरहेको छैन बरु त्यहाँका विपन्न, सरल र मिहिनेती जनता उत्पीडनमा परेका हुन्। कुनै भूगोल वा जात विशेष उत्पीडनमा परेको होइन, आर्थिक असमानताले उत्पीडन जन्माएको हो। भौगोलिक उत्पीडन फेरि पनि जनताको नाममा गरिएको जनतालाई रल्लाउने राजनीतिमात्र हो। नयनराजका सबै उपन्यासहरू समाजको अत्यन्त पिँधमा रहेका 'गन्हाउने' मानिसहरूको विषयमा हुने गर्दछ। उनका पात्रहरू कतिपय 'सुकिला–मुकिलाहरू'का लागि आश्चर्यका पात्रहरू हुने गर्दछन् अर्थात् उनका पात्रहरू 'रस्टिक' हुने गर्दछन्। तर ती पात्रहरूका जीवनका खुसी, प्रेम, आँसु, वियोग, साहस, अभाव, सोच आदि नै पाण्डेका उपन्यासका फराकिला प्लेट हुन्। उनी सामाजिक सम्बन्धहरूको गहिराइसम्म गएर भुइँ खोतल्न सक्ने कलमबाज हुन्। पात्रहरूको अभावग्रस्त जीवनबीच रमाइलो मनोदशा सतहमा ल्याउनसक्ने अनुसन्धानकर्ता हुन्। 'सल्लीपिर' पाण्डेका यस्तै विशेषताहरूको सिलसिला हो। पूरा उपन्यास पेमाको बाल्यकालदेखि जीवन अन्त्यसम्म घुमेको छ। कठिन भूगोल, विपन्न आर्थिक अवस्था, शून्य शैक्षिक र राजनीतिक चेतनाबीच एक जना महिलाको जीवनलाई प्रतिनिधि बनाएर उपन्यासकारले आफ्ना अघिल्ला उपन्यासहरूमा जस्तै समाजको तल्लो सतहलाई प्रकाशमा ल्याएका छन्। 'सल्लीपिर' उपन्यास प्रस्ट सन्देशसहितको उपन्यास हो। शिक्षा नै हिमाली क्षेत्रमा चौरी गाई र विदेशी आरोहीहरूलाई हिमाल चढाउन भारिया बन्ने पोर्टरको परिधि वरपर घुमेको शेर्पाहरूको जीवनमा परिवर्तनको आभा ल्याउन बाटो भएको प्राथमिक सन्देश बोकेको छ यो उपन्यासले। दावा र पेमा आफ्नो छोरो फुर्वालाई आफूजस्तै चौरीको गोठाला बनेको हेर्न चाहँदैनन् बरु पुस्तक पढेर कथा भन्नसक्ने विद्वान बनाउन चाहन्छन्। यो यथास्थितिप्रतिको मोहभङ्ग र परिवर्तनप्रतिको चाहना हो। पुस्तकलाई ज्ञानको स्रोत र ज्ञानलाई परिवर्तनको बाटोको रुपमा चित्रण गरिएको छ। दावाको मृत्युको सन्देश बोकेको पत्रसमेत पढ्न नजानेको यथार्थले पेमा र अरु गाउँलेहरूलाई फुर्वाको पुस्तक पढ्ने चाहनालाई हरेक उपाय गरेर पनि पूरा गर्न उत्साहित बनाएको हुन्छ। फुर्वाको पुस्तक पढ्न अभिलाषा ज्ञानको खोजी र यथास्थितिप्रतिको विकर्षण हो। उनमा ज्ञानको भोक विद्यमान समाजविरुद्ध विद्रोह गर्ने लडाकु र पुरानो पुुस्ताको स्मृतिले जगाइदिएको हुन्छ। तात्पर्य ज्ञानको खोजीमार्फत परिवर्तनको चाहनालाई अभिव्यक्त गरिएको छ उपन्यासमा।  चौरी गोठाला भएर तिब्बतसम्मको दावा, पेमा र गाउँलेहरूको यात्राले उपल्लो थलोको अलि अघिको जीवनलाई उजागर गरेको छ। हिमाली जीवनको कथा–व्यथा त्यो यात्राको कठिनाइमा महसुस गर्नसक्तछौं। नेपाल हिमालको देश हो। तर नेपाली भाषामा हिमालका कथाहरू धेरै पढ्न पाइँदैन। सायद हिमालका पुजारी शेर्पाहरू अझै नेपाली साहित्यकार बनिसकेका छैनन्। त्यसकारण जुत्ता लगाउँदा कहाँनेर पोल्ने गर्छ, त्यो कुरा आउन बाँकी नै छ। तर नेपालगञ्जका बाहुन पाण्डेले भने यो हिम्मत गरेका छन््। हिमाली देशको नागरिक भएका नाताले हिमालप्रतिको आफ्नो भेटी  चढाएका छन् पाण्डेले 'सल्लीपिर' मार्फत। उपन्यासमा नेपाल र चीनबीचको सीमा निर्धारण गर्दाताका नेपालबाट खटिएर गएका अधिकारीले कस्तुरीसँग नेपालको भूमि साटेको कुरा कति सत्य हो, खोजीको विषय हुन सक्तछ। तर नेपाली कर्मचारीतन्त्रको भ्रष्ट चरित्र र ढिलासुस्तीबारे भने उपन्यासमा पटक पटक बोलेको छ। विशेषतः 'लू' उपन्यासमा भारतले नेपालको भूमि मिचेको कुरालाई चित्रण गरेर नेपाली साहित्यमा विरलै उठाइएको विषयलाई उठाएका पाण्डेले 'सल्लीपिर'मा  फ्रि तिब्बत र उत्तरमा सीमाको प्रसङ्ग उठाएर दुई छिमेकबीच सन्तुलनमा बस्न खोजेका देखिन्छन्।  शेर्पा समाजमा आधारित भएकोले हुनुपर्छ–उपन्यासकारले बौद्ध धर्मका कुरालाई ल्याइरहेका छन् जसरी यस अघिका उपन्यासहरूमा उनी हनुमान पूजाका कुरा ल्याउने गर्थे। उपन्यासमा उत्तरी क्षेत्रका जनताको धार्मिक आस्था र जीवनलाई उजिल्याउन खोजिएको छ। ज्ञानलाई  अलि बढी आध्यमिकतासँग जोडिएको छ। तर फुर्वाको ज्ञानको भोकलाई स्थानीय रुपमा खुलेका विद्यालयहरूले किन मेटाउने प्रयास गरेनन्? दावा काठमाडांै पुगेका पर्वतारोही हुन्, अर्थात् उनलाई सहरी जीवन र विश्वको विकासको बारे जानकारी हुनुपर्दछ। तर फुर्वालाई फेरि पनि गुम्बाको शिक्षा नै दिने प्रतीक्षा गरिरहनु अव्यवहारिक देखापर्दछ।  गल्ज्यानकी आमाको निधनपश्चात् पनि फेरि उनको पुनरावृत्ति गल्ती भएको देखापर्दछ। अमर न्यौपानेको जस्तो सरल र साना वाक्य संरचनाका छैनन् नयनका वाक्यशैली। तर अलग मिठासपूर्ण र बीच–बीचमा ठ्टयौली शैलीले उनलाई अलग ट््याग दिएकै छ।  फाइन प्रिन्टले निकालेपछि व्यवसायिकताको के कुरा गर्नु र। २२९ पृष्ठको उपन्यासको मोल ३५० सस्तो होइन। 
सल्लीपिर सफल नेपाल साप्ताहिक,सिन्धुलीमा १० जेठ २०७३मा प्रकाशित
– वाई . पि . विनय÷क.न.पा.–४, मधुटार, सिन्धुलीसल्लीपिर हिमालको दुःखको कथाहो । नयनराज पाण्डेले ‘उलार’ ‘लू’ ‘घामकिरी’ जस्ता उपन्यासहरु तरकाईलाई केन्द्रविन्दु बनाएर त्यहाको सांस्कृतिकरहनसहन र रिथितिथिलाई संगालेर लेखेकाथिएतिनै लेखकको कलमबाट विशुद्ध हिमाली संस्कृति र रहनसहनमा केन्द्रितभएर सल्लीपिर लेखिनु अद्भुत लेखकीयक्षमता पाठकले महसुस गर्ने विषयहो । यहि कुराले उपन्यास प्रति लेखकको सर्मपण प्रष्ट हुन्छ । 
तराईको नेपालगञ्जकाकथा लेख्ने नयनराज पाण्डेले सोलुखुम्बुको कथा लेख्नु १८० डिग्रिको भिन्नताहो तर पुस्तक पढ्दा यतिवास्तविकता महसुस हुन्छ कि लेखकनयनराज पाण्डे उपन्यासकापात्रहरु दावा र पेमाको गाउँ सेछेन तिरकै एकजना सेर्पा हुन् जसले हिमाली संस्कृतिको विषयमागहनअध्ययन र अनुसन्धान गरेका छन् चौरी चराउनखर्कहरुमाआफै पुगेका छन्, चौरीका घिऊ र घारे मौरीका मह बेच्न फे (तिब्त) पनि पटक–पटक गएका छन् हिमाल चड्न भरिया भएर जाने दावाहरुलाई धेरै पटक खादालगाएर विदाई गरेका छन् त्यसैले आफूले देखेकाजानेका र भोगेकादुःखकाकथाउपन्यासमा लेखेका छन् यो उपन्यास काल्पनीकउपन्यास हुदै होइन । यो त नेपालको हिमाली क्षेत्रको वास्तविक घटनाक्रम हो जो सदियौ देखि चलिआएको छ । उपन्यास वास्तमबै जिबन्त छ । 
सिन्धुलीको खुर्कोट र रामेछापको सेलेघाट जोड्न सुनकोशीनदिमाथिपक्कीपुलबनेपछि हामीले त्यो पुलले हिमाल पहाड तराई जोडेको भन्दै जनकपुरको सिदा साईनो गौरीशंकर हिमाल सँग भएकाकयौ समाचारहरु लेख्यौ । वास्तवमै एउटा भौतिक संरचनाले हामीलाई व्यवहारीक रुपमाजोडेको थियो, अहिले सल्लीपिर पढिसक्दा मलाई लागेको छ सल्लीपिरले हिमाल पहाड र तराईलाई भावनात्मक रुपमाजोडेको छ । हिमालको दुःखको कथा पहाड र तराईले महसुस गर्ने बातावरण लेखक पाण्डेले गराएका छन् । हो हाम्रो देशको हिमालमापनिदुःख छ, पहाडमा पनिदुःखछ र तराईमापनिदुःख छ तर त्यो दुःखहामी स्वम सम्बन्धीत क्षेत्रकावासिन्दालाई मात्रअबगत छ । सल्लीपिरले हिमालको दुःखलाई पहाड र तराईमा फैलाएको छ, जसरी तराईको दुःखलाई ‘लू’मार्फत पहाड र हिमालमा फैलाएको थियो । साहित्य जसरी समाजको ऐनाको रुपमा रहनु पर्ने हो वास्तवमानयनराज पाण्डेकाकितावहरुले त्यहि ऐनाको काम गरेका छन् । 
सेर्पा भएर पनि पुस्तकअध्ययनमा रुचि राख्ने छिरिङ पुस्तकअध्ययनकै विषयमाश्रीमती सँग झगडा भएर घरबाट निस्कन्छ र छिरिङकीश्रीमतीआफ्नो भविष्यखोज्न छोरी पेमालाई माइतीमा छाडेर एकजनाविदेशी सँग हिड्छिन् त्यसपछि बाबुआमाविहिनबनेकी पेमा र चौरी चराउनजादाहिमपहिरोमापुरिएर आमाबाबु गुमाएको सेछेन गाउँको दावाविच बैबाहिक सम्बन्धकायमहुदै अगाढि बढेको सल्लीपिरको कथामाथुप्रै उतार चढावहरु छन् ।हिमाली संस्कृतिको अक्षरस बर्णन गरिएको छ, लाग्छ त्यहाका चाडबाड, रिथितिथि केहिपनि छुटाएका छैनन लेखकले उपन्यासमा । चौरी पाल्ने चौरीहरुलाई खर्कमा चराउन लैजाने, घिउ बनाउने र त्यसको विक्रिबाट आएको थोरै पैसाले जिविकोपार्जन गर्ने, तिब्बतबाट नुनल्याएर घर जिविका टार्ने शेर्पा सस्कृतिभित्रअलिकतिआर्थिक उपार्जनको बाटो हिमाल चड्ने विदेशीको भारी बोक्ने र त्यसवापतपाउने पारिश्रमीकभन्दापनिउनिहरु खुशिले दिने वक्सीसले जिवन परिवर्तन गर्ने सपनाहरु विचको यथार्थ नै हिमाली संस्कृतिको रुपमा बर्णन गरिएको छ । अनित्यहियथार्थको एउटा पात्रभएको छ दावा । एक पटक चोमोलोङ्मा (सगरमाथा) विदेशीको भरिया भएर गएबापतदुई लाखकमाएको दावापुन पैसा कमाउने र पेमालाई सुखको संसारमा डुलाउने, छोरो फुर्वालाई पढाएर लामाबनाउने सपना सजाउदै सगरमाथाआरोहणमा जान्छ तर दुर्भाग्यगरिवको सानो सपनामाथिपनि दैव लाग्छन्, दावाआरोहणकै क्रममाहिमपहिरोमा परेर सदाको लागि विलाउछ । दावा मरेको खवर पेमा र फुर्वा भएको ठाउँमा आइपुगनमहिनौ लाग्छ । हुलाकबाट पाएको पत्रमादावाले हिमालआरोहणकाक्रमामाज्यानगुमाएको कुरा उल्लेख भएपनिगाउँमालामागुरु नभएको र अरु कसैले पढ्न नजानेकाकारण त्यो यथार्थत थाहापाउनपनिउनिहरुलाई धेरै समय लाग्छ । छोरो फुर्वाले पत्रलिएर बजारको लामा गुरुलाई देखाएपछि मात्रउसले थाहा पाउछ आफ्नो पालु (बुवा) हिमालआरोहणका क्रममामारीएको र सरकारले हिमालआरोहीलाई मृत्यु भएकाले दिने ५० हजार रकमलिनबोलाईएको पत्रभएको कुरा । यो घटना पछि पेमाको जीवनमा ठूलो बज्रपात पर्छ । दावाको अन्तिम संस्कार सकेर दुखिजीवनकाविच छोरो फुर्वाको भविष्य रेखाकोर्न दावाको मृत्यु पछि सरकारले दिने रकमलिएर छोरोलाई कितावकिनिदिने अन्तिमअभिलाषा सहित पेमायाम्बु (काठमाण्डौ) आउछिन् । भाषा समेत नमिल्ने काठमाण्डौमाउनले रकमलिननिकै ठूलो संघर्ष गर्नु पर्छ । एकजनाफ्रि तिब्बतआन्दोलकीयुवतिले उनका सबैकुरा सुनेर सहयोग गर्छिन र पैसा निकालेर फुर्वाकालागिकितावकिनिदिएर उनलाई जिरिको बस चढाईदिन्छीन तर जिरि आइपुगेकै रातउनिविष्फोटमा पर्छिन, विद्रोहीको कब्जामाहुदै सेनोको क्याम्प सम्म पुग्छीन् छोराकालागिल्याइदिएको किताव अनुसन्धानको घेरामा पर्छ, उनिफ्रि तिब्तआन्दोलनकी सहयोगी, विद्रोही, सुराकी सबै घोषित हुन्छीन, तर यथार्थमाउनिनिर्दोष सावित हुन्छिन् र छ महिना पछि किताव सहित छुटकरा पाउछिन तर समय निकै ढिला भईसकोे हुन्छ । उनले किताव सहितको चौरी लिएर सेछेन पुग्ने र छोरो फुर्वालाई तिकितावदिएर पढ्न लगाउने अन्तिम इच्छा पूरा गर्न सक्दिनन् । हिड्दा हिड्दै उनि बाटैमा हराउछीन् । हिमालको विशालतामाउनले बाटो गुमाउछिन्, कताबाट आए र कताजाने हो भन्ने कुराको अस्पष्टताले उनको जीवनमाअन्धकार ल्याउछ उनित्यहि सपना देख्छिन्, आफ्नो दावाको न्यानो काखमानिदाउन पुग्छीन्, बाबु छिरिङलाई पनिकतै देख्छीन् । उताफर्वा पनिआमाको खोजिमा घरबाट निस्कन्छ तर उसले हिमालमा बाटो विराएर हराएकीआफ्नीआमालाई काहा भेट्ने ?
उपन्यास दुःखद् घटनाक्रमले अन्त्य हुन्छ । पाठकको हैसियतले भन्नु पर्दा यतिदुःखद साहित्यनलेखिदिएको भएहुन्थ्यो जस्तो पनि लाग्छ तर के गर्ने बास्तविकता यो भन्दादुःखद् छ । जवहामी नेपालीहरु यहिदुःखभोगिररहेका छौ भने साहित्यले यथार्थ कुरा एउटा समाजबाट अर्को समाजमाकिननलैजाने ?हिमालको यो बास्तविकता पहाड र तराई सम्म पु¥याउने लेखक पाण्डे मुरी मुरी धनयवादकापात्रहुन् । साथै सांस्कृतिएकताकामहान हस्ती पनिहुन । यतिको स्तरीय साहित्य नेपाली माटोमाजन्मन सक्नु अर्को गर्वको विषयहो । लेखककाकलम सधै यस्तै चमत्कार गर्न तत्पर रहुन् । 
अन्तिममा एउटा गुनासो लेखक÷प्रकाशक सँग हिमालीभाषाको नेपालीशब्द–अर्थ राखेर एक पेज थपिदिएको भएभाषागत कठिनाई हटाउन सुनमा सुगन्धहाले जत्तिकै हुने थियो । पुनमुद्रमा यो प्राथमिकतामा पर्ने छ भन्ने अपेक्षाआम पाठकको होला सायद । [image error]
 •  0 comments  •  flag
Share on Twitter
Published on March 27, 2017 01:01

सल्लीपिर-हिमकथा



हिमकथानेपाल साप्ताहिकमा २३ जेठ २०७३मा प्रकाशित- सिपी अर्यालजोखिम मोल्न रुचाउने लेखकबाट पाठकलाई फाइदै हुन्छ । किनभने, त्यस्तो लेखक एउटै विषयवस्तुमा लेखिबस्दैन । पाठकले फरक–फरक विषयवस्तुका किताब पाइरहन्छन् । तराईको स्वरलाई आख्यानको सुन्दर शिल्पमा ढाल्न सक्ने लेखक नयनराज पाण्डेले यसपालि ठूलै जोखिम उठाएका छन् । त्यो जोखिमको परिणाम पाठकसामु छ, उपन्यास सल्लीपिर ।आख्यानमा कोही न कोही किनारीकृत वर्गको सवाल उठाइरहने उनले यसपालि सुदूर हिमाली भेगका शेर्पाको आवाजमा अक्षरको लेप लगाएर प्रस्तुत भएका हुन् । तराईबाट स्वाट्टै हिमाल चढेका पाण्डेको प्रतिभा हिमाली जीवनको अत्यन्तै सूक्ष्म वर्णनमा मज्जाले देखिन्छ । कष्टकर त्यहाँको जीवनबारे गम्भीर अध्ययन/अनुसन्धानसहित बलियो भएर प्रस्तुत हुनु किताबको गँठिलो यथार्थ हो । शेर्पाहरूको हृदयविदारक जीवनको कथा सँगसँगै त्यहाँको जीवनमा अक्षरको अभावले पारेको कष्टको पनि व्याख्या गरिएको छ । खुम्बुका शेर्पा अनपढ भएकै कारण दु:खपूर्ण जीवन बाँच्न बाध्य छन् भन्नु उपन्यासको तात्पर्य हो ।

कहिले खस्ला हे खुम्बुका देउता/एउटा त्यस्तै प्वाँख... यस खालको कवितात्मक भावसहित कथाको उठान गरिएको छ । खुम्बुका मानिस अक्षरको लेपसहितको एउटा सुखमय जीवनको पर्खाइमा छन् । कवितामा भनिएको प्वाँखले त्यही एउटा पर्खाइलाई जनाउँछ, जुन दुखिया मानिसको हकमा पूरा हुनै सकेको छैन । हरेक पुस्ता श्रापित छ सधैँ, पर्यटकको पछिपछि भारी बोकेर हिँड्न । खुम्बुबासी त्यस्ता माझी हुन्, जसले अरूलाई सधैँ नदी तारिरहे । तर, आफू पनि तैरिएर पारि जान कहिल्यै सकेनन् । अनगिन्ती आरोहीसँगै शिखर चढे तर सुखको शिखर चढ्न कहिल्यै सकेनन् । यिनै निमुखा ‘माझी’हरूको कथा हो, सल्लीपिर ।

बाबु छिरिङले पेमा सानी हुँदा उसैलाई भन्ने गरेको कथा पछि पेमाकै जीवनसँग जोडिएको छ । डरलाग्दो कथा सुनाउँछ छिरिङले बालखा छोरी पेमालाई । त्यसमा पेमा सोच्छे, ‘के मेरो बाबुसित मलाई सुनाउनका लागि सुखका कुनै कथा छैनन् ? किन उनले सुनाउने कथामा फूलहरू फुल्दैनन् ?’ किनभने, बालखा पेमालाई थाहा छैन, खुम्बु त दु:खको पर्याय हो, जहाँ सुखका लागि अलिकति पनि स्पेस छैन । यस्तै यस्तै परिवेशबाट कथा सुरु हुन्छ । अक्षरको भोको पेमाको बाबु र आमा छुट्टिएपछि सुरु हुन्छ पेमाको जीवनको हन्डर । यहीँबाट कथानक अघि बढ्छ सुस्त सुस्त । दावासँग बिहे भएर गएपछि पेमाको दु:ख व्यापक हुँदै जान्छ ।

सेताम्मे हिउँमा कष्टकर जीवन बाँचिरहेका तमाम खुम्बुबासीहरूकी महिला प्रतिनिधि पात्र भएर आएकी छ पेमा । त्यसबाहेक दावा, ग्याल्जेनहरू त्यहाँका पुरुष पात्रको चरित्रमा उभिएका छन्, जसले अनगिन्ती पटक शिखर आरोहण गर्छन्, भरियाका रूपमा । शिखर त आरोहण गर्छन् तर जिन्दगीको होइन, दु:ख र अभावको । फुच्चे फुर्वाचाहिँ खुम्बुको नयाँ पुस्ताको आशलाग्दो प्रतिनिधि पात्र भएर देखिएको छ, जो पछि अरू शेर्पाहरूझैँ दु:खी जीवन जिउन फेरि पनि अभिशप्त हुन्छ । यसप्रकार हरेक पुस्ताको दु:खको शृंखला कहिल्यै अन्त्य नहुने गोलरेखा हो भन्नु उपन्यासमा भएको यथार्थ हो ।

वर्णन भएको वातावरण, शेर्पाहरूको सुखदु:ख र संस्कृतिसँग गाँसिएका विषयवस्तु, जीवनशैलीको मिहिन अन्वेषण आदि कुरा किताबका ‘स्ट्रेन्थ’ हुन् । त्यसै गरी ती सबै कुरालाई अक्षरको सही भंगिमासाथ देखाउन सक्नु अर्को तारिफयोग्य पक्ष हो । फ्यान्टासी मिसिएको कवितात्मक भाषामा विशेष शक्ति देखिन्छ । कल्पनाशीलताको पनि मज्जाले प्रयोग भएको छ किताबमा । यद्यपि, त्यही कल्पनाशीलताको प्रचूर प्रयोगले केही ठाउँका प्रसंग अल्छीलाग्दो बनेका छन् । वर्णन गर्दा गर्दै लेखक लगाम फुस्किएको घोडाझैँ हुन्छन् । र, उड्छन् मस्त । कथाको सुरु र मध्यम खण्डको जस्तो गति छ, त्यसभन्दा बिलकुल बेग्लै छ अन्तिम खण्ड । किनभने, अन्तिम खण्डतिर कथाले प्राकृतिक कलेवर गुमाएको जस्तो भान हुन्छ । यद्यपि, छिटोछिटो मुभ हुने घटनाले पाठकलाई कर्‍याक्क पारेर राख्ने सामथ्र्यचाहिँ राख्छन् । पात्रहरू पनि बढी नै हतारमा देखिन्छन् । यसकारण सुरु र मध्यम खण्डको लय अन्तिम खण्डसँग मिलेको देखिँदैन । पेमा घर फर्किन नसकेर बाटैमा हराएको प्रसंगमा जोडिएको फ्यान्टासी सुहाउँदो देखिन्छ ।

मूल पात्र पेमाको चरित्रमा मज्जाले डुब्न सकेका छन् लेखक । दु:खको समुद्रमा तैरिरहेका पेमा, दावा, छिमी, फुर्वाहरूको कथा रियल लाइफका खुम्बुबासीसँग ठ्याक्कै मिल्छ । त्यसकारण ‘रियल’ र ‘रिल’ (आख्यानिक) लाइफका पात्रको संवेदनालाई दुरुस्तै देखाएर लेखक पाण्डेले सामाजिक मुद्दा उठाउन खोजेको स्पष्ट अनुभूत हुन्छ ।
 •  0 comments  •  flag
Share on Twitter
Published on March 27, 2017 00:59

सल्लीपिर-नरुचाइएको जीवन, खोजी नगरिएको अस्तित्व



नरुचाइएको जीवन, खोजी नगरिएको अस्तित्व समाधान दैनिक,पोखरामा २०७३ जेठ ३ गते प्रकाशित उदीपराज ढुंगाना   सल्लीपिर सल्लाको पातमात्र होइन । सोलुको पिर पनि हो । पीडा पनि हो । र, हो सोलु जस्तै अनेकन दुरदराजका बस्तीहरुको । जब गरिबीले अधिपत्य जमाउँछ, स्वतन्त्रता कैदी हुन्छ । केही कैदीहरुको कहानी पनि हो, सल्लीपिर ।
हामी गरिब छौं । जहाँ गरिबी हुन्छ, त्यहाँ सधैं एउटा उत्कृष्ट कथा हुन्छ । ग्रिक दार्शनिक ‘अरस्तुु’ ले भनेका छन्, ‘गरिबी क्रान्ति र अपराधको अभिभावक हो ।’ मलाई लाग्छ गरिबी दर्जनौं उत्कृष्ट कथाको जननी पनि हो । गरिब हुन आर्थिक कुराले मात्र भूमिका खेलेका हुँदैनन् । अपहेलित हुनु र नितान्त एक्लो हुनुको आभास दिलाइदिनुले अझ ठूलो गरिबी निम्त्याउँछ । कर्णालीका कथा काठमाडौंमा बसेर पहिले पनि लेखिएका छन्, बग्रेल्ती, विभिन्न दाबासहित ।लेख्न गाह्रो हुँदैन । लेखिरहन गाह्रो हुन्छ । विषयमाथि न्याय गर्ने मान्छे मात्र लेखक हो । विषय फरक राख्नुलाई मात्र अब नयाँपन मान्न सकिँदैन । नेपाल जस्तो अल्पविकसित÷विकाशील मुलुकमा गरिबी तथा विपन्नताको कथा÷विषयको कदाचित कमी रहँदैन । छैन । छ त केवल एउटा कुशल सूत्रधारको । यसपटक सोलुको सूत्रधार बनेका छन्, उलार र लु जस्ता सुन्दर र कालजयी उपन्यासका सर्जक नयनराज पाण्डे ।
सल्लीपिर सल्लाको पातमात्र होइन । सोलुको पिर पनि हो । पीडा पनि हो । र, हो सोलु जस्तै अनेकन दुरदराजका बस्तीहरुको । जब गरिबीले अधिपत्य जमाउँछ, स्वतन्त्रता कैदी हुन्छ । केही कैदीहरुको कहानी पनि हो, सल्लीपिर । जसको जिन्दगी फगत एउटा निश्चित सिमानामा सकिने गर्छ । जहाँका मानिसको भन्दा मानव निर्मित÷संरक्षित वस्तुहरुको मूल्य बढी छ ।छिरिङले जन्माएका हरेक पात्रको अन्तर्मनमा घरिघरी झिल्काको रुपमा देखा पर्ने शिक्षाको मधुर प्रकाशले उपन्यास शिक्षामा केन्द्रित रहेको प्रमाणित गर्न बल पुगेको छ । यो एउटा कवितामय उपन्यास पनि हो । तपाईं कविताको पाठक हुनुहुन्छ भने तपाईंलाई औधी खुसी लाग्नेछ । छिरिङको कविताबाट सुरु भएको उपन्यास छिरिङको प्रतिबिम्वको रुपमा नाङसेरेको सोही कवितासँगै सकिन्छ । भलै आख्यानकारले सुन्दर कवितालाई गीत भनेका छन् । यो कथा गरिबी, हिमाल, सीमान्तकृत समुदाय, खुम्बु, चौंरी र शेर्पाहरुको त हुँदै हो ।सम्पूर्ण रुपमा यो एउटा भोक र प्यासको कथा हो । शिक्षाको प्यास । चेतनाको प्यास । ज्ञानको प्यास । मुख्य पात्रलाई प्यास हुँदाहुँदै पनि कुवाको पानी विषाक्त छ भन्ने भ्रम छ । भूतमात्र देख्छ किताबहरुमा । भगवान समग्रमा घटना भएपछि आउने प्रहरीको भूमिकामा छन् ।कथ्यशैली बेजोड छ । आफैंमा नेपाली फिल्मका कथा तथा पटकथाकार समेत रहेका आख्यानकारले पटकथाको सुन्दर प्रयोग गरेका छन् । मूल कथालाई अगाडि बढाउन त्यो प्रयोग सार्थक सिद्ध देखिन्छ । पात्र निर्माणमा हतार देखिँदैन । लम्बेतान पनि देखिँदैन । सन्तुलित लाग्छ । पछिल्लो समयका केही आख्यानमा आख्यानकारले ‘सेट डिजाइन’ गर्दा गरेको ‘कथा तन्काउने गल्ती’ पाण्डेले गरेका छैनन् ।फिक्सन कथालाई यथार्थपरक रुपमा प्रस्तुत गरिएको छ । कुनै उत्कृष्ट थ्रिलर चलचित्र हेरेको भान पनि हुन सक्छ पाठकलाई । पेमासँग लगातार यात्रा गरिरहँदा काहिँ कतै पनि तपाईं थाकेको महसुस हुँदैन । कमजोर मुटु भएका पाठकले रुमाल लिएर पढ्न बस्दा उपयुक्त हुन्छ । तात्कालीन समयमा एउटै वस्तुलाई सेना र माओवादीले हेर्ने दुई दृष्टिकोणलाई बडो सरल तरिकाले सुन्दर रुपमा प्रस्तुत गरिएको छ । घटनाक्रमहरु यसरी आउँछन् कि पढ्दा रोकिने सम्भावना कम छ ।देशमा विभिन्न कालखण्डमा भएका घटनालाई जोडेर लेखकले कथा सत्य हो कि भनेर सोच्न बाध्य बनाउँछन् । त्यसले मुलकथामा केही प्रभाव त पारेको छैन, बरु कथामा मिठास भने थपेको छ । हुन त किताबको ‘पोखरा विमोचन’मा लेखकले भनेका थिए, ‘प्रस्तुत कथा सतप्रतिशत यथार्थ हो र सतप्रतिशत फिक्सन पनि ।’ त्यो निर्णयको जिम्मा पूर्ण रुपमा पाठकसँग सुरक्षित राखिदिएका छन्, लेखकले ।त्यो अनुभव उपन्यास सकिएपछि अझ विषेशरुपमा पाउँछन् पाठकले । विभिन्न ठाउँमा आउने ‘सपना प्लट’ले पाठकलाई रोमाञ्चित बनाउँछ । उपन्यासको सुरुमा अन्याय गरिएका विषय तथा पात्रहरुलाई अन्य पात्रको माध्यमबाट लेखकले शृंखलावद्ध न्याय गर्ने प्रयास गरेका छन् । क्रुर ग्ल्यामोको मातृत्व छिमी पात्रले सन्तुलित बनाएको छ । कर्माको बहिर्गमन र आगमनलाई सुक्ष्म रुपमा भए पनि सम्बोधन गरिएको छ । औचित्य प्रस्ट पारिएको छ । शेर्पाको रहनसहन, चाडपर्व र जन्म तथा मृत्यु संस्कारबारे पूर्ण जानकार हुन्छ पाठक उपन्यास सक्दा नसक्दै ।लेखकले आफूले प्रस्तुत गर्न खोजेको विषय÷विचारमा विरोधाभास आउन दिएका छैनन् । उपन्यासको उत्तरााद्र्धतिर ‘प्रोजेक्टर’ छिटो दौडिएको भान हुन्छ । कथा ‘कोल्याप्स’ त भएको छैन तर, पाठकको दिमाग सामान्य मानिसको हिँडाइबाट म्याराथन धावक बन्न बाध्य हुन्छ । बिट मार्न हतार गरिए जस्तो लाग्छ । लेखकको त्यही हतारको चाहनाले दौडिएको पाठक थकित हुने सम्भावना देखिन्छ ।एउटा गजबको ‘प्रयोग ?’ छ उपन्यासभरि । खुम्बुमा बस्ने हरेक शेर्पालाई प्रस्ट नेपाली भाषा बोल्न आउँछ । शेर्पा भाषा र लवज तिनीहरुले बिर्सिसकेका छन् । सुरुबाट अन्त्यसम्म उनीहरुमा आफ्नो भाषाप्रतिको रुचि÷ज्ञान देखिँदैन । राजधानीमा बस्ने नेपाली भाषाको सम्पादक जस्तै ज्ञान छ, उनीहरुमा । पात्रका वरिपरिका सम्पूर्ण वस्तु तथा चिजबिजका नाम उनीहरुले आफ्नो भाषामा लिन्छन् । तर, आपसमा बोल्दा आफ्नै लवजको प्रयोग गर्दैनन् ।हरेक शेर्पासँग प्रस्ट नेपालीमा सुन्दर गीत (कविता) गाउन सक्ने खुबी छ ? शेर्पा भाषाको सम्भोट लिपिमा नै आख्यान लेख्ने कुरो त भएन तर, त्यो लोकल टोनको अभाव खट्किन्छ । स्थान र स्थानीकरणका लागि त्यति बिघ्न अध्ययन र अनुसन्धान गरेर पनि भाषामा स्थानीय टोनमा भने आख्यानकार किन चुकेका होलान् ?जहाँ—जहाँ पात्र पुग्छन्, पाठकलाई आफैं पुगेको भान हुन्छ । कथाको सुन्दर रुपमा ‘सेट डिजाइन’ गरिएको छ । गहिरो अध्ययन र अनुसन्धान गरेको देखिन्छ । लेखकले अक्षरबाट न्याय गरेका छन्, खुम्बु क्षेत्रको सुन्दरता र विकटतालाई । पेमासँगको हरेक यात्रामा पाठकले आफ्नो बलियो उपस्थिति पाउँछ । सगरमाथा उक्लिँदा होस् या उक्लिएको कहानी सुन्दा ।चाैरीलाई गोठ लैजाँदा होस् वा शेर्पाप्रति तिब्बतीको व्यवहारमा, छिमिको मायामा होस् या ग्याल्जेन÷दावाको बिहेको सिलु र स्याब्रु नाँचमा । चिमल र धूपीको बास्ना आइरहन्छ पठन यात्राभरि । कथामा स–साना ‘चेन’हरुको निर्माण गरेका छन्, लेखकले । जसले पाठकलाई बाँधिरहन्छ । फुत्कनै दिँनैन । मिहीन ढंगले गरिएको यो प्रयोगले उपन्यासलाई लोभलाग्दो बनाएको छ ।तराईको तातो हावामा रमाइरहेका नयनराज पाण्डे योपटक हिमाल उक्लेका छन् । एउटा दबाब थियो नयनलाई, तातो हावा वरिपरिबाट बाहिर निस्कन । आरोप थियो, नयनले समथर बाहेकको कथा लेख्नै सक्दैनन् । यो भम्र चिर्नु थियो । यो उपन्यास आउनुमा यो तत्वले पनि केही न केही काम पक्कै गरेको छ । हिँडिरहनेलाई हिँड्न भयंकर गाह्रो हुँदैन । पाण्डे थाकेको भान हुँदैन उपन्यासभरि । सल्लीपिर आर्थिक गरिबीको मात्र कथा होइन । यो कथा एउटा वास्ता नगरिएको बस्तीको हो । नरुचाइएको जीवनको पनि । यो खोजी नगरिएको अस्तित्वको हो ।हरेक बिहान सूर्य उदाएर पनि अँध्यारो रहने घरहरुको कथा हो । जहाँ शिक्षाको अभाव छ । ज्ञानको आवश्यकता छ । चेतनाको प्यास छ । दुख र नोक्सान भएपछि मानिस अधिक विनम्र र सहयोगी बन्छ । एउटा विनम्र र सहयोगी समूहलाई सुन्दर बस्तीको रुपमा निर्माण गरेका छन्, लेखकले । मलाई सरुभक्तको मदन पुरस्कार प्राप्त उपन्यास ‘पागल बस्ती’ पढिसकेपछि एउटा जंग चल्यो । म हान्निएको थिएँ, कास्कीको नौडाँडामा पागल बस्ती खोज्न । कल्पनाशक्तिले बसाएको बस्ती भौतिक थिएन । त्यो खतरा सल्लीपिरमा पनि छ ।
 •  0 comments  •  flag
Share on Twitter
Published on March 27, 2017 00:58

सल्लीपिरबारे कुमुद अधिकारीको पत्र



Kumud Adhikari on  bOOkahOlics May 14  · प्रिय नयनजी
म तपाईँको नवीनतम उपन्यास सल्लीपिरको विमोचन समारोहमा पुगेको थिएँ। नेपाल पर्यटन बोर्डको प्राङ्गणमा तपाईँलाई खोज्दै आँखाहरू डुलाउँदा, तपाईँ पुस्तक हस्ताक्षरमा व्यस्त हुनुहुन्थ्यो। मनभित्र झिनो आस थियो कतै तपाईँले मलाई देखि पो हाल्नुहुन्छ कि ! त्यहाँ उर्लिएको मानवसागर तपाईँको लेखनी मन पराउने मनुवाहरूको थियो। काउन्टरमै उलार र सल्लीपिर किनेर झोलामा च्यापेको थिएँ। लागेको थियो हस्ताक्षर लिनेछु। तर अलिक अस्वस्थ भएकाले लाइन लागेर हस्ताक्षर गराउने आँट गरिनँ। कुनै दिन बोधि बुक्स एन्ड बेक्समा कफि खाँदै गफ गरौँला र हस्ताक्षर लिऊँला।
गन्थन यतै पन्छाउँदै अब किताबका कुराः
उलारः
पहिले उलार पढेँ। दुई घण्टामै पढिसिध्याएँ। उलार एउटा सिरानी छेउमा राख्ने पुस्तक हो। हिन्दीमा एउटा पदावली छ “आज सिरहाने”। भन्नाले आफूले पढ्दै गरेको पुस्तक सिरानी छेऊ राख्ने। तर उलार आजका लागि मात्र नभएर सधैँ सिरानीमा राख्ने पुस्तक रहेछ। मलाई पछुतो भयो किन मैले त्यो पुस्तक बीस वर्ष अगाडि नै पढिनँ ? जेहोस्, समयलाई रिवाइन्ड गर्न मिल्ने भए हुन्थ्यो तर त्यस्तो हुँदैहुँदैन।
सल्लीपिरः बडो उत्साहका साथ सल्लीपिर समातेँ। पन्नाहरू पल्टाउँदै गएँ, पढ्दै गएँ। साँझ बिहानका व्यस्तताहरूमाझ पुस्तकले तान्दै लग्यो। पात्रहरूसँगै मन कहिलेकाहीँ हिउँजस्तै चिसिँदै गयो। जिन्दगी पनि कति अनौठो, संयोग भनौँ या अरू केही, मेरो ग्याल्जेन नामको साथी थियो दार्जीलिङमा। अध्ययन सकेपछि हामी छुट्टियौँ र अहिले पनि उसको अत्तो पत्तो छैन। ऊसँग खिचेको फोटो सुम्सुम्याउँदै म उसलाई सम्झिरहन्छु। सल्लीपिरले अतीतका सम्झनाहरू असरल्ल फिँजाइदियो। अर्को साथी थियो पेम्बा, अर्को थियो दावा। सबै शेर्पाहरू थिए। कसैको घर राजबाडी थियो कसैको भोटेबस्ती। हामी कति हो कति मिल्थ्यौँ। लू पढ्दा मैले नयनजीलाई मेरो मुस्लिम साथीका बारे लेखेको थिएँ। अहिले त्यस्तै भैरहेको छ। याकहरू र नाकहरू – हिमाली जीवनका अभिन्न सहयात्री। 
सल्लीपिरका केही समीक्षाहरू पनि पढ्न भ्याएँ। कतै फूर्वाको किताब प्रेम अस्वाभाविक भयो भनि लेखिएको पाएँ। कतै पेमाको याम्बुयात्रा। तर मलाई कहिल्यै त्यस्तो लागेन। समालोचक जानून्। जिन्दगी आख्यानभन्दा कैयन् गुना रहस्यमयी हुन्छ। गाब्रियल गार्सिया मार्खेजको वन हन्ड्रेड इयर्स अफ सलिच्युड पढ्दा कहिल्यै अस्वाभाविक लाग्दैन तर त्यहाँ हुनै नसक्ने घटनाहरू पनि वर्णित छन्। नयनजीलाई म बधाई भन्छु र मलाई लागेको कुरा भन्छु है तः
1. हिउँ नै हिउँले भरिएको चोमोलोङमामा बिहान बेलुकी घाम पर्दा सुन पोखिन्छ रे भनेको सुनेको थिएँ, नयनजी कतै छुट्यो कि ? बिहानीको उज्यालोसँगै मुस्कुराउने हिमाली चुचुराहरू पनि छुटे कि ?
2. चौँरीको दूधबाट बनेको मीठो छुर्पी पनि त त्यतै रहेछ। भैगो याम्बु ओर्लिन पाएन होला वा पेमाले छुर्पी बनाउन जानेकै थिएन कि ! 
3. बर्खामा सल्लाका हाँगाहरूमा ठोक्किएर चिसो आँसुझै तप्प तप्प खसिरहने बादल(हुस्सु) र बाटाभरीका सल्लीपिरलाई भिजाइ रहने सीत पनि पो पहाडतिरै छुटेछन्। 
4. सल्लाका हाँगाहरू बालेर आगो ताप्ता आउने बास्ना पनि हिमालतिरै पो उडेछ। किताबतिर आउनै बिर्सिएछ।
.............................
..................................
.................................
मेरो साथी दावा र ग्याल्जेनले सल्लीपिर पक्कै पढून् र कुमुद भन्ने एउटा बाहुन मेरो साथी थियो भन्ने सम्झिऊन्।हामी भेट्नेनै छौँ। ग्याल्जेनको र मेरो जस्तै मित्रता तपाईँको र मेरो होस्। हुन्न नयनजी !शुभकामनासहित
कुमुद।
 •  0 comments  •  flag
Share on Twitter
Published on March 27, 2017 00:57

नौलो लेखनीको संयोजन– सल्लीपिर



नौलो परिवेश र नौलो लेखनीको संयोजन– सल्लीपिर(पिपलनेटा डटकममा प्रकाशित)सोबिता रिसाल नेपाली साहित्यका लागि नयनराज पाण्डे नौला लेखक होइनन् । लेखक नौला नभएपनि उनको लेखनी सधैं नौलो हुने गरेको छ । यो पटक पनि पाण्डेले नेपाली साहित्यमा विल्कुलै नौलो परिवेशलाई भित्र्याएका छन्– सल्लीपिर मार्फत ।प्राकृतिक, साँस्कृतिक अनि पर्यटकिय महत्वले भरपुर सोलुखुम्बुका गरिब शेर्पाहरुको कथा हो–सल्लीपिर । जसरी उम्रिए देखि नमरून्जेलसम्म झरिरहन्छन् सल्लाका पातहरु निरन्तर, त्यसरी नै जन्मिए देखि नमरुन्जेलसम्म दुःख भोगिरहन्छन् सल्लीपिर भित्रका शेर्पाहरुले ।सगरमाथा र नाम्चेबजार विश्वव्यापी भइसके तर सदियौं देखि उस्तै छ आसपासमा बस्ने शेर्पाहको कथा । यही परिवेशलाई विभिन्न घटनाक्रममा उन्दै तयार भएको छ– सल्लीपिर । सल्लीपिर भित्रको कथा त नौलो छ नै यसको लेखनी पनि उत्तिकै नौलो छ । कतै कवितात्मक, कतै कथात्मक त कतै निबन्धात्मक शैलीमा लेखिएको यो उपन्यास श्वेत कल्पना मात्रै भएपनि वास्तविकतासँग निकै नजिक रहेको छ ।सल्लीपिर दुःखै दुःखको कथा हो । लेखकले कथामा प्रयोग गरेजस्तो इन्द्रधनुषी खुसी र सुखहरू छैनन् खुम्बु र सेछेनका बस्तिमा । लेखकले सल्लीपिरमा विशेषगरी दुःख पाएका र पिछडिएकाहरूको कथालाई मिहिन ढंगले उठाएका छन् ।कथा त्यही आसपासबाट शुरू हुन्छ, जतिखेर देशमा बहुदलिय प्रजातन्त्र सहितको राजनीतिक आन्दोलनले सफलता पाएको थियो । केन्द्रमा प्रजातन्त्र फस्टाउँदै गर्दा सेछेन र खुम्बुतिर त्यसको हावा अलिकति पनि पुगेको थिएन । प्रजातन्त्रको आडमा माओवादी विद्रोह सम्मको चेत खुल्दा शेर्पाहरुमा राजनीतिक, सामाजिक जागरण शुन्य प्राय छ ।कथाकी मुख्य पात्र पेमा शेर्पाले आमशेर्पाहरूको प्रतिबिम्बित गर्छिन् । उपन्यास पढ्दै गर्दा पेमा आँखाभरी घुमिरहन्छिन् । हिमाल झै सुन्दर अनि निश्चल पेमा र कर्माहरुको जीन्दगी कति दुःखदायी बनेर बित्छ । के यो महसुस गरेको छ काठमाडौंले ? सल्लीपिरले प्रश्न खडा गरिदिएको छ ।हुन त जीवनको अर्को नाम नै दुः ख हो भन्नेहरु पनि छन् । जीवन के हो नबुझ्दै, जीवनको अर्थ आफैंले महसुस गर्न नपाउँदै बाबु छिरिङ र आमा ग्याल्मोको अन्र्तसघंर्षमा चेपिएकी पेमाले दुःख पाईरहन्छे जीन्दगीभरी ।१६ सय किताब पढ्ने छिरिङ र किताब अनि अक्षरलाई भूत झै मान्ने अन्धविश्वासी आमाको चेपुवामा पर्छिन्– पेमा । के किताबले मान्छे बिगार्छ ? उक्त समुदायमा व्याप्त अन्धविश्वासलाई छर्लङ्ग पारेका छन् लेखकले ।कथाभरी शेर्पाहरु चौरी, गोठ अनि खर्क वरिपरि घुमिरहन्छन् । हिमालमा टुरिष्ट गाईड हुँदाका किस्सा, गोठमा चौरी डुलाउँदाका कुरा । बाघ र भालुसँग लडेको कथा । अनि तिब्बतसम्म पुगेर नुन किनेको स्मरण । पुजा आजा । यही परिवेश वरिपरि घुमिरहन्छ– सल्लीपिर ।सल्लीपिर पढ्दा कुनै किताब पढे झैं लाग्दैन् । सिनेमा हेरे झैं हुन्छ । पढ्दै गर्दा त्यही ठाउँ पुगिन्छ, जहाँ सल्लाका बोटबाट झरिरहेका छन् सल्लीपिरहरु । नजिकै हिमाल छ । काठै काठले बनाएका घर छन् । बाक्लो बख्खु लगाएका मान्छे छन् । चौरी छ । गोठ छ । नुन हालेको चिया र छ्याङ खाइरहेका मान्छे छन् । अनि निरन्तर–निरन्तर फुसफुस गर्दै खसिरहेको चाँदी झै टल्कने हिऊँ छ ।पेमाकै वरिपरि घुमेको कथा फुर्वामा गएर सकिन्छ । पेमाको बुवा छिरिङ जस्तै छोरा फुर्वामा पनि पढ्ने लेख्ने रहर छ । छोरोलाई पढाउने लेखाउने गाँउभरीकै शिक्षित बनाउने पेमाको एउटा मात्रै सपना छ ।चाहेर पनि सुख पाउन सक्दैन् सेछेनले । कहिले आर्थिक कहिले राजनीतिक अनि कहिले सामाजिक बन्दनमा जेलिरहन्छन् शेर्पाहरू । हिमाल जस्तै चिसो मन पारेर चिसै जीन्दगी बिताउन बाध्य छन् हिमाली समुदाय । शिक्षा, स्वास्थ्य, यातायात र आधुनिकता भन्दा टाढा धेरै टाढा कल्पना मात्रैको संसार झै लाग्ने कथाका पात्र र परिवेश घुमिरहन्छन् सल्लीपिरका वरिपरि ।प्रकृतिले बरदान दिँदा राज्यले र राजनीतिले ठगेको छ– सेछेनलाई । भोट माग्न पुग्ने नेताहरू चुनाब जितेर मन्त्री बनेपछि मतदाता बिर्सिन्छन् ।काठमाडौं आफ्नै झै लाग्ने कुनै आभास हुँदैन् उनीहरुमा । जसरी पेमाले सगरमाथाको हिम पहिरोमा पुरिएको आफ्नो लोग्ने दाबाको क्षतिपुर्ति लिन आउँदा काठमाडौमा सास्ति भोगेकी छ । जीवन हिउँमा समर्पण गरेर प्राप्त गर्ने ५० हजार रुपैयाँ पेमाको लागि ठूलो हैन् तर उसको सपनाको लागि निकै ठूलो रकम बनेको छ ।जनयुद्ध कालको तितो यथार्थ पनि खोतलेको छ– सल्लीपिरले । गणतन्त्र र समान व्यवस्थाको नारा सहित शुरू भएको जनयुद्धमा पेमा जस्ता सोझा साझा नागरिकले पाउनु सम्मको दुःख पाए । शहरमा चलेको राजनीतिको असरले पेमा, छिरिङ, दाबा र ग्यालेजनहरूको जीवन त बर्बाद भएको थियो–थियो भविष्यको होनाहार फुर्वाको सपना पनि कुल्चिएको छ ।नरमाइलो त त्यति बेला लाग्छ जतिबेला बोराभरी किताबै किताबको खात बोकेर छोरा भेट्ने उत्कट चाहानामा हिडेकी पेमा बाटोमा नै जीवनको अमूल्य समय बिताउन बाध्य हुन्छे । उता किताब आमा अनि ज्ञान सहितको उज्वल भविष्यको कामना गरेको फुर्वाको सपनामा हिमपात हुन्छ ।राजनीतिक र सामाजिक धारमा रहेर लेख्ने नयनराज पाण्डेले यसपाली पुस्तौ पुस्ता देखिको शेर्पाहरुको कथा उठाएका छन् । पहाडमा जन्मेर तराईमा हुर्केका पाण्डेले शेर्पा समूदायको सामाजिक अवस्थालाई अत्यन्तै न्यायोचित ढंगले औपन्यासिक रूपमा प्रस्तुत गरेका छन् । संगै सल्लीपिरले पर्यटनको बलियो सम्भावनालाई पनि उठाएको छ । कथामा जति–जति हिमाली भेग उक्लिदै गयो उति–उति देखिने, गुम्बा, माने, खर्क, लेक र ध्वजाहरुले पर्यटकीय स्थान पनि पक्कै लिनेछन् ।समग्रमा उपन्यास निकै पठनीय बनेको छ । यसमा प्रयोग भएको समय र रकम पुरापुर असुल हुनेछ । लू, उलार, घामकिरी जसरी नेपाली साहित्य क्षेत्रमा चर्चामा रहन सफल भए सल्लीपिरले त्योभन्दा बढी चर्चा पाओस् शुभकामना ।
 •  0 comments  •  flag
Share on Twitter
Published on March 27, 2017 00:57

रुमाल लिएर बस्नुपर्ने सल्लीपिर



आँशु पुछ्न रुमाल लिएर बस्नुपर्ने सल्लीपिरलोकान्तर दैनिक अनलाइन पत्रिकामा प्रकाशित अमृता लम्साल  
तराईमा जन्मी हुर्केका लेखकले हिम्मतका साथ हिमाली जनजीवन र संस्कृतिबारे लेख्न कम्मर कसे । अरूले सोचेका थिए कि थिएनन् कुन्नि ! उनले नयाँ विषयमा झ्याम्मै हात हाले । खुम्बु र माने घुमिरहेका हिमाली गुम्बाहरूलाई आफ्नो कथाको मुख्य स्थान र पात्र बनाए । छोटाछोटा वाक्य संयोजनले सिंगारिएको लेखकको आफ्नो मन्त्रमुग्धकारी लेखनशैली त छँदै थियो, त्यसैलाई साथ लिएर हिमाली भेगका वासिन्दाको यति कारुणिक चित्र कोरे कि समय–समयमा छेउमा आँसु पुछ्ने कपडाको टुक्रो राखेर पुस्तकको पाना पल्टाउँदै जानुप-यो ।बाल्यकालमा शेर्पा र लामा देख्दा डरले मुटु काम्थ्यो किनकि हामी हुर्किएको समाजमा अरू समाजसँग घुलमिल भइहाल्ने, आफू इतरका समुदाय र समाजको बारेमा जान्ने चलन थिएन । बख्खु र ‘ह्याट’ जस्ता टोपी लगाएका, लामो लामो कपाल (त्यो पनि नकोरेर जगल्टा देखिने) भएका व्यक्तिहरू घरघरमा जिम्बु र सियो लिएर आउँथे । समाजका वासिन्दाहरू उनीहरूसँग चामल वा अन्य अन्न दिएर जिम्बु साटासाट गर्थे । यो चलचित्रको कथा होइन, काठमाडांैको चावहिलमा जन्मिएकी यो पंक्तिकारले देख्दै हुर्किएको दृश्य हो ।बौद्ध गुम्बा नजिकै थियो तर यसरी मनमा ‘डर’ पसेको थियो कि ‘थाक्से र भोटेले बच्चाहरूलाई लैजान्छन् र उनीहरूको नजिक जान हुन्न’ भन्ने मनोवृत्ति लिएर हुर्किइयो । त्यसैले ती सरल मानिसहरू, उनीहरुको संस्कृति र उनीहरूको रहनसहनबारे जानकारी पाउने समय कहिल्यै जुरेन । त्यसैले पनि होला, ‘सल्लीपिर’ हातमा पर्नेबित्तिकै त्यसका पानाहरू यसरी पल्टाइयो जसरी कुनै केटाकेटीहरू मिठो चक्लेट पाउँदा चुसिहाल्छन् ।हुनत धेरै पाठकहरुको प्रतिक्रिया यो पनि छ, सल्लीपिरले पीडाको महल ठड्याएको छ । कलात्मक लेखनमार्फत लेखकले पाठकको मनलाई दुःखमा यति धेरै डुबाइदिए कि त्यसको वेदनाले भरिएको मनलाई निकाल्न ठूलै कोसिस गर्नुप-यो । तर कुरा यो पनि हो, मानवीय चाख नै आँसु र पीडामा धेरै देखिन्छ । आँसुले पाठकलाई बाँध्छ र आँसु लेखकको पनि प्रिय वस्तु हो । प्रेमकहानी नै पढ्नुछ भने पनि आँखा पुछ्दै लैला–मजनु, रोमियो–जुलियट नै बढी पढ्न खोजिन्छ । शायद लेखक पनि यही सिद्धान्तबाट अभिप्रेरित भएका हुन् कि !उनले कतिसम्म आँसु दिएका छन् भने उनी लेख्छन्, ‘त्यो चिसो अाँसुु सँधै नदी भएर बग्दैन, त्यो त हिउँ पनि बन्छ र थुप्रिन्छ हिमालमा । हिमाल त्यसैले आँसुहरुको शिखर पनि हो । कसैका लागि पनि सजिलो छैन यो शिखर उक्लन ।’ उसो त पुस्तकले हिमाली भेगको दैनन्दिनी मात्रै समेटेको छैन ।विषयको हिसाबले किताबलाई थुप्रै भागमा बाँड्न सकिन्छ । पहिलो, यसको मुख्य पात्रको शिक्षाप्रतिको लगाव । दोस्रो, हिमाली भेगका जनताले हरेक दिन भोग्नुपरेको कष्ट र त्यही कष्टले हिमाल चढ्नेहरूका भरिया बनेर जानुपर्ने बाध्यता । तेस्रो, माओवादी युद्धले गर्दा सर्वसाधारणले भोग्नुपरेको पीडा । चौथो, ‘फ्री तिबेत’ आन्दोलनमा कसरी सोझासाझालाई फँसाइन्छ भन्ने प्रसङ्ग र पाँचौ, सरकारी कार्यालयले सरकारी कामको सिलसिलामा गाउँबाट आएका सामान्य जनतालाई दिने दुःखकष्ट ।पुस्तकबारे थुप्रै पाठकका प्रतिक्रिया र टिप्पणी सामाजिक सञ्जालहरुमा छ्याप्छ्याप्ती आइरहेका छन् तर त्यसभित्रको मुख्य विषय, ‘शिक्षा’को बारेमा भने कमै पाठकले मात्र ध्यान दिएको देखिन्छ । सल्लीपिरले शिक्षाको बारेमा चेतना जगाउन ठूलो भूमिका खेलेको छ । किताबभरिनै ‘अक्षर’को कथा मिठोसँग बुनिएको छ, माकुरोले मसिना जालमा नजानिँदो किसिमले आफ्ना आहार फँसाए जस्तै ।[image error]साँच्चै भन्नुपर्दा, पुस्तकको सुरुआत नै ‘अक्षर’प्रतिको मोहबाट हुन्छ र त्यही ‘अक्षर’ चिन्ने र चिनाउने परिवेशमा कथाको अन्त्य गरिन्छ । कथाको शुुरुवातमा दुई विपरीत ध्रुवमा रहेका परिवार देखाइएको छ, ‘कर्मा’ र ‘पेमा’को बाबुआमाको परिवारमा प्रेममा डुबेका लोग्ने र स्वास्नी छन् भने पेमाको बाबुआमाले एक अर्कालाई माया गरेको पेमाले देखेकी हुँदिन ।पेमाको बाबुआमाको कथा पढ्दा कताकता ‘अनमेल विवाह’ को झल्को देखिन्छ । कारण, पेमाको बाबु किताब भनेपछि भुतुक्कै हुने तर उसकी आमा किताबलाई आफ्नो शत्रु ठान्ने । त्यही किताबकै कारण पेमाको बाबु छिरिङले उसकी आमा ग्याल्मोलाई छाडेर हिँड्छ ।त्यो क्षणको वर्णन लेखले यसरी गरेका छन्, ‘एक रात छिरिङ पढ्दा–पढ्दै निदायो । त्यही मौकामा ग्याल्मोले छिरिङले कताकताबाट जम्मा गरेका सबै किताब कोठाभित्रबाट बाहिर आँगनमा ल्याई । हिजोमात्र सल्लाघारीबाट बटुलेर ल्याएका जम्मै सल्लीपिर र सिम्टाहरू किताबमाथि थुपारी । आगो सल्काइदिई ।सल्लीपिर र सिम्टासँगै किताब पनि जल्न थाल्यो । धुँवा उड्न थाल्यो । एघार सय सो-हवटा किताबहरूको धुवाँ । किताब सल्किसकेपछि छिरिङ ब्युँझियो । आफूले कति जतन गरेर राखेका किताब बाहिर जलिरहेको देखेर उसको मन निचोरियो । त्यो रात छिरिङले जलिरहेका किताबबाट माथिमाथिसम्म उडिरहेका आगाका झिल्कातिर हेरिरह्यो । उसले ती झिल्कामा जलिरहेको किताबबाट अताल्लिएर मुक्त हुन खोजिरहेका अक्षरलाई देखिरहेको थियो ।’त्यसपछि छिरिङ घर मात्रै होइन, उसले एकदमै माया गर्ने आफ्नी छोरी समेत छाडेर हिँडिदिन्छ । उसको किताबप्रतिको लगाव त्यति गाढा थियो । उही छिरिङकी छोरी आफ्नो छोरालाई पढाएर रिम्पोछे बनाउने उद्देश्यमा दुखको कहर उठाएर कताकता पुग्छे, कति हन्डर खान्छे , सल्लीपिर त्यसैमा रुमल्लिएको छ ।कथा बुन्ने क्रममा लेखकले आफ्नो ‘अक्षर’ प्रतिको भोक मार्न नसकेर छिरिङले आफ्नै छोरी पेमाको गर्भबाट फुर्वाको जन्म गराइदिन्छन् । उनी लेख्छन् , ‘त्यस रात पेमाले सपना देख्छे । सपनामा छिरी पेमालाई भन्छ, ‘हरेक आमाबाबु आफ्नै सन्तानको गर्भबाट जन्मिन्छन् । म मरेर फेरि तेरो छोरा भएर जन्मिएँ ।’ सपनाबाट ब्युँझिएपछि पेमाले आफैँलाई प्रश्न गर्छे, ‘के मेरै कोखबाट जन्मिए मेरा बाबु?’ अनि पेमाको जीवनको उद्देश्य नै बदलिन्छ ।आख्यानभित्र घोत्लिइरहँदा कतैपनि लाग्दैन कि आफू त्यहाँ पुगिएको छैन । वर्णन त्यति जीवन्त छ । शेर्पा जातिको धर्मप्रतिको श्रद्धा, रहनसहन, खानपिन, उनीहरूको कोठाचोटाको विवरण र संस्कृति कतै पनि लेखक चुकेजस्तो लाग्दैन । तरैपनि लेखकले सुखान्त भने पटक्कै सोच्न सकेका छैनन् । हुँदाहुँदा एउटा स्थानमा उभ्याइएकी, छोटो भूमिकामा देखिएकी पात्र ‘निमी’ समेत हिमालमै आफ्नो आत्महत्यामार्फत आफ्नो देह विसर्जन गर्छे ।ऊ भन्छे, ‘शिखरमा आइसकेर किन फेरि तल झर्ने हतार गर्छन् मानिसहरू ? मलाई शिखरमै बस्न देऊ, यो उचाइ र चिसोलाई अनुभव गर्न देऊ ।’ किताबमा पटकपटक मस्तिष्कलाई सोच्न बाध्य पारेको अर्को वर्णन छ । त्यो हो, जे कुरामा पनि ‘एघार’ अङ्कलाई महत्व दिइएको छ । जलेका किताब ११ सय १६, वस्तीका घरहरू ११, चौँरीको बथान १ सय ११ । शायद, शेर्पा जातिमा ‘११’ अङ्कको कुनै महत्व रहेछ कि ?किताबमा पद्यात्मक शैलीको पनि धेरै ठाउँमा प्रयोग गरिएको छ । केही उदाहरण हेरौं:‘मुटुभित्र धेरै थोक हुन्छ । उसको दावा पनि त उसको मुटुभित्रै थियो । उसको फुर्वा पनि त उसको मुटुभित्रै थियो । छिमी त्यहीँभित्र थिइन् । उसका बाउ छिरिङ त्यहीँभित्र थिए । माया मारेर गएकी उसकी आमा ग्याल्मो पनि त्यहीँभित्र थिइन् । उसको प्यारो खुम्बु त्यहीँभित्र थियो ।’
‘मुटु त सानो हुन्छ । तर, कति धेरै कुरा अटाउँछ यही मुटुमा । हो नि त ! त्यसैले त यही सानो मुटुमा ‘सल्लीपिर’ पनि अटाउन आइपुगेको छ !’समग्रमा भन्नुपर्दा, नेपाली साहित्यले भिन्न संस्कृतिको बारेमा एउटा राम्रो आख्यान प्राप्त गरेको छ । यो आख्यान कोठाभित्रको कोरा कल्पनामा डुबेर लेखिएको नभई यसले स्थलगत विवरणलाई यसरी प्रस्तुत गरेको छ कि पाठकलाई शेर्पा बस्तीमै पु-याइदिएको छ । यति हुँदाहुँदै पनि यो अलि हतारमा ‘सिध्याइहालुँ’ भन्ने उद्देश्यले लेखिएको जस्तो लाग्छ । पुस्तकको अन्त्यमा, ‘पेमा’ मरेकी हो कि जिउँदै छे भन्ने प्रश्नले केही पाठकको दिमागलाई झकझक्याएको देखियो । त्यसको उत्तर खोज्न पुस्तक नै पल्टाउनुपर्छ र यो एउटा पल्टाउनैपर्ने पुस्तकको रूपमा पाठकसमक्ष आएको छ
 •  0 comments  •  flag
Share on Twitter
Published on March 27, 2017 00:56

सुखको घाम जुन नउँदाउने “सल्लीपिर”



सुखको घाम जुन नउँदाउने “सल्लीपिर” 
http://www.dhadingpost.com मा आइतबार जेठ ९,२०७३ प्रकाशितपुष्पराज दुवाडी नेपालगन्जका लेखक नयनराज पाण्डेद्धारा लिखित उपन्यास सल्लीपिर पढे । खबुज र करोडौ कस्तुरी पछि पढेको उपन्यास यहि थियो । तराइ भागकोे कथा उर्ताने लेखकको हिमालको विषयबस्तु समेटेको सल्लीपिर पढीरहदा कैले पुगे होला लेखक खुम्बु क्षेत्र भन्ने लागिरहन्छ ।
उलार,लु अनि घामकिरी पढेपछि छोड्न चाहिन यो र्भखरै बजारमा आएको आख्यान सल्लीपिर लाई ।अक्सर उपन्यासमा जस्तो पात्रहरुमा एक किसिमको भद्धा गुण भिराइदिएर गह्ङगो कथा बोकाएको छैन सल्लीपिरले । छोटा छोटा वाक्य, धेरै पात्र आइरहने र गइरहने हुदा पनि पाठकलाई सम्झन अप्ठ्यारो बनाउदैनन् । थोरै नेपाली लेखकले उठाएको स्थल खुम्बु क्षेत्र, र्शेपाका जीवनशैलि बौद्ध संस्कृति र साधारण मानिसका साधारण दैनिकी टपक्क टिपेर पस्कन लेखक सफल भएका छन । समग्रमा दुःख नै दुुःखको हिमतालमा र्चुलुम्म डुबेको छ ‘सल्लीपिर ’उत्कृष्ट काव्यको कथा एकै सासमा भन्न अप्ठ्यारो हुन्छ । सल्लीपिरको कथा पनि एकै चोटी भन्न सकिन्न । कहिल्यै हिमाली क्षेत्रमा नपुगेका पाठकलाई बौद्ध र्धमालम्बी तामाङ र र्शेर्पाका रहनसहन, दुःख नजिकबाट नियाल्न सफल छ उपन्यास सल्लीपिर । लेखकको कलममा छेसेन गाँउ, रातनागे डाडा, नाम्चे सल्लेरी, आधार शिविर सगरमाथा क्षेत्र र सिङगो खुम्बु क्षेत्रमा कहिल्यै सुखको घाम जुन देखिदैन । देखिन्छ त केवल निस्वाश्व लाग्दो छटपटि, पिडा र बिछोडका क्रन्दन मात्रै ।कर्मा र पेमाको बालापन,अभिभावकबाट छुट्एिको पिडा विबाह र विबाह लगतै चौरी चराउन तय भएको तिव्बत तर्फको यात्रा पढिरहदा थकाइ, निश्वास र डर एकै चोटी लाग्छ पाठकलाई । चुनाबको समयमा मात्रै नेता दलबहादुर बाट प्रयोग भएको दावाले पनि नेपाली राजनितिलाई चुस्स घोच्छ । सगरमाथा आरोहणका लागि भारी बोकेर जीवन चलाउन बाध्य दावा ग्याल्जेन अनि अन्य युवाहरुको सगरमाथामै भएको अन्त्यले थप पिडा दिन्छ । निरक्षर पेमाले आफ्नो छोरालाई किताब किन्न काठमान्डौ जादा माओवादी दन्द्धले दिएको पिडा असह्य छ ।समग्रमा उपन्यास जतिसुकै दुःखमा पनि आशाको त्यान्द्रो चुडाउन हुन्न भन्न भ्याएको छ ।ब्राजिलियन लेखक पाहुल्वो कोहेलोको बहुचर्चित उपन्यास अल्कामिष्टको पनि सम्झना हुन्छ सल्लीपिर पढिरहदा । जस्ले दुखमा हरेस नखानु र लक्ष्य प्रति न्याय गर्न सिकाउछ । बाबु आमाले सन्तानका निम्ती देखाएको अतुलनिय प्रेम हिउ जस्तै सेताम्य भएको छ उपन्यास भरि ।
 •  0 comments  •  flag
Share on Twitter
Published on March 27, 2017 00:55

Nayan Raj Pandey's Blog

Nayan Raj Pandey
Nayan Raj Pandey isn't a Goodreads Author (yet), but they do have a blog, so here are some recent posts imported from their feed.
Follow Nayan Raj Pandey's blog with rss.